भक्तपुरको बाराहीपीठमा योग भेला
असार २, २०८०, शनिबार | दिउँसो ०२:३९ बजे | 45
प्रताप राणा
भक्तपुर । साताव्यापी अन्तराष्टिय योग दिवसको अवसरमा शनिबार भक्तपुरको बाराहीपीठमा योग भेला भएको छ । योग तथा प्राकृतिक चिकित्सा केन्द्र बाराहीपीठको आयोजनामा बाराहीपीठकै योग अभ्यासस्थलमा भेला भएको हो ।
भेलामा केन्द्रका अध्यक्ष योगगुरु एवं प्राकृतिक चिकित्साका डाक्टर विक्रम देउवञ्जारले २०७३ सालमा भक्तपुरलाई देशकै पहिलो योग जिल्ला घोषणापछि यहाँं योगले ठाउँं पाइरहेको जनाए । यही कारण जिल्लामा पुगनपुग चार दर्जन योग अभ्यास केन्द्रहरु रहेको जानकारी उनले गराए । योग जिल्ला घोषणा अघि तीन दर्जन पनि योग अभ्यास केन्द्रहरु थिएनन्, कार्यक्रममा उनले भने । उनले केन्द्रले २०५८ सालदेखि निरन्तर रुपमा दैनिक विहान निःशुल्क योगाभ्यास भइरहेको बताए ।
कार्यक्रममा योग गुरु डा इन्दुल केसीले केन्द्रले स्वामी १००८ विशुद्धदेवले दिएको चरित्र निर्माणको मुल लक्ष्यलाई आधार मानी मष्टिष्कमा समझदारी, काँंधमा जिम्मेबारी र हृदयमा इमान्दारी भन्ने उदघोषका साथ यसको परिपालना गर्न गराउन निरन्तर लागिपरेको बताए । यही अनुरुप निरन्तर विभन्न सभा, सम्मेलन, गोष्ठी, छलफललगायतका कार्यक्रम चलाइरहेको उनले जनाए । यस क्रममा योगगुरुहरु डा हरिप्रसाद पोखरेल, डा सूर्यबहादुर कार्की, डा टीएन पन्थीलगायतबाट योगाभ्यासको कामहरु भइरहेको जनाइयो ।