पूर्व वडाध्यक्ष श्रेष्ठ सम्मानित


असार २, २०८०, शनिबार | दिउँसो १२:०७ बजे | 60


पूर्व वडाध्यक्ष श्रेष्ठ सम्मानित

सागर गुरागार्इंं
मध्यपुर थिमि । मध्यपुर थिमि नगरपालिका वडा नं. ४ का पूर्व वडाध्यक्ष कुमार श्रेष्ठलाई सम्मान गरिएको छ । बालकुमारी महिला समाजकी अध्यक्ष रीना श्रेष्ठले पूर्व वडाअध्यक्ष कुमार श्रेष्ठलाई दोसल्ला, सयपत्री फुलको माला र कदरपत्रद्धारा सम्मानित गर्नुभयो । वि.सं.२०४८, २०५४ र २०७४ मा वडाध्यक्षमा निर्वाचित श्रेष्ठ समाजसेवी सहयोगी, मीलनसार एवं महिला सशक्तिकरणमा वडाबाट पटकपटक बजेट व्यवस्था गरेर महिलालाई स्वावलम्बी र आत्मनिर्भर बनाउन निरन्तर सहयोग  गरेबापत सम्मान गरिएको छ । फेल्ट सामाग्री बनाउने तीन महिने तालिम कार्यक्रमको समापन कार्यक्रमका प्रमुख अतिथि मध्यपुर थिमि नगरपालिका नगरप्रमुख सुरेन्द्र श्रेष्ठले तालिममा सिकेको सीप र ज्ञान व्यवहारमा लागु गर्दै आत्मनिर्भर बन्न प्रशिक्षार्थीहरुलाई आग्रह गर्नुभयो । नगरप्रमुख श्रेष्ठले सम्मानित व्यक्तित्व कुमार श्रेष्ठको सामाजिक एवं सांस्कृतिक योगदानको चर्चा गर्दै बढाई एवं शुभकामना दिनुभयो । कार्यक्रमका विशेष अतिथि मथिनपाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले शिक्षा, स्वास्थ्य र रोजगारी मथिनपाको प्राथमिकता रहेको चर्चा गर्दै बालकुमारी महिला समाजको कार्यको प्रशंसा गर्नुभयो । सम्मानित व्यक्तित्व पूर्व वडाध्यक्ष कुमार श्रेष्ठले बालकुमारी महिला समाजले सीपमुलक, आयमुलक घरेलु उद्यमी तालिम मार्फत स्वरोजगार बन्न सहयोग गरिरहेको भन्दै समाजको कार्यको प्रशंसा गर्नुभयो । 
कार्यक्रममा मथिनपा वडा नं. ४ का नगरसभा सदस्यहरु मदन श्रेष्ठ, उमेश श्रेष्ठ, मथिनपा सामुदायिक विकास शाखा प्रमुख तुल्सीभक्त तको लगायतका अतिथि वक्ताहरुले समाजको कार्यको प्रशंसा गर्दै शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । तीन महिने उक्त तालिममा १८ महिलाले तालिम लिएर केहि महिलाहरु व्यवसायी बनिसकेको जानकारी दिदै समाजकी अध्यक्ष रीना श्रेष्ठले महिलाहरुलाई आत्मनिर्भर बनाउने कार्यमा समाज क्रियशील रहेको बताउनु भयो । प्रशिक्षक अर्जुन अधिकारी र प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र प्रदान गर्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख श्रेष्ठले स्वरोजगारमुलक एवं आत्मनिर्भर बन्ने तालिमका लागि मथिनपा सदैव तयार रहेको बताउनु भयो । 
वि.सं. २०७४ सालमा स्थापना भएको बालकुमारी महिला समाज बालबालिका, युवा अनि महिलाका लागि काम गर्ने संस्था भएको चर्चा गर्दै अध्यक्ष रीना श्रेष्ठले महिलाहरुको सीप विकास गर्दै आत्मनिर्भर बन्न फेल्ट (सामाग्री बनाउने) तालिम सञ्चालन गरिएको जानकारी दिनुभयो । उक्त सामान स्वदेशका साथै विदेशमा पनि निर्यात भईरहेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । महिला सशक्तिकरणमा बालकुमारी महिला समाज सदैव क्रियाशील रहेको समाजकी सचिव सुष्मा श्रेष्ठले बताउनु भएको छ । यचु पार्टी भेन्युमा भएको उक्त सम्मान एवं प्रमाणपत्र वितरण कार्यक्रममा दिपिका श्रेष्ठलाई उत्कृष्ट प्रशिक्षार्थीको सम्मान प्रदान गरिएको थियो । समाजकी सदस्य अनिता श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा जमुना श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Comments