ब्रम्हायणीमा विलिन भए नवदुर्गा भगवान
जेठ २८, २०८०, आइतबार | विहान ०१:४५ बजे | 35
भक्तपुर । भक्तपुरको प्रसिद्ध नवदुर्गा नाच विधिवत् रुपमा शनिबारबाट सम्पन्न भएको छ । दशैँको महानवमीमा ब्रम्हायणीमा खम्ये (राँगो) को बध गरेपछि सुरु हुने झण्डै नौ महिना लामो तान्त्रिक यो नाच उपत्यकाकै सबैभन्दा लामो समय चल्ने नाच हो । प्रत्येक वर्ष भलभल अष्टमी (यो वर्ष शनिबार) बाट यो नाच विधिवत् रुपमा सम्पन्न हुने गर्दछ ।
प्रत्येक वर्ष नवदुर्गा देवगणहरुले लगाउने देवदेवीहरुको ख्वःपा (मुकुन्डो) लाई भलभल अष्टमीको मध्यरातमा ब्रम्हायणीमा लगेर जलाएपछि यो नाच सकिन्छ । यसलाई भगवानको देहावसाथ अर्थात् मृत्यु भएको रुपमा लिइन्छ । भलभल अष्टमीको रातमा मृत्युवरण गरेका यी भगवानहरु प्रत्येक वर्ष दसैमा जन्म हुने जनविश्वास छ । विजया दशमीको दिन महिषासुर दानवलाई बध गर्न यसको जन्म हुने विश्वास छ । यही अनुसार दसैंमा नयाँं मुकुन्डो बनाई नयाँंनयाँं पात्रहरु देवताका रुपमा नाचमा संलग्न भई नाच सुरु हुने गर्ने परम्परा छ ।
‘मानव समाजमा जन्म पश्चात् मृत्यु हुने तथ्यलाई दिशाबोध गर्न प्रतयेक वर्ष भलभल अष्टमीको दिन जात्रा लगायत देवनणको अंत्य हुने ऐतिहासिक किम्वन्दती रहेको छ, श्री नवदुर्गा देवगण जात्रा तथा मंदिर ब्यबस्थापन संस्था भक्तपुर नगरपालिका ९ गछेंका प्रमुख सल्लाहकार नारायणमान बनमाला भन्छन्, यसलाई भगवानको देहावसानको रुपमा पनि लिइन्छ ।’
नवदुर्गा नाचमा महादेव, गणेश, त्रिपुरासुन्दरी, सिम्बः, बम्हायणी, महेश्वरी, कुमारी, भद्रकाली, बाराही, इन्द्रायणी, महाकाली, दुम्बः र श्वेत भैरब गरी १३ देवगणको नृत्य प्रस्तुत गर्ने गरिन्छ । यो जात्रामा मुकुन्डो लगाई बाजाको तालमा गीतको बोलसंगै नेवारी भाषाको बोलमा नाच हुन्छ । नारी सुन्दरता, नारी क्रोध, प्रेम, दाम्पत्य भूूमिकामा नाच नाच्ने बताइन्छ । साथै बाल्यपनको चकचके भूमिका, सहकार्यको भूमिकालगायतमा आधारित भएर नवदुर्गा देवगणहरुबाट नाच प्रदशन हुने गर्दछ । यो नाच भक्तपुरका २१ स्थानहरु, काठमाडौको पशुपति, टोखा, चपली, तुप्या, गोकर्ण, साखु, मध्यपुर थिमि नगरपालिकाका विभिन्न स्थानहरु, चागुनारायण मंदिर, काभ्रेको सांगा, नाला, धुलिखेल, श्रीखण्डपुर, बनेपा नगरपालिका र पनौती नगरपालिकाका विभिन्न ठाउँंहरुमा प्रत्येक वर्ष नौ महिना लगाएर देखाइन्छ ।
यसअघि शनिबार दिउँसो भक्तपुर नगरपालिका वडा नं ९ गछेस्थित नवदुर्गा मन्दिरमा विधिवत् पूजासँगै देवदेवीको नाच देखाइएको थियो । त्यसपछि देवगणहरुले भक्तपुर नगर परिक्रमा गरेका थिए र रातको समयमा देवगणहरुले लगाउने मुकुन्डो भक्तपुर नगरपालिका वडा नं ९ स्थित ब्रम्हायणीमा लगेर जलाइएको थियो ।