गर्मीले हैरान हुनुभयो ? नगरकोट जानुहोस्


जेठ २३, २०८०, मङ्गलबार | विहान ०५:४८ बजे | 85


गर्मीले हैरान हुनुभयो ? नगरकोट जानुहोस्

भक्तपुर । गर्मी छल्न भक्तपुरको नगरकोटमा आउने पर्यटकहरुको संख्या ह्वाटै वढेको छ । वर्षाैदेखि पर्यटकविहीन जस्तै भएको लोकप्रिय पर्यटकीय गन्तव्य नगरकोटमा अहिले शुक्रबार, शनिबार र अन्य विदाका दिनहरु होटेलमा रुम (कोठा) पाउनै मुश्किल हुने गरेको त्यहाँंका पर्यटन व्यवसायीहरुले बताएका छन् । 
‘अहिले नगरकोट पर्यटकले भरिभराउ हुन थालेको छ, नगरकोट फन्की हिल इनका प्रोपाइटर इन्जिनियर कृष्णभक्त दुवाल भन्छन्, अहिले बाटो पनि राम्रो छ । यही कारणले पनि पर्यटक संख्या वढेकोे हुनसक्छ ।’ 
वर्षाैदेखि बन्न नसकेको भक्तपुरको कमलविनायकदेखि नगरकोटसम्मको बाटो अहिले झन्डै सवै कालोपत्रे भएको छ । सडक विस्तारको काम ९५ प्रतिशत भन्दा वढी सकिएको जनाइएको छ । यही कारण अहिले भक्तपुरबाट नगरकोट पुग्न सहज भएको छ । साथै भक्तपुरबाट नगरकोट पुग्ने अर्काे बैकल्पिक बाटो नगरकोट कलमसीको बाटो पनि पूर्ण रुपमा कालोपत्र भएकोले अझै सहज भएको हो । 
नगरकोट फन्की हिल इनका प्रोपाइटर इन्जिनियर दुवालले वर्षौदेखि पर्यटकविहीन जस्तै भएको नगरकोटमा रहेका होटेलहरु भरिभराउ हुनुले स्थानीय खुशी भएको सुनाए । २०७२ सालको महा–भूकम्प, कोरोनाको लकडाउन, अस्तव्यस्त भक्तपुर नगरकोट सडकलगायतका कारण केही वर्षदेखि नगरकोट झण्डै पर्यटकविहीन अवस्थामा पुगेको थियो । 
व्यवसायीहरुका अनुसार नगरकोटमा दिनमा मात्रै दैनिक एक हजार भन्दा वढी आन्तरिक पर्यटक आउने गरेका छन् । साथै रात विताउने गरी दैनिक दुई हजारको हाराहारीमा आन्तरिक तथा वाह्य पर्यटकहरु आउने गरेको अनुमान छ । त्यसमा विदेशी पर्यटकहरुको संख्या १५ देखि २० प्रतिशत हुने अनुमान स्थानीय होटेल व्यवसायीहरु गर्छन् । 
‘अहिले गर्मी छल्न पनि काठमाडौ र भारतीय पर्यटकहरुको घुँंइचो छ, नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले भने, यहाँंको वातावरण हरियालीपूर्ण, शान्त, सुन्दर, मनमोहक छ । यही कारण यहाँं घुम्न र रात विताउन धेरै आउने गरेको देखिन्छ ।’ 
काठमाडौंमा गर्मीले जनजीवन नै अस्तव्यस्त भइरहेको बेला नगरकोट भने चिसो छ । यहाँको मनोरम प्राकृतिक दृश्यावलोकन र चिसो हावापानीमा रमाउन आउनेहरूको संख्या यही कारण वढेको हो । 
काठमाडौंबाट करिब ३० किलोमिटरको छोटो दुरीमा नगरकोट पुग्न सकिन्छ । नगरकोट पुगेका पर्यटकले यहाँको भ्यु–टावर चढेर प्रकृतिमा रमाउने गर्दछन् । साथै सूर्याेदय र सूर्यास्त हेर्नका लागि यो ठाउँं संसारमै प्रख्यात छ । 
नगरकोट क्षेत्रमा सानाठूला गरी करिब डेढ सय होटेल, गेस्टहाउस र रेस्टुराँ छन् । तीमध्ये करिब ५० वटा होटेल सुविधायुक्त र आवासीय क्षमताका छन् । 
यसअघि नगरकोट जाने पर्यटकहरुसँग चाँगुनारायण र काभ्रेको मदनदेउपुर नगरपालिकाले संयुक्त रुपमा प्रवेश शुल्क पनि उठाउँदै आएकोमा पर्यटकविहीन जस्तै भएपछि अहिले पर्यटक शुल्क लिन वन्द छ । भक्तपुर र काभ्रेको सिमानाको रुपमा रहेको यस ठाउँमा आउने गैर सार्क राष्टका पर्यटकहरुसँग प्रति पर्यटक तीन सय ३९ र सार्क राष्ट्रका पर्यटकहरुसँग दुई सय २६ रुपैयाँ प्रवेश शुल्क उठाउँदै आएको थियो । तर व्यवसायीहरुको अनुरोधपछि अहिले पर्यटक शुल्क लिन पनि बन्द रहेको छ । 
नगरकोटमा रहेको ७० प्रतिशत होटल काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१ मा पर्दछ भने बाँकी होटल भक्तपुरको चाँगुनारायण नपा–६ मा पर्दछन् । यहाँं ‘फो–स्टार र थ्री–स्टार’का होटेलहरु पनि छन् ।

फाेटाेमा हेर्नुहाेस्...

गर्मीले हैरान हुनुभयो ? नगरकोट जानुहोस्

Comments