राष्टपतिबाट नागरिकता विधेयक प्रमाणित हुनु नेपाल र नेपाली जनताको दुर्भाग्य
जेठ १७, २०८०, बुधबार | दिउँसो ०१:४४ बजे | 45
सुर्खेत, १७ जेठ । नेपाल मजदुर किसान पार्टी, सुर्खेत जिल्ला समितिको आयोजनामा बुधबार समसामयिक राष्टिय तथा अन्तर्राष्टिय विषयमा प्रशिक्षण कार्यक्रम भयो । कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य एवम् कर्णाली प्रदेश संयोजक सरोजराज गोसाईले नेपालका राष्टपतिबाट नागरिकता विधेयक प्रमाणित हुनु नेपाल र नेपाली जनताको दुर्भाग्य भएको भन्दै देशघाती नागरिकता ऐन खारेजीको माग गर्नुभयो ।
उहाँले सार्वभौमसत्ता सम्पन्न जनता जागे भने यस्ता ऐन कागजको खोस्टा हुने भन्दै नेपाल र भारत बिचको खुला सीमाको कारण पटकपटक जन्मको आधारमा नागरिकता दिँदै जाँदा नेपाल एकदिन फिजी बन्ने धारणा राख्नुभयो । उहाँले प्रचण्ड भारत जाने क्रममा नागरिकता ऐनको उपहार लिएर गएको भन्दै देशघाती सरकारले भारत गएर के के बेच्ने हो भन्नेमा जनतालाई पिर परेको भनाइ राख्नुभयो ।
नेपालका भारतीय हस्तक्षेपबारे प्रशिक्षण दिँदै केन्द्रीय सदस्य गोसाईले कोसी सम्झौता, गण्डक सम्झौता, महाकाली सन्धि असमान तथा देशघाती भएको भन्दै १९५० को सन्धि खारेजीको माग गर्नुभयो । उहाँले भारतले नेपालका प्राकृतिक स्रोतसाधनमाथि कब्जा जमाउन खोजेको भन्दै भारतीय विस्तारवादको दलाली गर्ने शासक पार्टीहरुलाई दण्डित नगरी देशको रक्षा हुनेछैन भन्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य नर्मा गुरुंले महिलाहरु अन्धविश्वासबाट मुक्त हुनुपर्ने भन्दै छाउगोठ, दाइजो प्रथाजस्ता विकृतिहरुबाट जोगिनुपर्ने विचार राख्नुभयो । उहाँले राजनीति सिद्धान्तको विश्वासमा आधारित हुन्छ भन्दै कार्यक्रममा महिलाको सघन उपस्थिति सकारात्मक भएको चर्चा गर्नुभयो ।
नेक्राशिसंघका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले कर्णाली प्रदेशलाई जहाँ पनि जहिले पनि पिछडिएको रुपमा चित्रण गर्ने गरिएकोमा आपत्ति जनाउँदै यो प्रदेश स्रोत र साधनमा विपन्न नभएको विचार राख्नुभयो । उहाँले कर्णाली प्रदेश पिछडिएको होइन पछाडि पारिएको भन्दै परिवर्तनको निम्ति इख लिएर अगाडि बढ्नुपर्ने तर्क गर्नुभयो ।
उहाँले शिक्षा, स्वास्थ्यलगायत सम्पूर्ण क्षेत्रमा नवउदारवादी नीतिको दुष्प्रभाव देखिएको भन्दै नवउदारवादको विरोधमा दशकौँ अगाडि शिक्षा र नवउदारवाद नामको पुस्तक प्रकाशन गरेर नेपाली जनतालाई सचेत पारिएको प्रस्ट पार्नुभयो ।
नेक्रायुसंघका केन्द्रीय उपाध्यक्ष लालबहादुर थापाले नक्कली भुटानी शरणार्थी भ्रष्टाचारको प्रकरण कीर्ते अपराधमात्र नभई मानव बेचविखनको अपराध पनि हो भन्नुभयो ।
कार्यक्रममा नेक्राकिसंघका केन्द्रीय सदस्य प्रेमकुमार थापाले जनताको दुःखसुख सँगै पार्टी गतिविधि अगाडि बढाउनुपर्ने भनाइ राख्नुभयो । अर्का केन्द्रीय सदस्य पुँजीवादी गणतन्त्रको विकल्प समाजवादी गणतन्त्र भएकोमा व्यापक प्रचारप्रसार गर्नु विचार राख्नुभयो ।
नेक्रामजदुरसंघका अक्कलबहादुर रानाले मजदुर किसानको हितमा काम नभएसम्म सरकारको कुनै सार्थकता नहुने विचार राख्नुभयो ।
नेक्रामहिलासंघका केन्द्रीय सदस्य विजुकला रानाले महिलाहरु चुलोचौकोमामात्र सीमित नरहेर देशको परिवर्तनको निम्ति लड्नुपर्ने भनाइ राख्नुभयो ।
नेमकिपा, सुर्खेतका अध्यक्ष हरिबहादुर बोहराको सभापतित्वमा भएको उक्त कार्यक्रममा आयोजक समितिका सदस्य तुल्सी खड्का, अंगबहादुर शाही, टीका पोखरेल, शेरबहादुर शाहीले पनि आआफ्नो विचार राख्नुभएको थियो ।