नगर प्रमुख प्रजापति र भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारीबीच छलफल


जेठ २, २०८०, मङ्गलबार | दिउँसो ०१:३२ बजे | 15


नगर प्रमुख प्रजापति र भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारीबीच छलफल

भक्तपुर ः भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनील प्रजापतिले भक्तपुर नगरलाई देशको मात्र नभई संसारकै उदाहरणीय सहर बनाउन आफूहरु लागिपरेको बताएका छन् । 
भक्तपुर नगरपालिका कार्यालयमा मंगलबार भक्तपुर उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँगको भेटमा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरलाई पर्यटन केन्द्रकै रुपमा विकास गर्ने सोच रहेको बताए । ‘पर्यटकहरु भक्तपुर आउने भनेकै विशेषगरी यहाँको सम्पदा अवलोकन गर्नको लागि हो’, उनले भने, ‘त्यसैले हामीले यहाँका हरेक सम्पदालाई मौलिक तरिकाले संरक्षण तथा सम्वद्र्धन गरेका छौं ।’ उनले सम्पदासँगै यहाँको स्थानीय कला, संस्कृति, भेषभूषालाई जगेर्ना गर्न विशेष ध्यान दिँदै आएको समेत बताए । 
संघका अध्यक्ष शिवप्रसाद मानन्धरको नेतृत्वमा गएको पदाधिकारीहरुको टोलीले नगर प्रमुख प्रजापतिसँग भेट गरेको हो । सो क्रममा मानन्धरले भक्तपुर नगरपालिकाभित्रको सांस्कृतिक सम्पदाहरुको संरक्षण, शैक्षिक क्षेत्रको विकास, पर्यटनको दिगो विकास र प्रवद्र्धनका लागि नगरपालिका कार्यालयले गरेको अथक प्रयास र मेहनतको उच्च प्रशंसा गर्दै आगामी दिनमा पनि जनपक्षीय कार्यहरुको रिनन्तरताको प्रमुख प्रजापतिसँग अपेक्षा व्यक्त गरे । उनले नगरपालिका कार्यालयले सञ्चालन गर्ने विभिन्न कार्यक्रममा संघ सहयोगीको भूमिका निर्वाह गर्न र सहकार्य गर्न सदैव तयार रहेको भनाइ राखे । 
उनले भक्तपुर नगरमा पर्यटक आकर्षित गर्न नगरपालिका कार्यालयले गरिरहेको सम्पदा संरक्षण, सरसफाइलगायतका कार्य प्रशंनीय रहेको भन्दै नगरपालिका कार्यालय र भक्तपुर उद्योग वाणिज्य संघ एकआपसमा मिलेर नगरको पर्यटन विकास र प्रवद्र्धनका लागि सहकार्य गर्दै अगाडि बढ्न सकिने सम्भावनातर्फ पहल गरिदिनुहुन अनुरोध गरे । ‘स्थानीय तह र निजी क्षेत्रबीच समन्वय र सहकार्य गरी अगाडि बढ्न सके भक्तपुर नगरको विकासले फड्को मार्न सक्छ’, उनले भने । उनले जिल्लाको आर्थिक विकासका लागि स्थानीय उद्यमी, व्यवसायीहरुसँग सहकार्य गर्न सार्वजनिक निजी साझेदारी कार्यक्रममा जोड दिन नगर प्रमुख प्रजापतिसँग आग्रह गरे । 
संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा, उपाध्यक्षद्वय कृष्णमुरारी न्यौपाने र गणेशहरि प्रजापति, महासचिव दिनेश गोसाईं, कार्यसमिति सदस्य नविन प्रजापति तथा नवलकिशोर राजभण्डारीले भक्तपुर नगरपालिका कार्यालय र संघबीच अझै प्रगाढ सम्बन्ध आवश्यक रहेकोमा जोड दिए । उनीहरुले जिल्लाका उद्योगी, व्यवसायीहरुको व्यवसाय नवीकरणमा छुटको व्यवस्था गर्नुपर्ने, नगरभित्रका खोला दायाँ बायाँ बाटो फराकिलो बनाई यातायातका साधन पार्किङको व्यवस्था गर्नुपर्ने, नगरपालिका कार्यालयबाट हुने हरेक कार्यक्रममा सहभागी गराउनुपर्नेलगायतका सुझाव दिएका थिए । 
भेटको क्रममा संघका अध्यक्ष मानन्धरले कृषि, पर्यटन, हस्तकला, आर्थिक सामाजिक क्षेत्रको विकासका सम्बन्धमा संघको चारबुँदे धारणा र समग्र जिल्लाका उद्योगी, व्यवसायीहरुको तर्फबाट उद्योग, व्यवसायसँग सम्बन्धित आठ बुँदे राय सुझाव पत्र नगर प्रमुख प्रजापतिसमक्ष पेश गरेका थिए । 
सो अवसरमा संघले स्थानीय तहमा देशकै लागि उदाहरणीय कार्य गरेबापत हालै ‘नागरिक नायक–२०८०’ बाट सम्मानित भएका नगर प्रमुख प्रजापतिलाई बधाई दिएको थियो । 

Comments