सामुदायिक विकास कोष’ परिचालनबारे सहकारीका पदाधिकारीबीच छलफल


बैशाख ८, २०८०, शुक्रबार | दिउँसो ०२:४२ बजे | 45


सामुदायिक विकास कोष’ परिचालनबारे सहकारीका पदाधिकारीबीच छलफल

भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा भक्तपुर नपाभित्र रहेका सहकारी संस्थाहरुमा भएको ‘सामुदायिक विकास कोष’ परिचालन गर्ने विषयमा शुक्रबार सहकारीका पदाधिकारीबीच छलफल कार्यक्रम सम्पन्न भयो ।
उक्त कार्यक्रममा बोल्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले सामाजिक संस्थाहरुले समाजप्रति आफ्नो दायित्वबोध र सामाजिक उत्तरदायित्व बहन गर्ने ढंगले काम गर्नुपर्ने धारणा राख्दै सहकारी संस्थाहरुले सामाजिक विकास कोष सदस्यहरुको हितमा परिचालन गरिनुपर्नेमा जोड दिनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालले विपन्न नागरिकको लागि रु. १० लाख बराबरको कोष खडा गरी निःशुल्क उपचार गर्दै आएको बताउँदै सहकारी संस्थाहरुमा रहेको सामुदायिक विकास कोषको रकम सही सदुपयोग गर्ने विषयमा नपाले विशेष जोड दिँदै आएको बताउनुभयो । नगरबासीहरुले निःशुल्क अक्सिजन वितरण गर्दै आएकोबारे जानकारी दिंदै भन्नुभयो – यो आ.व.को ९ महिनामा ८ हजार सिलिन्डर वितरण भयो भने चैत्र महिनामा मात्र १,०५० वटा अक्सिजन सिलिण्डर वितरण भएको छ । 
उहाँले सदस्यहरुलाई उच्च शिक्षा अध्ययनको लागि शैक्षिक ऋणको व्यवस्था गरी पढ्न उत्साहित गर्न सकिने बताउँदै भक्तपुर नपाले व्यक्तिगत हितभन्दा समुदायको हितलाई प्राथमिकतामा राखी आफ्ना गतिविधि सञ्चालन गर्दै आएको बताउनुभयो ।
विदेशलाई ‘स्वर्ग’ ठान्ने सोच दिमागबाट हटाउनुपर्ने र आफ्नै देशलाई ‘स्वर्ग’ बनाउने ढंगले सबैले काम गरेको खण्डमा देशलाई आत्मनिर्भर बनाउन सकिने उहाँले कार्यक्रममा बताउनुभयो । 
उहाँले भक्तपुर नपाले राष्ट्रिय स्तरको शैक्षिक संस्थाहरु सञ्चालन गर्दै आएको बताउँदै नपाबाट सञ्चालित २ वटा इन्जिनियरिङ कलेजले मात्र वार्षिक रु. २ करोड ६५ लाख बराबरको छात्रवृत्ति प्रदान गर्दै आइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष एवम् सहकारी समितिका संयोजक हरिप्रसाद बासुकलाले कार्यक्रमको विषयवस्तुमाथि प्रष्ट पार्दै सहकारी संस्थामा रहेको सामुदायिक विकास कोष समुदायको हितको निम्ति प्रयोग गर्नुपर्ने मान्यताअनुसार सहकारी संस्थाहरु अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।
भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका निवर्तमान अध्यक्ष राधेश्याम सुवाल र वर्तमान अध्यक्ष कृष्णगोविन्द लाखाले सहकारी इतिहास, मूल्य मान्यताबारे प्रष्ट पार्दै सामुदायिक विकास कोषको व्यवस्थाले समाजको निम्ति उदाहरणीय कार्य गर्न सकिने उल्लेख गर्नुभयो । नपाले जनताको हितमा गर्ने निर्णयमा आफूहरु सहमति हुने बताउँदै कोषको बारे नपाले उचित निर्णय लिने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा विभिन्न सहकारी संस्थाबाट प्रतिनिधिमूलक ढंगले संगम साकोसका बलराम सिबन्जार, लोकेश्वर साकोसका प्रनेश बाटी, सिद्धिगणेश साकोसका रुद्रनारायण लाखालगायतले भक्तपुर नपाले गरेको कामबाट व्यापक जनताको हित भएको कुरा जगजाहेर भएको, सामुदायिक विकास कोषको रकम परिचालन सम्बन्धी नगरपालिकाले कार्यविधि बनाएर अगाडि बढेको खण्डमा सहकारीहरुलाई सहज हुने, कोषको उचित उपयोगले उपलब्धी हासिल हुनेमा विश्वास गर्दै नपाको काममा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

सामुदायिक विकास कोष’ परिचालनबारे सहकारीका पदाधिकारीबीच छलफल

Comments