वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


चैत २४, २०७९, शुक्रबार | दिउँसो ०२:४४ बजे | 30


वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

भक्तपुर ः भक्तपुर जिल्लाका उद्योगी, व्यवसायी तथा स्थानीयवासीलाई लक्षित गरी शुक्रबार पुँजी बजारसम्बन्धी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । 
भक्तपुर उद्योग वाणिज्य संघको आयोजना र नेपाल धितोपत्र बोर्ड, खुमलटारको प्राविधिक सहयोगमा संघको सभाहलमा कार्यक्रम भएको हो । कार्यक्रममा संघका अध्यक्ष श्री शिवप्रसाद मानन्धरले उद्योगी तथा व्यवसायीहरुको छाता संगठन भक्तपुर उद्योग वाणिज्य संघले स्थापनाकालदेखि जिल्लाका उद्योगी व्यवसायीहरु र स्थानीय सर्वसाधारणलाई हित हुने विभिन्न क्रियाकलाप गर्दै आएको बताए । यसकै निरन्तरता स्वरुप यस पटक पुँजी बजारमा लगानी गर्ने उद्योगी, व्यवसायी तथा सर्वसाधारणलाई सचेतना जगाउन र सुसूचित बनाउन उक्त कार्यक्रम गरिएको जानकारी दिए । पछिल्लो समय देशमा पुँजी बजार लगातार ओरालो लागेका कारण लगानीकर्ताहरु लगानी गर्ने वा नगर्ने भन्ने द्विविधामा रहेको बेला उक्त कार्यक्रमले पक्कै पनि सहभागीहरु लाभान्वित हुनेमा उनले विश्वास व्यक्त गरे । 
कार्यक्रममा नेपाल धितोपत्र बोर्डअन्तर्गत अनुसन्धान महाशाखाकी निर्देशक अम्बिका ओझा गुप्ताले पुँजी बजारसम्बन्धी प्रस्तुतीकरण गरेकी थिइन् । उनले हालको शेयर बजारको अवस्था, सुरक्षित लगानीको तरिका र शेयर बजारको आधारभूत पक्षमा स्पष्ट पारिन् । 
कार्यक्रममा संघका उपाध्यक्ष कृष्णमुरारी न्यौपानेले देशको अर्थतन्त्र सुधारमा शेयर बजारको महत्वबारे आफ्नो धारणा राखेका थिए भने कार्यक्रम संयोजकसमेत रहेका संघका महासचिव दिनेश गोसाईंले कार्यक्रमको उद्देश्यबारे स्पष्ट पारेका थिए । संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैया धौबञ्जाले कार्यक्रममा सहभागीहरुलाई संघको तर्फबाट धन्यवाद ज्ञापन गरेकी थिइन् । संघको सचिवालयका निमित्त अधिकृत सत्यराम त्वातीले सञ्चालन गरेको उक्त कार्यक्रममा ५५ जना सहभागी भएका थिए । 

Comments