निःशुल्क पौभा पेन्टिङ तालिम सञ्चालन


चैत १०, २०७९, शुक्रबार | विहान ०७:२२ बजे | 20


निःशुल्क पौभा पेन्टिङ तालिम सञ्चालन

भक्तपुर ः भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा शुक्रबारदेखि निःशुल्क पौभा (थाङ्का) पेन्टिङ तालिम सुरु भएको छ । 
घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरको सहयोगमा संघको हलमा १५ दिने निःशुल्क पौभा (थाङ्का) पेन्टिङ तालिम सञ्चालन भएको हो । एक कार्यक्रमका बीच तालिमको उद्घाटन गर्दै घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरका कार्यालय प्रमुख उमेशकुमार दाहालले तालिमबाट प्रशिक्षार्थीहरुको आर्थिक उन्नति तथा विकासमा टेवा पुग्ने विश्वास व्यक्त गरे । प्रदेश सरकारबाट विभिन्न तालिमको लागि उपलब्ध भएको बजेटअन्तर्गत उक्त पौभा (थाङ्का) पेन्टिङ तालिम हुन लागेको जानकारी दिए । 
उनले उद्योग सञ्चालनबाटै मानिसहरुको जीवनशैलीमा राम्रो परिवर्तन सकिने भन्दै सिप तथा तालिम प्राप्त गरी आफ्नो क्षमता विकास गर्न सकेमा आर्थिक पक्षलाई सबल बनाउन सकिने बताए । १५ दिनको पौभा तालिम आधारभूत तथा सुरुवात तहको मात्रै रहेको उनको भनाइ छ । ‘अहिले हामीलाई प्राप्त भएको सीमित बजेटले अन्य तालिम तथा कार्यक्रम पनि सञ्चालन गर्नुपर्छ’, उनले भने, ‘त्यसैले यो कार्यक्रम १५ दिनको लागि मात्रै गर्न लागिएको हो ।’ प्रदेश सरकारबाट अर्को बजेट प्राप्त भएपछि आगामी दिनमा एड्भान्स तालिमको लागि भक्तपुर उद्योग वाणिज्य संघसँग सहकार्य गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।
संघका अध्यक्ष शिवप्रसाद मानन्धरले तालिमको लागि बजेट उपलब्ध गराइदिएकोमा घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरलाई धन्यवाद दिए । उनले तालिमबाटै जुनसुकै क्षेत्रका मानिस सक्षम हुने बताउँदै भक्तपुर उद्योग वाणिज्य संघको आयोजनामा हुन लागेको पौभा (थाङ्का) पेन्टिङ तालिमबाट सहभागीहरु लाभान्वित हुने विश्वास व्यक्त गरे । उनले तालिममा सहभागीहरुले आफूले सिकेको सिपलाई भविष्यमा सही सदुपयोग गर्नुपर्नेमा जोड दिए । 
ख्वप पौभा पुचका सचिव पूर्णप्रसाद ह्योजूले पौभा धर्मसँग मात्र सम्बन्धित नभई संस्कृति चिनाउने कला रहेको बताए । तालिमका प्रशिक्षक बलराम न्हिसुतूले १५ दिनको पौभा (थाङ्का) पेन्टिङ तालिमबाट धेरै कुरा सिक्न नसकिने भए पनि लगनशील भएर लागेमा उक्त तालिमले आत्मनिर्भर हुने आधार तयार हुने बताए । संघकी वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जाले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद व्यक्त गर्दै संघले विगतका वर्षहरुमा विभिन्न संघ संस्थासँग समन्वय गरेर विविध आयआर्जनमूलक, सिपमूलक तालिम तथा कार्यक्रम सञ्चालन गरेको र आगामी दिनमा गर्दै जाने बताइन् । संघका अध्यक्ष मानन्धरको सभापतित्वमा भएको कार्यक्रम सचिव विश्वराम दुवालले सञ्चालन गरेको थियो । 

Comments