भक्तपुरका उद्योगी व्यवसायीद्वारा प्रजिअ रिजालको स्वागत


फाल्गुन १५, २०७९, सोमबार | दिउँसो ०२:५० बजे | 20


भक्तपुरका उद्योगी व्यवसायीद्वारा प्रजिअ रिजालको स्वागत

भक्तपुर ः हालै भक्तपुरमा प्रमुख जिल्ला अधिकारीको रुपमा कार्यभार सम्हाल्नुभएका खगेन्द्रप्रसाद रिजाललाई भक्तपुरका उद्योगी व्यवसायीहरुले स्वागत गरेको छ । 
भक्तपुर उद्योग वाणिज्य संघले सोमबार एक कार्यक्रमका बीच प्रजिअ रिजाललाई स्वागत गरेको हो । संघका अध्यक्ष शिवप्रसाद मानन्धरले खादा ओढाई भादगाउँले टोपी लगाइदिएर प्रजिअ रिजाललाई स्वागत गरेका हुन् । 
कार्यक्रम अध्यक्ष मानन्धरले विगतमा पनि संघ र जिल्ला प्रशासन कार्यालय मिलेर विभिन्न काम गरेको स्मरण गर्दै आगामी दिनमा पनि हरेक क्षेत्रको विकासका लागि सँगै काम गर्न आफूहरु तयार रहेको बताए । उनले जिल्लाका उद्योगी व्यवसायीहरुको हकहितको पक्षमा यसअघि प्रमुख जिल्ला अधिकारीहरुबाट सदैव सहयोग तथा सद्भाव प्राप्त भएको बताए । अहिले आउनुभएका नयाँ प्रमुख जिल्ला अधिकारी रिजालले पनि उद्योगी व्यवसायीहरुलाई शान्तिपूर्ण तरिकाले उद्योग व्यवसाय सञ्चालन गर्नको लागि सहयोग प्राप्त हुनेमा उनले विश्वास व्यक्त गरे । 
‘हामीले विगतमा जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर विभिन्न कार्य गरेका छौं’, उनले भने, ‘आगामी दिनमा पनि जिल्लाको सामाजिक, सांस्कृतिक, औद्योगिक क्षेत्रको विकासमा प्रशासनसँग हातेमालो गर्न उद्योगी व्यवसायीहरु सदैव तयार छ।’, उनले भक्तपुर उद्योग वाणिज्य संघको पहलमा जिल्लाका विभिन्न स्थानमा सीसी क्यामेरा जडान गर्ने काम भएको भन्दै आगामी दिनमा पनि जिल्लाको शान्ति सुरक्षामा मद्दत पु¥याउन संघले अझ थप स्थानमा सीसी क्यामेरा जडान कार्यलाई निरन्तरता दिने उनले बताए । 
प्रजिअ रिजालले न्यानो माया तथा स्वागतको लागि भक्तपुरका उद्योग व्यवसायीहरुको छाता संगठन भक्तपुर उद्योग वाणिज्य संघलाई धन्यवाद व्यक्त गरे । उनले भक्तपुर सम्पदा, पर्यटन, कलासंस्कृतिले परिचित सहरको रुपमा रहेका कारण आफूले यसपटक भक्तपुर जिल्लालाई रोजेको स्पष्ट पारे । निजी क्षेत्र भनेको सरकारको आर्थिक क्षेत्रको बलियो खम्बा रहेको भन्दै उनले आफ्नो कार्यकालमा हरेक काम गर्दा निजी क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्ने बताए । ‘वास्तवमा सरकार एक्लैको प्रयासले मात्र देशमा आर्थिक विकास सम्भव छैन’, उनले भने, ‘देशको विकास, रोजगारी सिर्जनामा निजी क्षेत्रको महत्वपूर्ण भूमिका छ ।’ उनले उद्यमी, व्यवसायीसँगको सहकार्यबिना विकास असम्भव रहेकाले उद्यमी व्यवसायीहरुको हरेक समस्यामा आफ्नो साथ रहने उनले जनाए । उनले शान्ति सुरक्षा उद्योग व्यवसाय उत्थानको लागि पहिलो सर्त रहेको भन्दै उनले उद्योगी व्यवसायीहरुलाई शान्तिपूर्ण तरिकाले काम गर्ने वातावरण बनाउन आफू हरदम लागिपर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा संघका पूर्वअध्यक्ष एवं सल्लाहकार कृष्णप्रसाद अवाल, वरिष्ठ उपाध्यक्ष रोशनीमैयाँ धौबञ्जा, उपाध्यक्षहरु राजेन्द्रप्रसाद प्रजापति, कृष्णमुरारी न्यौपाने, गणेशहरि प्रजापति, महासचिव दिनेश गोसाईं, सचिव विश्वराम दुवाललगायतले भक्तपुर उद्योग वाणिज्य संघ प्रशासनसँग नजिक भएर काम गर्न सधै तयार रहेको भन्दै जिल्लाको पर्यटन, कला, संस्कृतिको विकासमा विशेष जोड दिन आग्रह गरे । निजी क्षेत्र र सरकारी निकायबीच जति राम्रो सम्बन्ध तथा आत्मीयता रह्यो त्यति नै चाँडो देश विकास हुने उनीहरुको भनाइ छ । 

Comments