साइकल कनेक्ट भक्तपुरमा निर्जला कोजु
फाल्गुन १४, २०७९, आइतबार | विहान ०४:२० बजे | 10
भक्तपुर जिल्लामा साइकल संस्कृति प्रवर्धन गर्न “पैदल र पेडल मैत्री शहर”को मुल उदेश्य सहित शुरूवाट भएको साइकल कनेक्ट भक्तपुरमा निर्जला कोजुको नेतृत्वमा ७ सदस्य सहित दोस्रो कार्यसमिति गठन भएको छ। नयाँ कार्यसमितको अध्यक्षमा निर्जला कोजु, उपाध्यक्षमा रिचिन दुवाल, सचिवमा रियाज कर्माचार्य, कोषाध्यक्षमा रबिना सुवाल तथा सदस्यहरु रितेश मचामसी, बिकास ग्वाछा र आशिब कर्माचार्य रहेका छन्। सल्लाघारी चोंगा गणेश अवस्थित नेपाल इको प्यानलको प्रांगणमा संस्थाका सल्लाहकारद्वय गणेश प्रसाद दुवाल र सुनिल ख्याजुको उपस्थितिमा शनिवार एक कार्यक्रम बीच संस्थापक अध्यक्ष सुमित बालाले निर्जला कोजुलाई सपथ ग्रहण सहित अध्यक्षको पदभार हस्तान्तरण गर्नुभएको हो। तत् पश्चात अध्यक्ष निर्जला कोजुले बाकी सदस्यलाई सपथ ग्रहण गराउनु भएको थियो। पदभार ग्रहण पश्चात अध्यक्ष निर्जला कोजुले साइकल कनेक्टको शुरुवात र विगतका कार्यक्रमको विषयमा स्मरण गर्दै आगामी दिनमा संस्थाको उदेश्य बमोजिम नियमित कार्यक्रम सँगसँगै थप नयाँ सशक्त तथा रचनात्मक कार्यक्रमहरू गरिने र यसमा सबैको साथ मिल्ने विश्वास व्यक्त गर्नुभयो। नव गठित कार्यसमितिलाई सल्लाहकारद्वय गणेश प्रसाद दुवाल र सुनिल ख्याजुले बधाइ तथा शुभकामना मन्तव्य दिदै छोटो समयमा नै साइकल कनेक्ट भक्तपुरले देशव्यापीरूपमा साइकलप्रेमीहरू बीच पृथक पहिचान स्थापना गर्न सक्षम भएको र निरन्तर कार्यक्रम गर्न सके उदेश्य प्राप्तिमा सफलता मिल्ने विचार व्यक्त गर्नु भयो। साथै कार्यक्रममा निवर्तमान उपाध्यक्ष बिकेश थुसाले हरेक संस्थामा ताजिकीकरण आवश्यक रहने हुनाले नयाँ कार्यसमिति गठन गरेको तर आगामि दिनमा पनि सम्पुर्ण टिम विगतमा जसरी अग्रस्थानमा बसेर नै कार्यक्रमहरू गर्न योगदान रहिरहने बताउनुभयो। निवर्तमान अध्यक्ष सुमित बालाले साइकल कनेक्ट भक्तपुको उदेश्यबारे थप प्रस्त पार्दै नविन तरिकाले कार्यक्रम विकास र सञ्चालन गर्दा कसरी व्यापक सहभागित गराउन सकिन्छ भन्ने बारे विषयमा बोल्नुभएको थियो। उक्त कार्यक्रममा साइकल कनेक्ट भक्तपुरको तर्फबाट नेपाल साइकलिङ एसोसियसनले आयोजना गरेको प्रथम क्रस कन्ट्रि इलिमिनेशन च्याम्पियनशीपमा सहभागी भइ सिल्भर मेडल विजेता पुजन मगर तथा ब्रोन्ज मेडल बिजेता बिरेन्द्र डोङलाईपनि बधाइ ज्ञापन तथा सम्मान गरिएको थियो। युवाहरूलाई स्वस्थ, अनुशासित तथा समाज प्रति उत्तरदायी बनाउन यस प्रकारको खेलकुद कार्यक्रमले योगदान पुराएको हुन्छ।