ख्वप कलेजमा खेलकुद् सप्ताहको उद्घाटन (फोटो फिचर)
माघ २७, २०७९, शुक्रबार | विहान ०४:२२ बजे | 10
भक्तपुर । भक्तपुर नगरपालिकाकी उपप्रमुख एवं नगरपालिकाद्धारा सञ्चालित कलेजहरुको समूह ख्वप सर्कलका उपाध्यक्ष रजनी जोशीले शुक्रबार भक्तपुरको ख्वप कलेजमा खेलकुद सप्ताह २०७९ को उदघाटन गर्नुभएको छ । ख्वप माविको २३ औं, ख्वप कलेजको २१ औं, शारदा क्याम्पसको ३२ औं वार्षिक उत्सवको अवसरमा त्यहाँं विभिन्न खेलकुद प्रतियोगिताहरु सुरु भएका छन् ।
उदघाटन प्रतियोगिताको रुपमा छात्रा एक हजार मिटर र छात्रा तीन हजार मिटर दौड प्रतियोगिता सुरु भएको छ । वार्षिकोत्सवको अवसरमा बिहीबार चित्रकला प्रतियोगिता भएको थियो । प्रतियोगितामा कक्षा ८ देखि कक्षा १० समूहमा जेन्युइन इगलिश सेकेण्डरी स्कुलका जोहेन कायष्ठ प्रथम भएका थिए । कक्षा ११ र १२ को समूहमा भने सैनिक आवासीय महाविद्यालयका देमिन प्रजापति प्रथम भएका थिए ।
वार्षिकोत्सवको अवसरमा विभिन्न खेलकुद प्रतियोगिताहरु हुने क्रममा शुक्रबार नै छात्र र छात्रा व्याडमिन्टन हुने छन् । टेबुलटेनिस छात्र र छात्रा, सटपुट छात्र र छात्रा, चेस छात्र र छात्रा तथा फुटसल छात्र शनिबारबाट सुरु हुने जनाइएको छ । साथै छात्रा फुटसल, भलिबल छात्र र छात्रा आइतबारबाट सुरु हुने जनाइएको छ । यस क्रममा प्रतियोगितात्मक साँंस्कृतिक कार्यक्रम पनि हुने जनाइएको छ । वार्षिकोत्सवको उदघाटन कार्यक्रम भने फागुन ३ गते बुधबार विहान साढे १० बजे हुने कलेजले जनाएको छ ।
फाेटाेमा हेर्नुहाेस्...