अन्तरनगर खो खो प्रतियोगिताको मूल समारोह समितिको बैठक सम्पन्न


माघ २४, २०७९, मङ्गलबार | दिउँसो १२:०५ बजे | 0


अन्तरनगर खो खो प्रतियोगिताको मूल समारोह समितिको बैठक सम्पन्न

माघ २४ गते, मंगलबार
भक्तपुर नगरपालिकाको आयोजनामा २०७९ फागुन ५ देखि ९ गतेसम्म सञ्चालन हुने अन्तरनगर खो खो प्रतियोगिताको मूल समारोह समितिको बैठक मंगलबार बस्यो ।
मूल समारोह समितिका अध्यक्ष तथा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरलाई सँधै सक्रिय र जीवन्त नगर बनाउने उद्देश्य प्राप्ति गर्न खेलकुद प्रतियोगिता एउटा सशक्त माध्यम भएको बताउनुभयो ।
समाजमा भएका विभिन्न तह र तप्काका मानिसहरुलाई सक्रिय बनाई नागरिकहरुलाई स्वस्थ बनाउन खेलको धेरै ठूलो भूमिका हुने बताउँदै उहाँले भक्तपुर नपाले अन्य नपाको लागि प्रेरणादायी र सिक्नयोग्य हुने ढंगले काम गरिरहेको बताउनुभयो ।
अघिल्लो कार्यकालमा भक्तपुर नपाले विभिन्न ४ वटा खेलविधाको अन्तरनगर प्रतियोगिता गरेको जानकारी दिँदै उहाँले भक्तपुरलाई सबै क्षेत्रको सिकाइ केन्द्रको विकासको रुपमा अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले खेलकुद प्रतियोगिता आयोजना गर्नुको उद्देश्यमाथि प्रष्ट पार्दै खो खो खेल एकदम रोमाञ्चक खेल भएको र स्वास्थ्यको हिसाबले पनि महतवपूर्ण छ भन्नुभयो ।
भनपा वडा नं. १ का वडाध्यक्ष एवम् युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न ११ वटा उपसमिति गठन भई विभिन्न नरपालिकामा आवश्यक पत्राचार समेत भइरहेको बताउनुभयो । उहाँले प्रतियोगिता सम्पन्न गर्न अहिलेसम्म भएको तयारीको विषयमा अवगत गराउँदै १३५ जनाको मूल समिति गठन भएको जानकारी गराउनुभयो । 
त्यस्तै भनपा वडा नं. ४ का वडाध्यक्ष एवम् भक्तपुर जिल्ला खो खो संघका अध्यक्ष उपेन्द्र सुवालले खो खो खेलमा खेलाडीहरुको आकर्षण बढिरहेको बताउँदै प्रतियोगिताले खो खो खेल प्रवद्र्धन हुने बताउनुभयो ।
नेपाल खो खो संघका कार्यबाहक अध्यक्ष प्रदीप महर्जनले २०५२ सालमा नेपाल खो खो संघ गठन भई निरन्तर रुपमा अन्तर्राष्ट्रिय खेलमा सहभागिता जनाउँदै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ८ का वडा सदस्य तथा युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।

Comments