भक्तपुर युवा टिमको खुल्ला फुटबल प्रतियोगितार्थ पत्रकार सम्मेलन
माघ ९, २०७९, सोमबार | दिउँसो ०३:२१ बजे | 25
भक्तपुर, माघ ९। भक्तपुर युवा टीमले यहीँ फागुन ५ देखि १३ गतेसम्म आयोजना गर्ने दोस्रो भक्तपुर कप २०७९ को फुटबल प्रतियोगिता संचालन गर्न सोमबार पत्रकार सम्मेलन भएको छ । सम्मेलनमा अतिथि तथा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले लामो समय खेलकुद प्रतियोगिता नहुँदा खेलाडीको खेल्ने कला ओझेलमा परेको बताउँदै भक्तपुर युवा टीमको सो प्रतियोगितामा आवश्यक सहयोग गर्ने बाचा व्यक्त गर्नुभयो । सोही कार्यक्रममा संस्थापक अध्यक्ष तथा सल्लाहकार विश्वराम कवांले मित्रता, अनुशासन र स्वास्थ्यका लागि खेलकुद आवश्यक भएको र युवाहरूलाई विकृति विसंगतिबाट टाढा राखेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्य अनुरूप भक्तपुर युवा टीमको स्थापना गरेको बताउनुभयो । कार्यक्रमका सभापति तथा टीमका अध्यक्ष केशव त्वायनाबासुले विगतको कठिन र जटिल परिवेशमा संचालन भएको प्रतियोगितामा भएको साथ र सहयोग अहिले पनि हुने बताउँदै टीमको दर्ता र वैधानिकता लगायत खेल संचालन र प्रशिक्षणमा लिटिल बुद्ध फिल्म निर्माणको सामाग्री प्रयोगको घटना सुनाउनुभयो । टीमका सचिव रामेश्वर मचामसीले संचालन गरेको उक्त कार्यक्रममा प्रतियोगिताका संयोजक संजीव कवांले प्रतियोगिताका नियम, टीम दर्ता र सहभागिता, खेल तालिका तथा खेल खेल्दा खेलाडीको आैषधी उपचार लगायत विविध प्रोत्साहन र प्रमाणपत्रको बारेमा जानकारी दिएका थिए । एथलेटिक्स, बक्सिङ, ब्याडमिन्टन, कराते, बुद्धिचाल, तेक्वान्दो, उसु तथा फुटबल लगायत खेलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, अम्पायर, रेफ्री र प्रशिक्षक उत्पादन गर्ने उद्देश्यले स्थापित भक्तपुर युवा टीमले गत फागुन ६ देखि १४ सम्म पहिलो खुल्ला फुटबल प्रतियोगिता सम्पन्न गरिसकेको छ । दोश्रो भक्तपुर कप २०७९मा विजेताले नगद रू.१२५००० तथा उपविजेताले रू. ६००००, सर्वोकृष्ट खेलाडीले नगद रू.१०००० प्राप्त गर्ने आयोजकले जनाएको छ । सर्वोकृष्ट फर्वाड, मिलफिल्डर, डिफेन्डर, गोलकिपर तथा कोच प्रत्येकलाई रू.५००० र ट्रफी समेत दिने आयोजकको रहेको छ ।