जिन्दावाद, मुर्दावादका नाराहरू लगाएँ, सूर्य चन्द्र अङ्कित राष्ट्रिय झण्डा बोकी फर्फराएँ
माघ ४, २०७९, बुधबार | दिउँसो ०१:३१ बजे | 0
के. बि. सम्राट
मैले आफ्नो जीवनको आठांै दसक पार गरेँ, आज आफूले आफँैलाई नियाली हेरेँ ।
ऐना अगाडि आफू उभिएर हेर्दा चाल पाएँ, आफू डाडाँपारीको घाम भइसकेको आभास पाएँ ।।
दाँत झरेको, छाला चाउरिएको, निधार खुम्चेको देखेँ, फुस्रो अनुहार, होचो कदको मेरो प्रतिबिम्ब नियालेँ ।
व्यतीत घटनाहरूका परिदृष्यहरू देख्न थालेँ, मेरो जीवनका किताबी पन्नाहरू पल्टिन थाले ।।
हाँस-खेल, रसरंग, घुमफिर कति-कति गरेँ, बालक, जवान अधबैंसे हुँदै वृद्धमा रूपान्तरित भएँ ।
स्कुल, कलेज, विश्वविद्यालयहरू धाएँ, ज्ञानगुणका शिक्षा दीक्षाहरूमा रमाएँ ।।
आर्जित उक्त ज्ञानगुणहरू अरूलाई पनि बाडेँ, विद्यार्थी, शिक्षक, प्रशिक्षक भई यत्रतत्र समय बिताएँ ।
आफ्नै देशका हिमाल पहाडहरूमा उकाली ओराली गरेँ, लेक, बेंसी, मैदान, जङ्गल, तराईमा डुलेँ ।।
कन्दरा, गुफाहरूमा भित्र-भित्रै पसेर फर्केँ, कोशी, गण्डकी, महाकाली नदीमा स्नान गरेँ ।
नाउ, डुंगा, पानी जहाज, हवाइ जहाज चढेँ, समुद्रपारिका महाद्वीपहरूमा पनि पुगेँ ।।
एसिया, युरोप र अमेरिकाका केही मुलुकहरू डुलेँ, त्यहाँका कला संस्कृति, रहनसहन नजिकबाट देखेँ ।
तीर्थयात्री, पदयात्री, पर्यटक भई यात्री भएँ, सामाजिक, साहित्यिक, आध्यात्मिक संस्थाहरूमा आवद्ध भएँ ।।
अनेकौं विषयका ग्रन्थहरूको म स्वयम् पाठक भएँ, स्वदेश विदेशका लेखकहरूले आफ्ना रचनाहरूमा मलाई चित्रण गरेको पाएँ ।
मैले नेपाल र नेपाली जनताको समृद्धि चाहेँ, राजनैतिक, सामाजिक आन्दोलनहरूमा सहभागी भएँ ।।
जिन्दावाद, मुर्दावादका नाराहरू लगाएँ, सूर्य चन्द्र अङ्कित राष्ट्रिय झण्डा बोकी फर्फराएँ ।
प्रहरीको लाठी र हप्की दब्की खाएँ, कारागारमा पनि केही दिन डेरा जमाएँ ।।
भोजनको लागि आफँै भान्छे पनि भएँ, अँध्यारो, चीसो बन्दीगृहको कठोर अनुभव गरेँ ।
बहिदार, खरदार, सुब्बा, अफिसर र हाकिम पदमा बसँे, कार्यालय, विभाग, मन्त्रालयहरूमा राष्ट्रसेवक भई बसेँ ।।
बुद्धि, विवेक लगाई कार्य गर्दा आफ्नै पसिनामा नुहाएँ, सीमित पारिश्रमिकमा मेरा परिवारजन पालेँ ।
योग ध्यान सिकेँ, योगी र योग गुरू पनि भएँ, वैकल्पिक उपचारमा डाक्टरको उपाधि पनि पाएँ ।।
धेरै रोगीहरूलाई सफल उपचार सेवा पुर्याएँ, लाभान्वित हुनुभएकाहरूबाट धन्यवाद पाएँ ।
मेरा परोपकारी कार्यहरूको परिणाम स्वरूप, सज्जनहरूबाट स्याबासी र ताली पाएँ ।।
कतिपय दुष्टजनबाट इष्र्या र गाली पाएँ, प्राप्त ताली र गाली दुवैलाई मनले स्वीकारेँ ।
सटल, पाटी, पौवा, मन्दिर, पोखरी, जलासयको, जीणर्ोद्धार, नवनिर्माण सामाजिक कार्यहरूमा अगुवाई गरेँ ।।
निर्मित ती पाटी पौवाहरूको सदुपयोग भएको देखेँ, आफूले सम्पादित कार्यहरूबाट आफू पुलकित भएँ ।
भक्तिभावले ईश्वर-परमात्माको, सगुण निर्गुण भावमा भजन गाएँ ।।
यसैमा आफ्नो मनको भित्र शान्ति पाएँ, आखिर मानव जीवनको सार्थकता बुझेँ ।
मेरो बाँकी जीवन पनि यसरी सत्कर्महरूमा, हाँसी खुसी भै लाग्न सकूँ भनी इच्छ्याएँ ।।
मैले जीवनको आठौं दसक पार गरेँ, आज आफूले आफैँलाई नियाली हेरेँ ।।
प्रारम्भ
शब्दयात्रा प्रकाशन, भक्तपुर सम्पर्क केन्द्र, भक्तपुरबाट २०७८ मा प्रकाशित संयुक्त कविता संग्रहलाई आधार बनाई अनुशीलन नेपालले समीक्षा संग्रह यही माघ १ गते, योग दिवसको अवसरमा प्रकाशित गर्यो । उक्त दुवै पुस्तकहरुमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुले एउटै शीर्षक ‘शब्दचित्रमा म’ आ-आफ्नो जीवनी, कवितामार्फत प्रस्तुत गरिएका रचनाहरु नै उक्त पुस्तकका विषय वस्तुहरु हुुन् । ती पुस्तकहरुको अवधारणा तयार गरी सर्वप्रथम ‘शब्दचित्रमा म’ शीर्षकमा डा.इन्दुल केसीले आफ्नो रचना प्रकाशन गर्नुभयो । यस लेख उक्त दुवै पुस्तकहरुको आधारमा तयार गरिएको छ । डा. इन्दुलका रच्नुभएका उक्त कविता तथा उहाँको परिचयसमेत यसैमा संलग्न गरिएको छ ।‘शब्दचित्रमा हामी भित्रका कविता केलाउँदा’ पुस्तक एउटा समीक्षा सङ्ग्रह हो ।
१) ‘शब्दचित्रमा हामी’ संयुक्त कवितासङ्ग्रहको प्रकाशकीयबाट
“डा. इन्दुल केसीले ‘शब्दचित्रमा म’ शीर्षक राखेर लेखेको कविता नै यस कृतिको मूल आधार रहेको छ । उहाँले आत्मिक स्वपहिचानलाई काव्यिक रूप दिई आफूलाई ब्यक्त्याएपछि सोही आत्मिक अभिव्यक्तिलाई अन्य कविले कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने चासोका एकै शीर्षक ‘शब्दचित्रमा म’ मा कविता रचना गर्न आग्रह गरेअनुरुप अन्य कविका कवितासमेत यसमा सम्मिलित गरी सङ्ग्रह नै तयार पारेर पाठकसमक्ष प्रस्तुत गरेका छौं ।”
२) समीक्षकहरुले लेख्नुभएका विवरण
क) प्रा.डा. कृष्णप्रसाद दाहाल, त्रिवि, पाटन संयुक्त क्याम्पस, पाटन
देशमा कोरोनाको महामारीले गर्दा लकडाउन चलिरहेको थियो । हामी घरभित्र बन्दाबन्दीको अवस्थामा थियौं । एकाबिहानै डा. इन्दुल केसीको फोन आयो । केसीले ‘शब्दचित्रमा म’ शीर्षकको कविता एक रफ्तारमा सुनाए । केसीको समग्र जीवनी र व्यक्तित्व यस कवितामा प्रकट भएको पाएँ । मैले उनलाई साधुवाद दिएँ । कविले आफूलाई आफ्ना कवितामा प्रस्तुत गर्ने परम्परा प्राचीन समयदेखि चल्दै आएको हो । यही परम्परामा हेलिँदै आएका कवि हुन् इन्दुल केसी । केसीको यो कविता फेसबुकको विद्यतीय तरङ्गबाट भाइरल भयो । लगभग एक हप्तापछि उनले पुनः फोनमार्फत मलाई अवगत गराए दाहालजी, मेरो ‘शब्दचित्रमा म’कविताबाट प्रभावित भएर धेरैजना कविहरूले हामी पनि ‘शब्दचित्रमा म’भन्ने कविता लेख्छौं भने र त्यसलाई एउटा पुस्तकाकार रूप दिन कुरो पनि चलेको छ । यहाँलाई यो सुखद् समाचार दिन फोन गरेको हुँ भनी सुनाए । मैले यो अत्यन्त राम्रो कुरो हो भनी प्रशंसाका वाणी बर्साएँ । नभन्दै केही महिनाभित्रै ‘शब्दचित्रमा हामी’ काव्यकृति सार्वजनिक हुन पुग्यो । तसर्थ यस काव्यकृतिका परिकल्पनाकार इन्दुल केसी बन्न पुगे । यो कृति प्रकाशित हुनुको श्रेय डा. केसीलाई नै दिनुपर्दछ । यस काव्यकृतिको प्रकाशकीयमा भनिएको छ, “डा. इन्दुल केसीले ‘शब्दचित्रमा म’ शीर्षक राखेर लेखेको कविता नै यस कृतिको मूल आधार रहेको छ । उहाँले आत्मिक स्वपहिचानलाई काव्यिक रूप दिई आफूलाई ब्यक्त्याएपछि सोही आत्मिक अभिव्यक्तिलाई अन्य कविले कसरी प्रस्तुत गर्नुहुन्छ भन्ने चासोका एकै शीर्षक ‘शब्दचित्रमा म’ मा कविता रचना गर्न….. ।” बस, यो नै यस सङ्ग्रहको प्रस्थानविन्दु हो । कवि इन्दुल केसीको सुखद् लेखनीले गर्दा नेपाली काव्यजगत्ले एउटा नवीन कोसेली प्राप्त गर्न सफल भयो । ‘शब्दचित्रमा हामी’ संयुक्त कवितासङ्ग्रह अनेकौं काव्यिक स्वादले भरिएको मौजीमसला हो ।
भक्तपुर नगरपालिका वडा नं. ४ मा वि.सं. १९९८ सालमा जन्मेका डा. इन्दुल केसी आफ्नो ‘शब्दचित्रमा म’ कविताभित्र देशभक्ति, ईश्वरभक्ति र मानवताको कुरा गर्छन् –
मैले नेपाल र नेपालीको समृद्धि चाहेँ
राजनीतिक, समाजिक आन्दोलनहरुमा सहभागी भएँ
जिन्दावाद र मुर्दावादका नाराहरु लगाएँ
सूर्यचन्द्र अङ्कित राष्ट्रिय झण्डा बोकी फर्फराएँ । (पृ १८)
सत्य र न्यायका पक्षमा आवाज बुलन्द गर्दै आएका केसी आफ्नो बाँकी जीवन पनि सत्कर्ममा लगाउने अठोट गर्छन् । दुई पङ्क्तिको एउटा श्लोक र बाँकी चार चार पङ्क्तिका चौधओटा श्लोकमा कवि इन्दुलले आफ्नो जीवनवृत्तलाई पस्केका छन् ।
ख) टीका श्रेष्ठ, भक्तपुर बहुमुखी क्याम्पस
कवि डा. इन्दुल केसीको जन्म वि.सं. १९९८ साल माघ २७ मा भक्तपुर न.पा. ४, नासमना, ब्रह्मपुर चोकमा भएको हो । विद्यावारिधिसम्म अध्ययन गरेका केसीले स्वदेश र विदेशका विभिन्न ठाउँ भ्रमण परेका छन् । आठओटा कृति प्रकाशित गरिसकेका केसीका चारओटा कृति प्रकाशोन्मुख छन् । विविध क्षेत्रमा उत्कृष्ट सहभागिता रहेको उनको जीवनकाल अत्यन्तै उर्वर र अनुकरणीय देखिन्छ । उनको कविता ‘शब्दचित्रमा म’ मुक्त लयमा रहेको छ । सबै पङ्क्तिको अन्त्यमा अनुप्रासको संयोजन भएकाले यो कविता गद्यात्मक रहे पनि यसमा अनुभवै अनुभवले खारिएका जीवनका आरोह र अवरोहलाई शब्दमा खिपेर पाठकमाझ पस्किएका छन्, जुन आस्वादनीय छन् । उनको कविताले अत्यन्तै क्रियाशील रहेको उनका जीवनकालको केही समय सामाजिक, धार्मिक सेवामा समेत समर्पित भएको देखाउँछ ।
ग) डा. सीता सुवेदी पन्थी, आदर्श मा.वि, मध्यपुर थिमी
डा. इन्दुल केसीको कवितामा आफूले पार गरेका जीवनका आठौं दशकपछि आफूलाई ऐनामा नियाल्दा देखिएका बुढ्यौलीका चिह्नहरूको यथार्थ वणर्नबाट विषयारम्भ गरिएको छ । वास्तवमा जीवन पनि महत्वपूणर् पुस्तक हो र जीवनका भोगाइ तथा अनुभूतिहरू किताबका पाना हुन्, जसबाट जीवनको मूल्य बोध गर्न सकिन्छ भन्ने गहन अनुभूति प्रस्तुत छ कवितामा । नेपालको भूगोल मात्र नभई एसिया, युरोप तथा अमेरिकाको भूगोलमा विचरण गर्दा तथा जीवन भोगाइका क्रममा बालक, जवान, हुँदै वृद्ध बन्न पुगेको यथार्थ स्वीकार गरी त्यसको सुन्दर चित्रण गरिएको छ । कहिले विद्यार्थी, कहिले शिक्षक त कहिले प्रशिक्षकको भूमिकामा र हँदै बिताएको समयको स्मरण गरिएको छ। आफ्नै देशका हिमाल, पहाड, तराई, लेकबेंसी, जङ्गल, कन्दरा गुफामा डुलेको तथा आफ्नै कोसी, गण्डकी र महाकालीमा स्नान गरेको प्रसङ्गले कविको मनमुटुमा छताछुल्ल भएको देशप्रेमको भाव प्रस्ट देखिन्छ । समुद्रपारका महाद्वीपमा नाउ, पानीजहाज, हवाइजहाज चढेर पुगेको सुन्दर अनुभूति तथा त्यहाँको वस्तुस्थिति, र हनसहन, कला र संस्कृतिको अवलोकन गर्दाको अनुभव कवितामा प्रस्तुत छ। त्यसै गरी विभिन्न सामाजिक, साहित्यिक तथा आध्यात्मिक संस्थाहरूमा आबद्ध भई कहिले तीर्थयात्री, कहिले पदयात्री त कहिले पर्यटकको रूपमाअघि बढेको, कहिले पाठक त कहिले सर्जक बनेको मिठो स्मरणको प्रस्तुतिले कविको जीवनचर्यालाई छर्लङ्ग पारेको छ । यसै क्रममा देश विदेशका स्रष्टाले आफ्ना रचनामा आफूलाई चित्रण गरेको मिठो अनुभूति प्रस्तुत गरिएको छ ।
प्रस्तुत कवितामा जनताको उन्नति र राष्ट्रको समृद्धिका लागि सूर्यचन्द्र अङ्कित झन्डा बोकी राजनीतिक, सामाजिक आन्दोलनमा सहभागी हुने क्रममा पाएका यातनाका कठोर अनुभूति एकातिर छन् भने अर्कोतिर जागिरे जीवन तथा पारिवारिक जिम्मेवारी, योग, ध्यान, वैकल्पिक उपचार का क्षेत्रमा आफूले गरेका काम तथा आफ्नो सेवाबाट लाभान्वित हुनेहरूबाट पाएको धन्यवादको समेत स्मरण गरिएको छ । यसबाट कविमनको सेवाभाव तथा मानवताप्रतिको समर्पण, प्रगतिवादी चिन्तन र रूपान्तरणको चाहना सजिलै बुझ्न सकिन्छ । राष्ट्रसेवक कर्मचारीको रूपमा विभिन्न पद र कार्यालयमा विवेकपूणर् तरिकाले काम गरी आफ्नै पसिनामा परिवारबिच र माएका कवि योग, ध्यानसमेत सिकेर योगी तथा योगगुरु बनेको, वैकल्पिक उपचारमा विद्यावारिधिको उपाधि प्राप्त गरेको सुन्दर स्मरण गरिएको छ। कैयौँ रोगीहरूको सफल उपचार र यसबाट पाएको धन्यवादले कविलाई कर्मशीलताको मार्गमा निरन्तर अघि बढ्न प्रेरित गरेको छ ।
समाजमा सज्जन तथा दुर्जन व्यक्तिहरू हुने र त्यस्ता व्यक्तिबाट उनीहरूको सोचअनुसारकै व्यवहार अनुभूत हुने यथार्थलाई सहज रूपमा स्वीकार गर्ने कविमनको सरलता कवितामा प्रस्तुत गरिएको छ । साथै सामाजिक सम्पदाको संरक्षण, आध्यात्मिक चिन्तन, जीवनबोध तथा त्यसबाट प्राप्त गरेका जीवनदर्शनले कविता निकै गहन बनेको छ । यस कवितामा आफ्नै जीवनका अनुभव तथा भोगाइलाई फर्केर हेर्दा निकै महत्त्वपूणर् ज्ञान प्राप्त गरेको सङ्केत गर्दै निरन्तर सत्कर्ममा अघि बढ्नका लागि मार्गनिर्देश गरिएको छ । मुक्त लयमा रचित यस कविताले महत्वपूणर् जीवनयथार्थ तथा मानवतावादी चिन्तन प्रस्तुत गरी पाठकलाई सत्मार्गतर्फ अभिप्रेरित गरेको छ ।
अन्तमा
नेपाली साहित्यका अनुरागी पाठक महानुभावहरूले यो लेखप्रति आफ्नो प्रतिक्रिया पठाउनुहुन सादर अनुरोध छ । rsweekly2065@gmail.com
डा. इन्दुल केसीको परिचय