राष्ट्रपति कप रनिग शिल्ड खेलकुद प्रतियोगिताको खेलाडी छनोट कार्यक्रम सुरु
पुष २५, २०७९, सोमबार | विहान ०४:३८ बजे | 40
भक्तपुर । २०७९ पुस २५ गते, सोमबार
भक्तपुर नगरपालिकाको आयोजनामा २०७९ पुस ५ देखि ९ गतेसम्म भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका निर्णायकहरुलाई प्रशंसापत्र वितरण तथा राष्ट्रपति कप रनिङ शिल्प खेलकुद प्रतियोगिताको खेलाडी छनोटको उद्घाटन कार्यक्रम सोमबार नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो ।
कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले टेक्वाण्डोका रेफ्री बलराम न्हिसुतुलाई खेल सामाग्री हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गर्नुभयो ।
कार्यक्रममा बोल्नुहुँदै उहाँले भक्तपुर शिक्षा, स्वास्थ्य, सम्पदा संरक्षण र सरफाइलगायतको क्षेत्रमा नमुना बन्दै गइरहेकोमा खेलकुद क्षेत्रमा पनि नमुनाको रुपमा विकास गर्ने लक्ष्यअनुरुप अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुरलाई जीवन्त नगरको रुपमा विकास गर्ने उद्देश्यका साथ लागिरहेको बताउनुहुँदै प्रमुख प्रजापतिले खेलाडीहरुले पैसाको निम्ति नभई अनुशासन र प्रतिष्ठानको निम्ति खेल्नुपर्ने बताउनुभयो ।
भक्तपुर नपाले पूर्णकालीन खेलकुद प्रशिक्षक नियुक्ति गरी विद्यालयहरुमा खेलकुद प्रशिक्षणलाई जोड दिँदै आएको बताउनुहुँदै उहाँले भक्तपुरबाटै राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी, रेफ्रि तयार गर्ने उद्देश्य नपाको रहेको र २०७९ फागुन ५ गते खोखो खेलको अन्तरनगर खेलकुद प्रतियोगिता आयोजना हुने बताउनुभयो ।
भक्तपुर नपा वडा नं. १ का वडाध्यक्ष एवम् खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले भनपाको आयोजनामा २०७९ पुस २५ गतेबाट हुने राष्ट्रपति रनिङ शिल्डको लागि भलिबल, कबड्डी, उसु, तेक्वान्डो, एथ्लेटिक्स र कराँते गरी ६ वटा खेलमा खेलाडी छनोेट हुने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय भलिबल खेलका प्रशिक्षक विनोदचरण रायले राष्ट्रपति रनिङ शिल्ड निकै महत्वपूर्ण प्रतियोगिता भएको बताउनुहुँदै खेलाडीहरुले राष्ट्र, स्वास्थ्य र खेलाडी स्वयम्को विकासको निम्ति खेल्नुपर्ने बताउनुभयो ।
भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक थापाले भक्तपुर नपाले खेलकुदको विकासमा गरिरहेको प्रयास सराहनीय भएको बताउनुहुँदै अन्य स्थानीय तहले पनि भक्तपुरले जस्तै काम गर्न सकेको खण्डमा राष्ट्रिय अन्तर्राष्ट्रिय खेलाडी उत्पादनमा टेवा पुग्ने बताउनुभयो ।
कार्यक्रममा भनपा ४ का वडाअध्यक्ष उपेन्द्र सुवाल, कार्यपालिका सदस्यद्वय सुनिता अवाल र भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरीले पनि मानव जीवनमा खेलकुदको महत्वबारे आफ्नो धारणा राख्नुभयो ।
सोही क्रममा प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको आयोजनामा २०७९ पुस ५ देखि ९ गतेसम्म भएको भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताका निर्णायक र रेफ्रीहरुलाई प्रशंसापत्र वितरण वितरण गर्नुभयो ।