बोर भयो ? यता आउनुहोस्


मंसिर २८, २०७९, बुधबार | दिउँसो ०२:४५ बजे | 35


बोर भयो ? यता आउनुहोस्

भक्तपुर । सहरभरि खुल्ला ठाउँंको अभाब हुन थालेको छ । यस्तो अवस्थामा विहान मर्निङ वाल्र्क जानदेखि एकछिन मन बहलाउन पनि खुला ठाउँंको अभाब हुन थालेको छ । तर यो समस्याको समाधान गर्दै आएका छन् भक्तपुरका पोखरीहरुले भक्तपुरको कमलविनायक पोखरी मर्निङ वाल्र्क जोन (दैनिक विहानविहान हिडडुल गर्ने केन्द्र) बनेको छ । पोखरीमा दैनिक विहान मर्निङ वाल्र्क गर्न आउनेहरुको भीड नै हुने गर्दछ । मर्निङ वाल्र्कका लागि भक्तपुर नगरका विभिन्न टोलका साथै नजिकैको चाँंगुनारायण नगरपालिकाका विभिन्न वडाहरुबाट पनि यहाँं पुग्ने गरिन्छ ।  
सहरको घनावस्तीको छेउमा रहेको भक्तपुरको यो पोखरी हिजोआज सवैका लागि मन बहलाउने ठाउँ पनि बन्दै आएको छ । पोखरीमा दैनिक हजारौं मानिस घुम्न आउने गरेका छन् । दिउँंसोका समयमा पोखरीमा काठमाडौं उपत्यकाकै ठाउँठाउँबाट घुम्ने आउने पनि प्रसस्तै भेटिन थालेका छन् ।
भक्तपुर गोल्मढीका जननीप्रसाद मुल दैनिक विहान पोखरीमा मर्निङ वाल्र्क गर्न आउने बताउँंछन् । आफूमात्रै नभई पोखरीमा दैनिक जताततैबाट मर्निङ वाल्र्क गर्न आउनेहरुको संख्या अत्याधिक हुने उनी सुनाउँंछन् । घरमा वसेर रोग पाल्नु भन्दा विहानको समयमा यसो हिडदुल गरेर आफूलाई स्वस्थ्य राख्नका लागि धेरैमा मानिस पोखरीमा मर्निङ वाल्र्क गर्न पुग्ने उनको भनाई छ । 
पोखरी भक्तपुर नगरको दक्षिण पूर्वमा रहेको छ । पोखरी भक्तपुर नगरपालिका वडा नं १० मा कमलबिनायकमा पर्छ । भक्तपुरबाट काठमाडौं आउने कमलविनायक वसपार्कसगै पोखरी जोडिएको छ । साथै भक्तपुरबाट नगरकोट जाने कमलविनायक वसपार्क पनि यो पोखरीसँग जोडिएको छ । 
पोखरीमा दैनिक विहान घुम्न आउने बताउने भक्तपुरकै क्वाठण्डौंका ४२ वर्षीय बलचन्द्र श्रेष्ठ सवैतिर घना वस्तीले भरिएकोले खुल्ला अनि मनोरम ठाउँं पोखरी रहेकोले दैनिक आउने गरेको बताउँंछन् । दैनिक विहान पोखरीमा आइ पाँंच सात चक्कर लगाएर घर जाने उनी बताउँंछन् । 
पोखरी ठूलो छ । एक चक्कर घुम्नका लागि नै झण्डै पाँंच मिनेट लाग्ने गर्दछ । पोखरी २० रोपनी भन्दा वढी क्षेत्रफलमा फैलिएको जनाइएको छ । साथै पोखरी वरिपरिको बाटो, बगैंचा, मन्दिर, उद्यानलगायतका स्थान गरी २५ रोपनी भन्दा वढी क्षेत्रफलमा रहेको जनाइएको छ ।
पोखरीको चारैतिर बसेर माछालाई खुवाउन मिल्ने, पोखरीको चारैतिर घुम्न मिल्ने लगायतका कारण पोखरी थप आकर्षक छ। पोखरीको चारैतिर वसेर आनन्द मान्नेहरु पनि त्यत्तिकै भेटिन्छन् । पोखरीमा विहान सवेरैदेखि रातिसम्मै पनि पर्यटकमा आउने स्थानीय बताउँंछन् । स्थानीयका अनुसार शनिबार बाहेक सार्वजनिक विदाका दिन, स्थानीय जात्रा पर्वलगायतका दिन यहाँ घुम्न आउनेहरुको भीड नै लाग्छ । साथसाथै साँझ र विहानको समयमा पनि उतिकै घुम्न आउने गर्दछन् । सवेरै मर्निग वाकमा आउनेदेखि दिउँसो बेलुकी डेटिङमा आउने सबैको प्रियस्थल बन्ने गरेको छ पोखरी । पोखरीको मुख्य आकर्षण त्यहाँ पालिएका माछा हुन् । पोखरीमा पालिएका माछालाई भुजा, मस्यौरालगायतका खाना खुवाउनमा दिउँंसो आउने पर्यटकले ज्यादा सन्तुष्टि लिने गरेका छन् ।  
कमलविनायक मन्दिर सुधार समितिले पोखरीको सरसफाईलगायतका कार्य गरी सुन्दर बनाएपछि पोखरीप्रति पर्यटकको आकर्षण वढेको हो । समितिले पोखरीमा माछा पालिराखेको छ । साथै पोखरी वरिपरि चारैतिर बृक्षारोपण गरी फूलबारीको बनाएको छ । साथै यहाँ पिकनिक मनाउनेका लागि पनि स्थान उपलब्ध गराइने गरेको छ । समितिले यहाँका पाटी पौवा, मन्दिरको जिर्णाेद्धार गरेको छ भने पोखरी वरिपरिको फराकिलो बाटोलाई इटाले विछ्याएर सुन्दर पारेको छ ।
कमलविनायक मन्दिर सुधार समितिका अध्यक्ष तीर्थमान दुमरुले पोखरीलाई राम्रो पार्ने काम निरन्तर जारी रहेको बताए । २०६१ सालदेखि समितिले पोखरीलाई आकर्षक बनाउन सक्रियतापूर्वक लागेको उनी सुनाउँंछन् । रातको समयमा पनि आकर्षक बनाउन पोखरीको चारैतिर सोलार वत्तीको वन्दोवस्त छन् । समितिले पोखरीको हेरचाहका लागि तीन जना कर्मचारीको समेत व्यवस्था मिलाउँदै आएको छ । पोखरीमा आउने पर्यटकले फाल्ने फोहोर टिपनटापन गर्न, बगैचा हेर्न, पोखरीमा पालिएका माछा हेरचान गर्न, शौचालयको सरसफाई र पोखरी वरिपरि रहेका विजुलीवतीलाई व्यवस्थित गर्न कर्मचारीको व्यवस्था गर्दै आएको हो ।
भक्तपुर नगरमा साना ठूला गरी यस्ता ३४ वटा पोखरी रहेको तथ्यांक छ । तीमध्ये अहिले आकर्षण केन्द्रको रुपमा रानीपोखरी, सिद्धपोखरी र कमलविनायक पोखरी बन्न थालेको छ । यीबाहेक यहाँ नपुखू, भाजुपोखरीलगायतका ठूल्ठूला पोखरीहरु पनि छन् ।





Comments