स्रष्टा भट्टको सोलीडोली सार्वजनिक


मंसिर ४, २०७९, आइतबार | विहान ०५:४४ बजे | 25


स्रष्टा भट्टको सोलीडोली सार्वजनिक

क्यालिफोर्निया । अमेरिकाको क्यालिफोर्निायामा साहित्यकार सुरेशकुमार भट्टको हाइकुसंग्रह सोलीडोली सार्वजनिक गरिएको छ । लायन्स क्लब अफ वर्कली लालीगुराँस, विकल्प फाउण्डेसन, समुद्रपारिका मन र यशोभानु साहित्य प्रतिष्ठानको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो ।  
कृतिमाथि समीक्षा गर्दे युनिर्भिर्सटी अफ क्यालिफोर्नियाका एशोसियट प्रो डा. टिका लम्सालले हाइकुजस्तो सानो आकारमा पनि जीवनका महत्वपूर्ण विषयलाई प्रस्तुत गर्न सकिने तर त्यसको लागि स्रष्टाले तीक्ष्ण दृष्टि राख्नुपर्छ भन्नुभयो । उहाँले हाइजिन भट्टले नेपालको सामाजिक परिवेशका विभिन्न पक्षलाई हाइकुमा राम्रोसँग प्रस्तुत गर्न सकेको बताउनुभयो । 
कृतिका लेखक भट्टले साहित्यमा रुचि भएका कारणले हाइकुमा आफ्ना अनुभूतिहरुलाई अभिव्यक्त गरेको बताउनुभयो । 
कार्यक्रममा सभापतिको आसनबाट बोल्दै साहित्यकार रीतादेवी प्रधान रुमाठले पुरुषको प्रगतिमा नारीको हात भएझैं नारीको उन्नतिमा पनि पुरुषको भूमिका हुन्छ भन्नुभयो । साथै उहाँले दुवैको भूमिकाको सम्मान गर्नुपर्छ भन्दै साहित्यकार भट्ट दम्पत्तिलाई खादा ओढाएर सम्मान गर्नुका साथै आफ्ना कृतिहरु उपहार प्रदान गर्नुभयो । 
उहाँको यो कार्यलाई कार्यक्रममा उपस्थित सहभागीहरुले मुक्त कण्ठले ताली बजाएर समर्थन गरेका थिए ।
कार्यक्रममा न्यान्सका अध्यक्ष प्रितेस कार्की, लायन्स क्लबका पूर्व गभर्नर राजेन थापा, विकल्प फउण्डेसनका अध्यक्ष निर्मल फुयाँल, यशोभानु प्रतिष्ठानका संस्थापक नारायण भट्टराई लगायतले मन्तव्य राख्नुभएको थियो । 
सोलीडोली हाइकु कृतिमा तीन हजार भन्दा बढी हाइकु संकलित छन् ।

Comments