अन्जनाको लुमन्तिया न्हाय्कं सार्वजनिक


जेठ २९, २०७९, आइतबार | विहान ११:३४ बजे | 45


अन्जनाको लुमन्तिया न्हाय्कं सार्वजनिक

काठमाडौं । नेपालभाषाका कवयित्री तथा उपन्यासकार अन्जना ताम्राकारका कविताहरुको सङ्ग्रह लुमन्तिया न्हाय्कं (सम्झनाको ऐना) एक समारोहका बीच विमोचन गरिएको छ ।
सिर्जना अभियान समाजको आयोजनामा भएको सो समारोहमा वरिष्ठ उपन्यासकार मल्ल के सुन्दर, गीतकार एस.पी. कोइराला, कवि पुष्पराज राजकर्णिकार, गायिका अन्जान शाक्य र पूर्व गर्भनर दिपेन्द्र पुरुष ढकालले संयुक्त रुपमा विमोचन गर्नुभयो ।
विमोचनपछि बोल्दै प्रमुख अतिथि मल्ल के सुन्दरले कविताहरुमा प्रयुक्त विम्ब र प्रतीकहरु प्रभावकारी रहेको बताउँदै कवितामा सांस्कृतिक विषयलाई पनि केही ठाउँमा उठाइएको छ भन्नुभयो ।
कृतिमाथि समीक्षात्मक टिप्पणी गर्दै समीक्षक शाक्य सुरेनले कविताहरु पीडा र वियोगले गर्दा अत्यन्त भावपूर्ण रहेको बताउनुभयो ।
हास्य कलाकार मदनकृष्ण श्रेष्ठले गायक स्व. रमेश ताम्राकारलाई सम्झंदै उनको बारेमा लेखिएका अधिकांश कविता मर्मस्पर्शी रहेको बताउनुभयो ।
कवि तथा गीतकार एस.पी. कोइरालाले आफूले नेपालभाषा नबुझे पनि केही कविताको भावले आफूलाई छोएको बताउनुभयो ।
कृतिका स्रष्टा अन्जना ताम्राकारले शोक र वियोगको पीडालाई आफूले साहित्यमा लगाएको बताउनुभयो ।
साहित्यकार धु्रव मधिकर्मीको सभापतित्वमा भएको सो कार्यक्रममा पूर्व गर्भनर दिपेन्द्र पुरुष ढकाल, कवि पुष्पराज राजकर्णिकार, गायिका अन्जान शाक्य र विमला मानन्धरले पनि बोल्नुभएको थियो ।
सिर्जना अभियान प्रकाशक रहेको लुमन्तिया न्हाय्कं कवितासङ्ग्रहमा पीडा, वियोग, प्रेम, आत्मीय सम्बन्ध र संस्कृति विषयका ६६ वटा कविताहरु संग्रहित छन् ।

Comments