राजीव गिरीलाई पूजारी मठको महन्त नियुक्त


साउन ३१, २०७७, शनिबार | विहान ११:५३ बजे | 105


मल्लकालीन सभ्यतालाई झल्काउदै शनिबार भक्तपुरको दत्तात्रयस्थित पूजारी मठको महन्तलाई नियुक्त गरेको संरक्षणविद रविन्द्र पुरीले जनाएकोे छ । हिन्दु सनातन धर्मका दस्र्नामी समुदायको आस्थाको प्रतिकको रुपमा पूजारी मठलाई लिने गरेको उल्लेख गर्दै उहाँले पूजारी मठका महन्तको नियुक्तीमा देशभरका मठ र महन्तको सहभागिता हुने गरेको तर यस वर्ष कोरोनाका कारण सिमित ब्यक्तिहरु बसेर मात्र परम्परागत महन्तको नियुक्ती प्रकृया पूरा गरेको जनाएको छ । पूजारी मठका महन्त राजेन्द्रप्रसाद गिरीको गत श्रावण १९ गते निधन भएपछि उनका जेठो छोरा राजीव गिरीलाई पूजारी मठको महन्त नियुक्त गरेको उहाँले बताउनु भयो । आज भन्दा ६ सय वर्ष पहिला देखिको मठको सभ्यतालाई यस प्रथाले जीवन्त राखेको जनाउँदै उहाँले गुठी जग्गा रैतानी गर्न थालेपछि मठ प्रथा कमजोर हुन थालेको जनाएको छ । यद्यपी शिव लिंग र हिन्दु सभ्यता एवं संस्कृतिलाई संरक्षण सम्बर्धनका लागि मठ प्रथा हजारौको संख्यामा देशभर रहेको उल्लेख गर्दै भक्तपुरको पूजारी मठ त्यस मध्ये महत्वपूर्ण मठ रहेकोले यहाँको महन्त नियुक्तीको बेला देशभरका महन्तहरु सहभागि हुने परम्परा रही आएको उहाँले जनाउनु भयो । राजाका छोरा राजा हुने प्रथा जस्तै मठ सञ्चालनको लागि महन्तका छोरालाई नै महन्त नियुक्त गर्ने परम्परा रही आएको संरक्षणविद पुरीले जनाएको छ । हरेक वर्ष गाई जात्राको भोलीको दिन दत्तात्रय मन्दिरको पनि भक्तपुरमा जात्रा गर्नेे परम्परा रहेको भए पनि यस वर्ष महन्त कै मृत्यु भएकाले विगत १३ दिन देखि दत्तात्रय मन्दिर परिसरमा हुनुपर्ने परम्पारगत पूजापाठ, नीत्यकर्म रोकी रहेको बताउँदै अव महन्तको नियुक्तीसँगै परम्परागत जात्रा पर्व र पूजा पाठले निरन्तरता पाउने तर कोरोनाको जोखिमका कारण खुलेर मनाउन नसकिने जनाएको छ । भक्तपुरका १६ वटा मठहरु मध्ये १२ वटा मठ भक्तपुर नगरभित्रै रहेको र तिनीको सञ्चालनम पूजारी मठको विशेष भूमिका रहेको पनि उहाँले बताउनु भयो ।
विगतका पुस्तामा महन्तहरुले नै मठहरुमा राज गर्ने, धार्मिक जात्रा पर्व चलाउने भए पनि अहिले आएर स्थानीय समुदायको पनि सहभागिता बढ्न थालेको स्थानीय समाजसेवी राम छ्स्याकीले जनाएको छ । महन्तहरु मठमै रहन्थे, पूजापाठमै ब्यष्ट हुन्थे तर अहिलेका महन्तहरु जात्रा पर्व मनाउनका लागि मात्र मठमा आउने गरेको उहाँले जनाएको छ । पूजारी मठ विशेष गरी दत्तात्रय मन्दिर सञ्चालनको लागि स्थापना गरिएको भनिए पनि हाल दत्तात्रय मन्दिर संरक्षण समिति समेत बनि सकेकाले मठ र स्थानीय समुदायको सक्रियतामा दत्तात्रय मन्दिरको सभ्यतालाई जीवन्त राख्ने कार्य भइरहेको उहाँले बताए ।

Comments