भक्तपुर । भक्तपुरको यसवर्षको सम्यक महादान पर्व औपचारिकतामा मात्र सिमित हुने जनाएको छ । आयोजक सम्यक महादान व्यवस्थापन सहयोग समिति
भक्तपुरले प्रेस विज्ञप्ति प्रकाशित गरी यस्तो जनाएको हो । परम्परादेखि निरन्तररुपमा माघ १ गते संक्रान्तिका दिन भक्तपुरको धर्मकृति विहार थथुबही भूइख्यमा हुंदै आइरहेको बौद्ध धर्मावलम्बिहरुको महत्वपूर्ण पर्व सम्यक महादान कोभिड १९ को बढ्दो संक्रमणलाई दृष्टिगत गरी जिल्ला प्रशासन कार्यालय भक्तपुरबाट जारी आदेशको आधारमा यस वर्ष पनि औपचारिकतामा मात्र सिमित हुने समस्त धर्मावलम्बी एवं शुभेच्छुकहरुमा जानकारी गराईएको छ ।
भक्तपुरको सम्यक महादान पर्व एक चिनारी

सम्यकको अर्थ
सम्यकको साधारण अर्थ ठिक तरिकाले ग्रहण गर्नु, अतिवादि र भौतिकवादी नभई मध्यस्थ मार्ग अपनाउनु नै सम्यक वा मध्यम मार्ग हो । मध्यममार्ग आठवटा छन् जसलाई आर्य अष्टांगिक मार्ग भनिन्छ । त्यस्तै सम्यकको अर्थ सत्य र धर्म समिश्रण भई सम्यक धर्म पनि हो । यसले दुःख नाश गरी पुण्य बढाएर बोधि ज्ञानको मार्गमा प्रतिष्ठित गरी निर्वाणमा पुर्याउने, राग द्वेश, लोभ आदि मारगुण नाश गरी दिने गरिन्छ ।
भक्तपुरको सम्यक महादान
नेपालको प्रसिद्ध आचार्य सुरतबज्रको वंसज भक्तपुर चतुब्रम्ह महाविहार निवासी श्री बज्राचार्य जयरत्नले र उहांको छोराहरुले व्यवस्थित रुपले ने.सं. ७८७ मार्ग शिल शुक्ल तृतियाको दिनमा आफ्नो दिवंगत पिताको नाममा रम्यकूटागार सुवर्ण चैत्य स्थापना गरी दीपंकर बुद्ध लगायत सम्यक संघ भोजनदान र संघलाई भोजदान गरी सम्यक महादानको शुभारम्भ गरेको थियो । सम्यक गरेको वर्षमा जयकिर्ति महाविहार हाल दुधपाटी स्थित थथुबही निकै जिर्ण अवस्थामा रहेकोले ने.सं. ७९४ मा राजा श्री जयजितामित्र मल्लको पालामा त्यसको जिर्णोद्वार पूर्ण गरी सुवर्ण ध्वजा फहराई जयकिर्ति विहारको नामले प्रख्यात गरी त्यसको प्रतिस्था यज्ञ गरी सम्यक महादान एवं संघभोजनदान गरेको थियो । त्यसबेलादेखि नियमित रुपमा माघ संक्रान्तिको दिनमा प्रत्येक वर्ष यो पर्व सम्पन्न हुदै आएको लेखिएको देखिन्छ । वर्तमानमा यस पर्वलाई नियमित र व्यवस्थित रुपले सम्पन्न गर्नका लागि सम्यक महादान व्यवस्थापन सहयोग समितिले व्यवस्थापन गरि पर्व सञ्चालन गर्दै आएको छ । यस अन्तर्गत सम्यक महादान पर्व २०७८ को पालो संस्थाका सदस्य कृष्ण चन्द्र बज्राचार्य परिवारको रहेको छ ।
सम्यक महादानमा सहभागी हुने देवताहरु तथा संघहरु
भक्तपुरको सम्यक नियमित सम्यक महादान हो । यस पर्वमा भक्तपुर नगर बाहेक अन्य स्थानबाट देवताहरु ल्याएका हुदैनन् । अतः उक्त सम्यकमा निमन्त्रणा गरिने दिपंकर बुद्धका मूर्तिहरुका साथै संघ सदस्यहरुमा बज्राचार्य, बुद्धाचार्य र शाक्यहरु निम्न प्रकारका हुन् ।
देवताहरुमा सम्यक गुठि परिवारको कूलदेवता हेबज्र नैरात्मा प्रशन्नशील महाविहारको देवता लोकेश्वर र मूल दीपंकरबुद्ध, चतुब्र्रम्ह महाविहारको दीपंकरबुद्ध, मंगलधर्मद्विप महाविहार झौरबही गोल्मढी टोलको दीपंकर बुद्ध, जयकिर्ति महाविहार हाल दुधपाटी अवस्थित थथुबहीको दीपंकरबुद्ध, बौद्ध समकृत विहार कुथुबही भार्वाचोको दीपंकरबुद्ध, सम्यक महादान गुठिका संस्थापक लगायत वहांका वंशहरु श्री बज्राचार्य जयरत्नको नाममा ने.सं. ८०७ सालमा स्थापित, श्री जयमूनि बज्राचार्य, श्री जयधर्म बज्राचार्य र श्री पूर्णराज बज्राचार्यले सम्यक महादान गरी स्थापना गरेका सुवर्ण वर्णका चार दीपंकरबुद्धका मूर्तिहरु तथा सम्यक महादान आयोजना गर्दा आयोजकबाट स्थापना गरेका रम्यकूटागार शैलीको बज्रधातुचैत्य हुन । त्यस्तै बौद्ध संघहरुमा भक्तपुरको सबै संघको सबभन्दा जेष्ठ संघनायक पशुपति महाविहारको स्थविर आजु, सम्यक महोत्सवको विधि विधान अनुसार कार्य सम्पन्नगर्ने मूल आचार्य गुरु र उपाध्यय गुरु लगायत भक्तपुर नगरभित्र स्थापित परम्परागत बहाहरुका संघ सदस्य शाक्य बज्राचार्यहरुलाई निमन्त्रणा गरि दान गरिन्छ ।
सम्यक महादान पर्वमा दान गर्ने वस्तुहरु निम्न अनुसार छन् ः
गेडागुडीको परिकारहरु ः १. गोमाय्, २. बालामाय्, ३. ह्याउंमाय्, ४. गोमू, ५. कसू, ६. तुइमुस्या, ७. मस्यांचा, ८. जरिग्व, ९. कोल, १०. भुति
सागसब्जीहरु ः १. इकंचा, २. मिच, ३. म्हुकं, ४. चिम्हुकं, ५. वाकंचा, ६. सकिमुग, ७. स्वांचा, ८. कलांचा, ९. आमलि, १०. कछें, ११. कच, १२. सिमल, १३. पाछैचा, १४. मिच
मिठाई ः १. लड्डू, २. पुरि, ३. घ्योचाकू, ४. पंचपकुवान, ५. चतामरि दुई वटा, ६. माय् व एक वटा
फलफूल ः १. देलचा, २. बल, ३. सतबेल, ४. अम्ब, ५. चयपि, ६.खयपि, ७. तु
धौ दुरु ः १. धौ, २. दुरु
मिठाई ः मसिप्वः
यी माथि उल्लेखित सबै परिकार राखी सकेपछि ती राख्न जाने लकमिहरुलाई विहार भित्र घ्योचाकू राखेर पालु भोजन गराईन्छ ।

पर्वलाई थप व्यवस्थित र निरन्तर सञ्चालका लागि गर्नु पर्ने प्रयास

१. नेपालको एक विशुद्ध बौद्ध संस्कृतिको रुपमा रहेको यस भक्तपुरको थथुबही परिसर (भूइख्य)मा सम्पन्न हुने सम्यक महादान पर्वलाई मौलिक संस्कृतिको रुपमा स्थापित गरी स्थानीय निकाय एवं सम्बन्धित वर्गबाट राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा समेत व्यापक प्रचार प्रसार गर्नु पर्दछ ।
२. पांच दीपंकर बुद्धहरुलाई अग्यानतावस पांच पाण्डव भन्ने गरिएकोमा त्यसको वास्तविक ऐतिहासिकता जनमानसमा प्रचार प्रसार गर्नु पर्दछ ।
३. सम्यक महादान पर्व आयोजना हुने स्थल भक्तपुर नपा वडा नं. १ दुधपाटी स्थित थथुबही र थथुबही परिसर (भूइख्य) ऐतिहासिक सम्पदा भएको कारणले गर्दा उक्त सम्पदाको संरक्षण, सुरक्षण र सरसफाईमा सबै क्षेत्र जिम्मेवार हुनु पर्दछ ।
४. सम्यक महादानको दिन पञ्चदान लिने र दिने परम्परागत विधिलाई थप व्यवस्थित बनाइनु पर्दछ ।
५. सम्यक महादानको परम्पराको नियमिता र व्यापकताका लागि सम्यक विधिको लेखन र प्रकाशन गर्नुपर्ने देखिन्छ ।
६. भक्तपुरको दीपंकर बुद्धहरु एवं विहारहरु हजारौं वर्ष देखिको सम्पदा रहि आएको हुनाले यसको सुरक्षा गर्नको लागि नेपाल सरकारले नै विशेष ध्यान दिनुपर्ने देखिन्छ ।
७. नेपालको बौद्ध धर्म परम्परानुसार चुडाकर्म गरिसकेका संघ सदस्यहरुले शील समाधि प्रज्ञालाई बुझि त्यसको अभ्यासमा निरन्तर लाग्न अभिप्रेरित गर्नु पर्ने देखिन्छ ।




...

All Comments.......


Please Login/Register To Comments