गाईजात्रा पर्वलाई सामान्य औपचारिकतामा सीमित
साउन १५, २०७७, बिहीबार | विहान ०८:४१ बजे | 5
भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा गाईजात्रा २०७७ सञ्चालन र व्यवस्थापनबारे जात्रासँग सम्बन्धित सरोकारवालाहरूबीच बैठक मंगलबार नगरपालिकाको सभाकक्षमा सम्पन्न भयो ।
बैठकले विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोग हालका दिनमा काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानहरूमा समुदायस्तरमा संक्रमण देखि थालेको तथा नेपाल सरकारले वीरगञ्ज, राजविराज, विराटनगरलगायतका सहरहरूमा निषेधाज्ञा र काफ्र्यु समेत घोषणा गरिएको अवस्थामा रोग संक्रमणको संवेदनशील परिस्थितिलाई मध्यनजर गरी नजिकिंदै गएको गाईजात्रा पर्वलाई सामान्य औपचारिकतामा सीमित गर्न सर्वसाधारण जनता एवम् सरोकारवाला पक्षहरूलाई आग्रह गर्ने निर्णय ग¥यो ।
सर्वसाधारण जनताको जीवन थप कष्टकर नबनाउन नेपाल सरकारले लकडाउनको स्वरुप परिवर्तन गरी केही खुकुलो मात्र पारेको बताउनुहुँदै प्रमुख प्रजापतिले सबैले आ–आफ्नो क्षेत्रमा जात्रालाई औपचारिकतामा सीमित गर्नको लागि आग्रह गर्नुभयो ।
नगरपालिकाका उपप्रमुख रजनी जोशीले कोभिड १९ को असहज परिस्थितिमा रोगको संक्रमणको रोक्न जात्रालाई सामान्य रुपमा मनाउनुपर्नेमा जोड दिनुभयो ।
बैठकमा भैरवनाथ जात्रा सहयोग समितिका न्हुछेराम भेले र शिवराम किजु, आकाशभैरव नौबाजा समूहका ज्ञानेन्द्रमान कायष्ठले भक्तपुर नगर भौगोलिक रुपले सानो नगर भएको हुँदा जात्राको समयमा रोगको संक्रमण फैलिने खतरा भएको हुँदा जात्रालाई औपचारिकतामा सीमित गर्नुपर्नेमा जोड दिनुभयो ।
बैठकमा भक्तपुर नगरपालिकाका कार्यपालिका सदस्यहरू, भैरवनाथ जात्रा सहयोग समिति, नौ दाफा भजन समूह, पुलां दाफा भजन, लाकोलाछेँ दाफा भजन, चपाल दाफा भजन, भैरवनाथ जात्रा सहयोग समिति, बाराही जात्रा संरक्षण समिति, दत्तात्रय मन्दिर संरक्षण समितिलगायतका प्रतिनिधिहरूको सहभागिता रहेको छ ।