भक्तपुर ग्रिलको साधारणसभा सम्पन्न ः इको प्यानलको प्रयोगमा जोड
भक्तपुर । ग्रिल तथा स्टील व्यवसायी संघ भक्तपुरको नवौं वार्षिक साधारणसभा शनिबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाका वक्ताहरुले छिटो निर्माणका लागि इको प्यानलको प्रयोगमा जोड दिए । ग्रिल तथा स्टिल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष मोहन कटुवालले भूकम्पपछिको तीव्र पुननिर्माण आवश्यक भएको बताए । जसरी भए पनि भूकम्पले क्षति पुगेका भौतिक संरचनाको पुननिर्माण यथाशक्य छिटो हुनुपर्नेमा उनले जोड दिए । त्यसका लागि छिटो निर्माण सम्पन्न गर्न सकिने निर्माण सामाग्रीहरुको प्रयोग उपयुक्त हुनसक्ने उनले बताए । तीमध्ये इको प्यानल पनि एक भएको उनले सुनाए ।
नयाँं प्रविधि भित्राउन सरकारले केही सहुलियत दिनुपर्ने खाँंचो उनले औंल्याए । उनले फलामजन्य वस्तुको अनियन्त्रित मूल्यबृद्धिलाई नियन्त्रण गर्न पनि सरकारको ध्यानाकर्षण गराए ।
नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले इको प्यानल तीव्र पुननिर्माणको पर्याय भएको बताए । इको प्यानलको प्रयोगबाट तीव्र पुननिर्माण सम्भब हुने उनले बताए । कार्यक्रमका सभापति एवं आयोजक संघका अध्यक्ष इश्वरबहादुर खड्काले फलामजन्य वस्तुमा काम गर्ने व्यवसायीहरुको विविध समस्याबारे चर्चा गरे ।