आज योमरी पुन्ही


2021-12-19 01:54:11

News Image

घरघरमा योमरी (मनपर्ने रोटी) पकाएर देशभरका नेवार समुदाय आइतबार योमरी पुन्ही (पूर्णिमा) मनाउँदै छन् । नेपाल भाषामा यो को अर्थ मनपर्ने र मरी को अर्थ रोटी हो । यस अर्थमा योमरीको अर्थ मनपर्ने रोटी हो ।
प्रत्येक वर्ष मंसिर शुक्ल पूर्णिमाको दिन एक प्रकारको रोटी योमरी खाएर देशभरका नेवारहरु योमरी पुन्ही मनाउँछन् । चामलको पिठोबाट बनेको एक प्रकारको रोटीभित्र चाकुको झोल राखी योमरी बनाइन्छ ।  
योमरी खाने दिन भएकाले यो पर्वका दिन नेवार समुदायका महिला आ–आफ्नो घरमा सबेरै उठेर योमरी पकाउँछन् । योमरीका साथ भोज खाँदा नियमित जस्तो भोजन गर्ने चलन छैन । यो दिन नियमितजस्तो खाना खान नहुने विश्वास छ । त्यहीअनुसार यस दिन उनीहरु योमरीका साथ चिउरा, तरकारी, मासुलगायतका परिकारको भोज खान्छन् ।
नेवारहरु यो पर्वका दिन योमरी पकाएर खान्छन् । योमरी सबै नेवारहरुको मौलिक सांस्कृतिक पहिचान हो । काठमाडौं उपत्यकामा बाहुल्य रहेको नेवार समुदाय देशका ठाउँठाउँमा फैलिएका छन् । अझ विशेष गरी उनीहरु सहरी क्षेत्रमा छन् ।
पर्वका दिन नेवार समुदायको परिवारमा विशेष उल्लास हुन्छ । यस क्रममा घरका महिलाहरु सबेरै उठेर नुहाइधुवाई गरी चोखो हुन्छन् । साथै, बालबालिकाहरु यो दिन मिठोमसिनो खाई रमाउँछन् ।
एक दिनमै यो पर्व सकिंदैन । पर्वको चार दिनपछि विवाहिता छोरीहरु बोलाई सबैलाई लक्ष्मीको प्रसादको रुपमा योमरी बाँडिन्छ । पर्वको चार दिनपछि छोरीबेटीलाई बोलाएर योमरीका साथ भोज खुवाउने चलन अहिले पनि नेवार समुदायमा जस्ताको त्यस्तै छ । पर्वका दिन उनीहरु योमरी खाने, बाँड्ने र पूजा गर्ने चलन छ ।
संस्कृतिविद् ओम धौभडेलका अनुसार वर्षको सबैभन्दा लामो रात पनि यही समयमा पर्छ । योमरी बनाउँदा योमरीको चुच्चो जति लामो हुन्छ, त्यो रातको समय त्यत्तिकै लामो हुने भनाइ धौभडेलको छ । त्यस्तै योमरीको सम्बन्ध मौसमसँग पनि जोडिएको उनी सुनाउँंछन् । नेवार संस्कृतिमा नयाँ घर बनाइसकेपछि छानाबाट योमरी गुडाउने चलन पनि यद्यपि छ । साथै यहाँका धरोहरको रुपमा चिनिने मठमन्दिर, देवालय, शिवालय बहाबहीको वर्षबन्धनको दिन छानाबाट योमरी गुडाउने गरिन्छ ।


के हो योमरी ?
योमरी चामलको पीठोबाट बनाइने विशेष प्रकारको रोटी हो । चामलको पिठोलाई मनतातो पानी हालेर मुछी विशेष आकारमा योमरी तयार गरिन्छ । पानीको बाफबाट यसलाई उसिनेर पकाइन्छ । योमरीभित्र चाकु राखिएको हुन्छ । कसैले यसमा चाकु र तिलको मिश्रणसहित खुवा, मुगींको लिटो आदिले त्रिकोण आकारमा बनाइन्छ । वर्षको पहिलो धानबाट चामलको पिठो तयार गरी योमरी बनाइन्छ । मंसिरमा काटेर भित्रयाइएको धानको चामललाई पिठो बनाएर योमरी बनाउने चलन छ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *