बालाचतुर्दशी : देशभरका शिवालयमा भक्तजनको भीड


मंसिर १७, २०७८, शुक्रबार | विहान ०३:४० बजे | 5


बालाचतुर्दशी : देशभरका शिवालयमा भक्तजनको भीड

काठमाडौं । बालाचतुर्दशी मनाउन आज बिहानैदेखि देशभरका शिवालयमा हजारौं भक्तजनको भीड लागेको छ। हरेक वर्ष मंसिर कृष्ण पक्ष चतुर्दशीका दिन बालाचतुर्दशी मनाउन पशुपतिसहित देशभरका शिव मन्दिरमा भीड लागेको हो।

त्रयोदशीका दिन हिजो बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्छन्। उनीहरु हिजो बेलुकी दिवङ्गत पितृका नाममा दीपदान गरेर रातभर जाग्राम बसेका हुन्छन्।

मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो।

माता पिता दिवङ्गत भइ एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नु नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष डा. रामचन्द्र गौतमले बताए।

आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै १०८ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, पशुपति, मृगस्थली, विश्वरूप र किराँतेश्वर लगायतका ठाउँमा शतबीज छर्ने गरिन्छ। आजको दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरे बराबरको पुण्य मिल्ने धार्मिक विश्वास छ।

Comments