रुपान्तरण
असोज १, २०७८, शुक्रबार | विहान ०१:१५ बजे | 20
अनन्तराज बज्राचार्य
काठमाडौंमा बसोबास गर्दै आइरहेका एक परिवारलाई घरको काममा सघाउन एकजना मानिसको खोजी भैरहेको थियो। कामको शिलशिलामा म चितवन जाँदै थिएं। यो थाहा पाएर मलाई कोहि काठमाडौंमा आएर काम गर्न इच्छुक भए खोजिदिन आग्रह भयो। “मासिक केही पारिश्रमिक दिएर पढ्न पनि खर्च गरिदिउंला। जसरी भएपनि कोहि छ भने खोजिदेउ न है, साह्रै गाह्रो भो,” उनी भन्दै थिए। उनको परिवारमा वृद्धवृद्धा मात्र भएकोले आग्रहलाई अस्विकार गर्न सकिन।
चितवन पुगेर भूपेन्द्र दाइसंग भेट भयो। “समूदायमा धेरैजसो परिवारको आर्थिक अवस्था त्यति राम्रो छैन,” भूपेन्द्र दाइ भन्दै थिए । “धेरैले ऋण नै गरेर पनि खाडीमा पठाएका छन् र उताबाट आएको पैसाले ऋण तिर्ने र घर खर्च चलाउने गरेका छन्। पाउन मुस्किल छ।” तैपनि कोहि भए बुझि हेर्ने वाचा गर्नु भयो र हामी छुटियौं।
चितवनको गर्मी, दिनभरको काम पछि होटल छिरेको मात्र थिएं। मोबाइलको घण्टी बज्यो। अपरिचित नम्बर थियो। मैले हल्लो भन्न नपाउँदै उताबाट अपरिचित महिला आवाज सुनियो। “सर नमस्कार। काम गर्ने मान्छे खोज्नु भा को हो? मलाई कामको एकदम खाँचो छ।” मैले केही भन्न नपाउँदै उताबाट भटटट सबै भन्न भ्याए। उनको आवाजमा एक किसिमको उत्साह थियो, काम मिलिहाल्ला कि जस्तो आशा भएको मैले पाएं।
मैले बिस्तारै आफ्नो कुरा सुरु गर,ें “को बोल्नु भो हजुर?”
“म सरिता कुमारी बिक।”
“अनि मेरो नम्बर कहाँबाट पाउनु भो त?” मैले ५–७ जनासंग कुरा गरेको थिएं।
“सर, मैले भूपेन्द्र सरलाई कामको लागि भनिरहेको थिएं। उहाँले नै भन्नु भएको ....”
“ए ....ठिक छ ... घरमा को को हुनुहुन्छ तपाइँको?”
उनको घरमा आमा बुबा सहित उनी आफै गरि तिनजना बस्नु हुँदो रैछ। मलाई उनको घरको अवस्था पनि एक पटक हेरुं जस्तो लाग्यो।
“म भूपेन्द्र सरसगै तपाईंको घरमा आउँछु है, अनि कुरा गरौंला ...,” मैले भने । म चाँडै कुरा टुंग्याएर फ्रेश हुन चहान्थें ।
“सर, मलाई कामको साह्रै खाँचो छ। जसरी भएपनि काम मिलाइ दिनोस्। घरमा बुबा ....” उनी रोकिने वाला थिएन । मैले उनको कुरा बिचैमा काटें ।
“हुन्छ बहिनी, म घरमा आएर भेट्छु। बुबा आमा पनि भेटौंला अनि कुरा गरौंला नि है।” मैले कल एण्ड गरें।
अर्को दिन बिहान भूपेन्द्र दाइसंग सरिताको घर पुगें। बाटो छेउ ऐलानी जमिनमा लहरै बनेका स–साना घर अनि झुपडी बिच सरिताको पनि एक तल्ले सानो घर थियो। माटोले बनेको खरले छाएको भान्छा सहित दुई कोठे घर । हेर्दा चिटिक्क! भूपेन्द्र दाइलाई देख्ने बितिकै राम दाइ दुई हात जोडेर घर बाहिर आउनु भो। “रामबिलास दाइ, ठिक छ नि!” भूपेन्द्र दाइले हालचाल बुझ्नु भो । संगै बिसुन्ती दिदी बस्नको लागि मुडा लिएर आउनु भो । “सर, नमस्ते! आज कताबाट आउनु भो!” घर बाहिर पिंढिमा मुडा राख्दै दिदिले हामीलाई बस्न भन्नू भो। राम दाइ र बिसुन्ती दिदी पिंढी मै थुचुक्क बस्नु भो। “अनि दाइ, कसरी चलिरा’छ त घर?” भूपेन्द्र दाइले कुरा सुरु गर्नु भयो । “खै सर के भन्नू! उस्तै त हो नि!”राम दाइको आवाजमा निरासता झल्केको थियो। ऋण गरेर लिएको इलेक्ट्रीक टेम्पोको किस्ता तिर्न पनि नसकेर हैरान भएका राम दाइ त्यो बेचेर अरु नै केही काम गर्ने सोचमा रहेछ तर के गर्ने उनलाई थाहा थिएन। बिसुन्ती दिदी सहरमा अरुको घरमा लुगा धुने अनि घरायसी काम गरेर केही आम्दानी गर्नु हुँदो रैछ। टेम्पोबाट खासै आम्दानी भैरहेको रहेनछ। “अनि के छोरीलाई काम गर्न काठमाडौं पठाउने भन्नु भा को हो?” भूपेन्द्र दाइले सोध्नु भयो।
“राम्रो ठाउँ भए त पठाउने नि सर,” भूपेन्द्र दाइको कुरा सकिन नपाउँदै बिसुन्ती दिदिले भन्नु भयो। “अझ नानीले पढ्न पनि पाउने भए हुन्थ्यो।”“सरिताले कतिसम्म पढेको छ त?” मैले सोधें ।
सरिताले एसइइ पास गरेकी रहिछन् । तर त्यसपछि क्याम्पस पढ्न खर्च गर्न नसकेपछि उनले पढाइ बिचैमा रोक्नु परेको रहेछ।
हामी कुराकानी गर्दैगर्दा सरिता तरकारी लिएर आइपुगिन्। “नमस्ते सर! तपाईहरु आइपुगि सक्नु भा को रैछ।” हँसिली सरिता हामीलाई देखेर खुसी भइन्। “म चिया बनाएर ल्याउँछु।”सरिता भित्र गइन् र केही समयमा नै चिया लिएर आइन्। आफु पनि आमासंगै टुसुक्क बसिन् ।
कुराकानी कै क्रममा हामीले बिचारै नगरेको कुरा सरिताले उठाइन्। “सर, काठमाडौंमा गएर काम गर्न पाए त हामीलाई धेरै सजिलो हुन्थ्यो। तर एउटा कुरा सोध्न मन लागेको । सोधुं कि नसोधुं भा छ ।”
“भै हाल्छ । भन्नुस् न बहिनी ..” मैले भने ।
सरिताले आफ्नो मन भित्रको डर पोखिन्, “सर, हामी त पासवान । काठमाडौंमा फेरि जातभातको कुरा पो गर्ने हो कि!”
सरिताको यो कुरा सुनेर म अवाक् परें।
सरिता र उनको परिवार यो समाजमा प्रतिनिधि पात्र मात्र हुन् । हाम्रो समाजमा यस्ता धेरै परिवार छन् जो सामाजिक र आर्थिक कारण एक किसिमको डर लिएर बाँच्न बाध्य छन्। मलाई लाग्छ सरिताको मनको त्यो डर समाजमा बिद्यमान जातिय भेदभावको कारण मात्र होइन। सरिताले इच्छा भएर पनि आफ्नो उच्च शिक्षा अगाडि बढाउन नसक्नु, पैसा नै नभएर राम दाइले कुनै आयमूलक कामको बारे बिचार गर्न नसक्नु अनि बिसुन्ती दिदी जस्ता आमाले आफ्ना हुर्केकी छोरीको पढाईको लागि भन्दा पनि घर चलाउन छोरीलाई अर्कार्को घरमा काम गर्न पठाउन बाध्य हुनु सबै सरिताको परिवारको दयनिय आर्थिक अवस्थाको उपज हो। सरिताको लागि आर्थिक अभावको समस्या एकातिर थियो भने अर्को तिर ससम्मान समृद्ध जीवन बाँच्ने चाहाना! यसको समाधानको लागि त्यस्ता परिवारलाई आर्थिक रुपमा नै सशक्त बनाउनु पर्छ जस्तो मलाई लाग्छ।
अहिले सरिता काठमाडौंमा होइन, आफ्नै गाउँमा छिन्। काठमाडौंमा नगएर त्यो बेला पाएको आर्थिक सहयोगले सुरु गरेको सानो ब्यवसाय बढेर राम्रै आम्दानी गर्ने भैसकेको छ। उनको माटोले लिपेको खरले छाएको घरको स्वरुप परिवर्तन भैसकेको छ। राम दाइ पनि छोरी सरिता कै ब्यवसायमा ब्यस्त छन् भने इलेक्ट्रीक टेम्पोलाई स्कुटरले प्रतिस्थापन गरिसकेको छ। सबैभन्दा ठूलो कुराअहिले सरितालाई जात कै कारण कसैले हेला गर्छ जस्तो लाग्दैन । उनको मनको डर हटिसकेको छ। आर्थिक रुपमा सबल र सक्षम भएपछि समाजमा छुट्टै पहिचान रहने उनको अनुभव रहेको छ। अतः मेरो बिचारमा आर्थिक रुपान्तरण बिना समाजको रुपान्तरण सम्भव छैन।