दशैदेखि एपेक्स मल र सिनेमा हल संचालनमा आउने
भदौ ३१, २०७८, बिहीबार | विहान १०:३८ बजे | 20
बिराज अधिकारी
तनहुँको दमौलीमा सुविधासम्पन्न मल निर्माण सम्पन्न भएको छ । एपेक्स मल्टिप्लेक्स प्रालिले जिल्लाको व्यास नगरपालिका–२ स्थित सफासडकमा एपेक्स मल निर्माण गरेको हो ।
आगामी दशैदेखि मल र सिनेमा हल सञ्चालनमा ल्याउने तयारी गरिएको प्रालिका प्रबन्ध निर्देशक गणेश श्रेष्ठले जानकारी दिए ।
कोरोना कहरका कारण केही समय अगाडी नै सञ्चालनमा ल्याउने तयारी गरिएको मल संचालन हुन सकेको थिएन ।
रु ४५ करोडको लगानीमा अत्याधुनिक सेवा सुविधा सहित एउटै छानामुनी किनमेल, मनोरञ्जन, खानपिनको सुविधा र डिजिटल प्रविधियुक्त सिनेमा हल सञ्चालनका लागि मल निर्माण गरिएको श्रेष्ठले जानकारी दिए ।

काठमाडौ र पोखराको सेवा सुविधा दमौलीमै दिनको लागी मल संचालन गर्न लागिएको प्रालिले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।
अबदेखि सुविधा सम्पन्न हलमा फिल्म हेर्न दमौली बाहिर जानु नपर्ने प्रालिले जनाएको छ ।
मलमा दुई वटा सिनेमा हल समेत निर्माण गरिएको छ । जसअन्तर्गत दुई सय ३८ र एक सय २० सिट क्षमताका छुट्टाछुट्टै हल तयार गरिएको छ ।
तेस्रो तलामा सेवा मुलक संघ संस्थालाई प्राथमिकता दिने समेत प्रालिले जनाएको छ ।
एयर कन्डिसनयुक्त, सिसिटिभीको निगरानीमा २४ सै घण्टा सुरक्षागार्डको उपस्थितिमा साताभरि नै मल सञ्चालन गरिने प्रालिका व्यापार प्रमुख सुशील न्यौपानेले जानकारी दिए ।
कुल ४५ पसल क्षमताको मलमा हाल बुकिङ खुल्ला गरिएको छ । त्यसमध्ये १५ प्रतिशत बुकिङ भइसकेको छ ।
मलको तल्लो तल्लामा ११ वटा पसल रहेको छ । जहाँ स्वदेशी तथा विदेशी ब्राण्डका सामग्री विक्रीवितरणको व्यवस्था मिलाइनेछ ।
पसल बुकिङ गर्नेहरुका लागि पहिलो २ महिनासम्म पसल सजाउने तयारीका लागि पूर्ण भाडा छुट, तेस्रो महिनादेखि छैठौ महिनासम्म ४० प्रतिशत, सातौदेखि १२ औ महिनासम्म ३० प्रतिशत, १३ औं देखि १८ औ महिनासम्म २० प्रतिशत भाडा छुट र तीन वर्षसम्म एक रुपैयाँ पनि भाडावृद्धि नगरिने प्रालिले जनाएको छ ।
स्थानीय २०–२५ जनालाई रोजगारी समेत दिने प्रालिले जनाएको छ ।