आज सानो दशैँको रूपमा मनाउने चथा पर्व
नेवार समुदायले आज सानो दशैँको रूपमा लिइने चथा पर्व मनाउँदैछ । हरेक वर्ष भाद्र शुक्ल चौथीका दिन बेलुका चन्द्रमालाई पूजा गरेर चथा मनाउने गरिन्छ ।
यो दिन चन्द्रमा र्हेयो भने चोर दोष लाग्छ भन्ने जनविश्वास रहेको छ । टोल टोलमा बेलुका कुकुर भुक्न थालेपछि कौसीको कुनामा लिपपोत गरेर कमलको पात बिछ्याएर कमलको फूल, चथास्वां, अदुवाको विरुवा, आरुको बियाँ लगायत विभिन्न भुटेका गेडागुडी, समयबजी, लगायत चढाएर चन्द्रमालाई पूजा गर्ने गरिन्छ ।
यो दिन पानी र्पयो भने दशैँमा पनि पानी पर्ने जनविश्वास रहेको छ । त्यस्तै चथा जुन बार पर्दछ, दशैँको महानवमी र नेपाल संवतको नयाँ वर्ष पनि त्यही बार पर्दछ ।
आजै गणेशको जन्म भएको विश्वासमा गणेश चौथी पनि मनाइन्छ । बिहानैदेखि विभिन्न गणेश मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । उपत्यकाका सूर्यविनायक, कार्यविनायक, चन्द्रविनायक, जलविनायक, कमलादी गणेशको मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । कुनै पनि शुभ कार्य सुरु गर्नु भन्दा अघि गणेशको पूजा गरेमा काम सफल हुने विश्वासमा गणेशको पूजा गर्ने चलन छ । यो वर्ष पात्रोमा भाद्र २५ गते चतुर्थी तिथि उल्लेख गरे अनुरूप चथा पर्व मनाइँदैछ । तर चथालाई परम्पराको रूपमा स्वीकार गरिएको भएर हरितालिका तीजको भोलिपल्ट मनाउनुपर्नेमा स्थानियको जोड छ ।
चथा सम्बन्धिको किंवदन्ती
चन्द्र भगवानले भुँडीवाल गणेशको रूपलाई लिएर खिसी गर्छन् । सोही कुरालाई लिएर गणेश भगवान रिसाएर चन्द्र भगवानलाई चोर दोष लाग्ने श्राप दिन्छन् । श्राप पश्चात् चन्द्र भगवानले गणेशप्रति खिसी गरेकोमा गल्ती महसुस गरि माफ गरिदिन आग्रह गर्छन् । गणेशले पनि उदार भएर ञलाथ्व चतुर्थी अर्थात आजकै राती बाहेक अरूदिनको चोर दोषबाट मुक्त हुने गरि श्राप फिर्ता गर्छन् । त्यहि भएर आज विशेषगरी चोर दोष तथा अन्य दोषहरूको मुक्तिको कामना गरि गणेश र चन्द्र भगवानको आराधना गरिन्छ । आजको राती उडाउँदो चन्द्रसँगै घरघरमा लुक्नुपर्ने परम्परा छ । यो परम्परा मध्यपुरमा अझै छ ।