किन मनाइन्छ कुशे औशी ?
भक्तपुर । भाद्र कृष्ण औशी (गुँलागा औशी) का दिनलाई कुशे औशी भनिन्छ । यस दिनमा विधीपूर्वक कुश काट्ने र आफ्नो तथा जजमानको घरमा पुर्याउने गरिन्छ । कुश घरमा राख्नाले परिवारको कल्याण हुने, सुख, शान्ति, मिल्ने धार्मिक विश्वास रहिआएको छ । तसर्थ यसदिनलाई कुशे औशी भनिन्छ । कुशे औशीलाई पितृ तर्पण औशी वा गोकर्ण औशी पनि भनिन्छ ।
यसदिन बाबु नहुनेहरूले काठमाडौँको उत्तरपूर्वी भेगस्थित वाग्मती, चन्द्रमती र सूर्यमती नदीका संगमस्थलस्थित गोकर्णेश्वर उत्तरगया पितृ तीर्थमा गई बाबुका नाममा तर्पण र श्राद्ध गरी सिदा दानसमेत गर्ने गर्छन् । यसका साथै रसुवाको बेत्रावती, तनहुँको देवघाट, सुनसरीको विष्णुपादुका तथा बराहक्षेत्र लगायतका पवित्र तिर्थस्थल पुगेर स्नान गरी पितृहरूको नाममा श्राद्ध गरी तर्पण दिई दान दिने पनि गर्दछन् ।
बुबा हुनेहरुले आजको दिन आफ्नो बुबालाई मनपर्ने खानेकुरा, फलफूल, मिठाई, बस्त्र दिएर आफ्नो बुबालाई खुशी बनाई आशिष लिने गर्दछन । विशेष गरि बिबाह भएका चेलीहरु बर्षौ देखि आउन नपाएको आफ्नो माइती सम्झेर बुबाको मुख हेर्न आउने गर्दछन । यसदिन बुबा नभएकाहरुले बिहान देखि नुहाई तर्पण गर्ने, सिदा दिने, श्राद्ध गर्ने गर्दछ्न भने बुबा भएकाहरुले भने नुहाउनु हुन्न भन्ने मान्यता रहि आएको छ । (किंवदन्तीमा भक्तपुर)