सिन्धुपाल्चोक
भदौ १७, २०७८, बिहीबार | दिउँसो ०३:११ बजे | 30
पदम दाहाल
कहिले नदी थुनेर जुरेले ताल बनाउँछ
ल्याएर भुकम्पको उफान कहिले थिलथिलाउँछ
उर्लिएर मेलम्ची कहिले लाखापाखा लाउँछ
बाढी पठाएर हेलम्बुले
एउटा सुन्दर बस्ती हिंडाउँछ ।
०........ंं........०..................०
सिध्याउँछ श्रीसम्पत्ति
समाधिस्थ गराउँछ प्राणधारीलाई
निस्पट्ट रातको समय छोपेर
चर्किन्छ बस्तीभरि एउटा चीत्कार
चिलबिल, व्यग्रता र हाहाकार
भत्काएर उज्यालो दिनको आशा
भोगाइरहेछ जघन्य प्रताडना
दुर्दान्त अपशकुन सहितको रिक्तता
बदलिन्छ अनासक्त र खिन्नतामा ।
०.................०...................०
हुँडलिन्छ एक्कासि स्वच्छ आकाश
र भित्र्याइन्छ कहिल्यै नसोचेको दुर्दिन र अत्यास
भोगाउँछ मन मुटुमा असिनापात
हुनै नपर्ने नहुनुपर्ने
खपिरहेछ त्रासद निरीह सिन्धुपाल्चोक
भोगिरहेछ यातना भोगाइरहेछ वेदना
वासिन्दाउपर किन खनिरहेछ खोइरो ?
फेरिरहेछ कसैले बारम्बार रीस कि आक्रोश ?
किन थप अझ मान्छे बनिरहेछ लावारिस ?