यथार्थमा आधारित एक कथा


भदौ १६, २०७८, बुधबार | विहान ०८:५१ बजे | 25


यथार्थमा आधारित एक कथा

डा इन्दुल केसी
आजभन्दा ५२ वर्षपहिले २०२६ सालमा एक दिन मेरो परिवारमा घटित घटना आज २०७८ भाद्र १६ गते याद आयो । उक्त घटनाबारे आज सम्झनामा जे आयो, त्यो एक यथार्थ हो । यसमा कुनै काल्पनिक या आधारहीन कुरा छैन ।
भक्तपुर नगरपालिका वडा नं. ४ मङ्गलाछे टोल जहाँ म जन्में, हुर्के, त्यही घरबाट २०२४ साल आषाढ महिनामा टोलका छरछिमेकी, दाजुभाइ, इष्टमित्र सबैलाई वरियातका रूपमा लगी ललितपुर मानभवनका ब्रिगेडियर जनरल श्री लक्ष्मीशमशेर जङ्गबहादुर राणाकी जेठी छोरी सुश्री सावित्री राणालाई हिन्दूसंस्कारअनुसार कन्यादान मागी विवाह गरी श्रीमतीका रूपमा मेरो घरमा प्रवेश गराएको थिएँ । तिनैको कोखबाट मेरी पहिली पुत्री रजनी केसी (हाल केसी मानन्धर) जन्मेकी थिइन् र एक वर्षको मेरो छोरो उज्ज्वल केसी, ७१ वर्षकी मेरी आमा शेरकुमारी तथा मेरा सहोदर भाइ बलराम केसीसमेत जम्मा ६ जनाको निम्न आर्थिक अवस्थाको मेरो परिवार थियो ।
एक दिन एकाबिहान सबेरै मेरी श्रीमतीलाई अति रक्तस्रावका कारणले फुस्रो, नीलो, बोल्नलाई पनि कठिन स्थितिमा ऐया–ऐया भनी छट्पटाइरहेको मैले पाएँ । घरवरिपरिका छिमेकी दिदी र भाउजूहरूलाई सहयोगको याचना गर्दै घटनाको विवरण सुनाउन पुगें । तत्काल त्यस बेला भेला हुन आउनुभएका तीनचारजना महिलाको सल्लाहअनुसार मेरी श्रीमतीलाई अस्पताल लैजानुपर्ने अन्यथा ज्यानको जोखिम हुने जानकारी पाएँ । आमाबाट ‘बाबु ! तुरुन्तै तिम्री दुलहीलाई अस्पताल लैजाउ’ भन्ने आज्ञा पाएँ ।
झिसमिसे अलिअलि उज्यालो मात्र भएको त्यो समय म दौडेर इताछें टोलको देव दाइ बाटी, जसको चियापसलको व्यवसायका साथै आफ्नो सानो ट्याक्सी गाडी पनि आफैं हाँक्नुहुन्थ्यो । मैले तत्काल गाडीबाट मेरी श्रीमतीलाई अस्पताल पु¥याइदिन आग्रह गरें । उहाँले आफ्नो मुखसम्म पनि नधोई आफ्नो गाडी मेरो चोकछेउसम्म ल्याउनुभयो । अचेत अवस्थामा रहेकी मेरी श्रीमतीलाई त्यहाँ भेला भएका तीनचारजना महिला र म स्वयंले बोकेर गाडीसम्म पु¥यायौँ ।
देव दाइले तुरुन्तै गाडी भक्तपुर अस्पतालमा पु¥याउनुभयो । इमर्जेन्सी अवस्थामा रहेकी बिरामीलाई तत्कालीन मेडिकल डाक्टर त्रिभुवनानन्द वैद्यले जाँच्नुभयो, एउटा ग्लुकोज सलाइन दिनुभयो र मैले नजानेका केही औषधि पनि अस्पतालकै तर्फबाट पिलाउनुभयो ।
बिरामीको अवस्था केही सुधार भएको आभास मिल्यो । उक्त डाक्टरले मलाई ‘इन्दुल ! तिम्री श्रीमतीलाई रगत दिनुपर्ने आवश्यकता छ, तर यस अस्पतालमा रगत दिने व्यवस्था नभएको हुँदा तत्काल वीर अस्पतालमा लैजानू’ भन्ने सल्लाह दिनुभयो । साथै बिरामी वीर अस्पताल रेफरको पत्र पनि थमाउनुभयो ।
त्यो बेला रगत दिने भनेको के हो, रगत पाइने स्रोत के हो, सोसम्बन्धी जानकारी मसँग थिएन । त्यसैले मैले डाक्टरसँग रगत कहाँबाट प्राप्त गर्ने, पैसा लाग्ने–नलाग्ने, लागे कति लाग्ने भनेर सोधें ।
उहाँले मलाई बताउनुभयो – “त्यो मैले लेखेको रेफर पत्र लिएर त्यहाँको इमर्जेन्सी वार्डमा पु¥याउनू । तत्काल बिरामीको रगत जाँचिनेछ र सो समूहको रगत प्रति पिन्ट १२० रुपियाँमा किन्नुपर्नेछ ।”
मैले आफ्नो खल्ती छामेँ । मसँग त्यति बेला केवल ६० रुपियाँ मात्र थियो । त्यति रुपियाँले न त मैले बिरामीलाई काठमाडौँमा पु¥याउन सक्थें न त रगत किन्नलाई नै त्यो रकम पर्याप्त थियो ।
मैले लाजै नमानीकन डाक्टर त्रिभुवनानन्द वैद्यलाई भनें –“डाक्टर साहेब ! अहिले मसँग ६० रुपियाँ मात्रै छ । बिरामीको अवस्था गम्भीर छ । घरमा पुगी छरछिमेकीसँग सापटी लिने अवस्था पनि छैन । त्यसैले के तपाई नै मलाई केही रकम सापटी दिन सक्नुहुन्छ ?”
तत्काल डाक्टर साहेबले मलाई रु. ३००÷– सापटी दिनुभयो र भन्नुभयो – “ढिलो नगर्ने । बिरामीलाई सकभर छिटो वीर अस्पताल पु¥याउनू ।”
त्यो बेला भक्तपुर अस्पतालमा एम्बुलेन्सको व्यवस्था पनि थिएन । मैले श्रीमतीलाई अस्पताल लगेको देव दाई र उहाँको गाडी स्टयान्ड बाई नै थिए । देव दाईलाई मैले अनुरोध गरेँ मेरी श्रीमतीलाई छिटै वीर अस्पताल पु¥याइदिनोस् भनेर । उहाँले कुनै आनाकानी गर्नुभएन । मेरी श्रीमती र मलाई हुइँक्याएर देव दाईले आधा घन्टामा वीर अस्पतालको इमर्जेन्सी वार्डमा पु¥याउनुभयो ।
इमर्जेन्सी वार्डमा खबर गरेपछि त्यहाँका कर्मचारीले स्ट्रेचरमा राखेर मेरी श्रीमतीलाई भित्र पु¥याए । ड्युटीमा रहनुभएका डाक्टर र केही नर्सहरूले केके जाँच्नुभयो, केके गर्नुभयो, मलाई केही थाहा थिएन । त्यहाँ पनि अर्को सलाइन दिन थाल्नुभयो र “तपाईकी श्रीमतीको रगत ओ पोजिटिभ हो, त्यो समूहको रगत दुई पिन्ट तुरुन्तै किनेर ल्याउनुस्” भन्नुभयो ।
मलाई थाहा थिएन रगत पसल कहाँ छ । मेरो प्रश्नको जवाफमा ती नर्स बहिनीहरूले मलाई बताए – “त्यहाँ बाहिर जानुस् । यो कागज देखाएर ओ पोजिटिभको रगत चाहियो भन्नुस् । ओ पोजिटिभ रगत भएको व्यक्तिलाई भित्र लिएर आउनुस् ।”
नर्सको सल्लाहअनुसार म बाहिर गएँ र भनें – “यहाँ ओ पोजिटिभ रगत भएको को हुनुहुन्छ ?”
“म छु, म छु” भन्दै तीनचारजना मेरा अगाडि दौडदै आइपुगे । त्यसमध्येका दुईजनालाई भित्र लगेँ र मेरी श्रीमती रहेको बेडमा उभिएका डाक्टरको अगाडि पु¥याएँ । डाक्टरले नर्सहरूलाई “उहाँहरू दुईजनाको रगत जाँचेर मिलेछ भने एक–एक पिन्ट भिक्नुस्” भनेर अह्राउनुभयो । संयोगवश दुवैको रगत मेरी श्रीमतीको रगतसँग मिल्दो रहेछ । दुवैलाई शुल्क बुझाएँ । नर्सले दुवैको रगत झिके । तत्काल त्यो रगत मेरी श्रीमतीको शरीरमा एक–एक पिन्ट गरी चढाइयो । फेरि मलाई डाक्टरले झोल र तात्तातो दाल लिएर आउनुस् भनी अह्राउनुभयो ।
निर्देशनअनुसार मैले किनेर लगेको दाल नर्सहरूले चम्चाले मेरी श्रीमतीको मुखमा हाल्दै पिलाउनुभयो । समय यतिन्जेलसम्ममा बिहानको साढे नौ बजिसकेको थियो । डाक्टरले भन्नुभयो – “तपाईंकी श्रीमतीलाई अब यहाँ भर्ना गर्नुपर्छ । उहाँ खतरामुक्त भइसक्नुभयो । अब दिउँसोसम्ममा दुई पिन्ट रगत आवश्यक पर्न सक्छ ।”
त्यतिन्जेलसम्ममा डाक्टरले लेखिदिएका केही औषधि पनि मैले खरिद गरिसकेको थिएँ । मेरो खल्तीमा अब मसँग रु. २०÷– मात्र बाँकी थियो । नर्सहरूले मलाई भन्नुभयो – “तपाईसँग बिरामी कुर्ने अर्को मान्छे को छ ?”
मैले जवाफ दिएँ – “हाल मसँग कोही छैन । म एक्लै आएको । आवश्यक परे भक्तपुर गएर कुरुवा बोलाएर ल्याउनेछु ।”
नर्सहरूले भन्नुभयो – “तपाईं पीर नगर्नुस् । तपाईले मुख पनि धुनु भएको रहेनछ । अब हामी हेर्छौँ । गएर चियासिया खानोस् र गएर कुरुवा लिएर आउनोस् ।”
त्यतिखेर घरमा खबर गर्न फोनको व्यवस्था पनि थिएन । त्यसैले मैले मेरो भाइ बलरामलाई कुनै खबर गर्न पाइनँ । नर्स बहिनीहरूलाई मेरी श्रीमतीलाई म नफर्कुन्जेल स्याहार गर्न आग्रह गरेँ । सहयोगका लागि धन्यवाद दिएँ । नर्स बहिनीहरूले भन्नुभयो – “तपाईं धन्दा नमान्नुस्, निश्चिन्त भएर जानुस्, तपाईं नफर्कनुभएसम्म हामी हेरिदिन्छौँ ।”
म वीर अस्पतालबाट बाहिर निस्केँ । अस्पतालको बाहिर पेटीमा मेरा मित्र शाखा अधिकृत विदुर केसी सिंहदरबार कार्यालय जानका लागि हिँडदै आइरहनुभएको रहेछ । विदुरजीले मलाई सोध्नुभयो – “यति बेलासम्म कार्यालय नगई यहाँ किन इन्दुल ?”
मैले बिहानदेखिको घटनाक्रमलाई सङ्क्षिप्तमा सुनाएँ । “श्रीमती अस्पतालमा भर्ना गरिएको छ । तर मेरो खल्तीमा अब २०÷– रुपियाँ मात्र छ । के तपाईं केही रकम सापटी दिन सक्नुहुन्छ ?”
उहाँले मलाई आफ्नो गोजी छामछुम गरी रु. १००÷– दिनुभयो । विदुरजीलाई धन्यवाद दिँदै म रत्नपार्क नजिकको भक्तपुर बसपार्कमा आएँ र बस चढी भक्तपुरतिर लागेँ । मलाई याद छ त्यति बेला घरमा पनि मसँग अरू कुनै रकम जगेडा थिएन । सरासर टोलमा पुगी कपडा पसल चलाइरहेका मेरा मित्र शम्भुराम श्रेष्ठलाई सारा कथा सुनाएँ । तत्काल उहाँले मलाई सापटीस्वरूप रु. १०००÷– दिनुभयो । घरमा गएर मैले आमा र भाइलाई सम्पूर्ण घटनाको विवरण सुनाएँ । मुख धोई एक गाँस भात खाएँ । तत्काल मेरी भाउजू नाताकी एउटी महिलालाई लिएर इताछेंमा गई देव बाटीजीलाई गाडीको भाडा बुझाउन गएँ । उहाँले ’किन आजै दिनुपर्याे, भोलिपर्सि दिँदा पनि त हुन्छ’ भन्नुभयो । त्यसपछि भक्तपुर अस्पताल पुगी डाक्टर त्रिभुवनानन्द वैद्यको रु. ३००÷– पनि बुझाउन गएँ । उहाँले पनि ‘आजै किन, भोलिपर्सि दिए पनि त हुन्थ्यो इन्दुल’ भन्नुभयो र बिरामीको हालचाल सोध्नुभयो । सबै कुरो बताएँ ।
मेरी भाउजू र म तत्काल भक्तपुर बसपार्कबाट बस चढी वीर अस्पताल पुग्यौँ । इमर्जेन्सी वार्डमा पुगी हेर्दा मेरी श्रीमतीलाई देखिनँ । म अलिकति आत्तिएँ । बिहानका नर्सहरू पनि देखा परेनन् । उहाँहरू आफ्नो ड्युटी सिध्याएर गइसक्नुभएको रहेछ । मैले डयुटीमा रहेका नर्सहरूसँग बिहानदेखिको बेलिबिस्तार लगाएर सोधे । उनीहरूले मेरी श्रीमती अब जनरल वार्डमा सिफ्ट भइसकेको जानकारी दिए ।
तत्काल मेरी भाउजू र म मेरी श्रीमती रहेको वार्डमा पुग्यौँ । श्रीमतीलाई देखें । श्रीमतीको अवस्था बिहानको भन्दा निकै सुधारिएको, केही बोल्न सक्ने अवस्थामा पाएँ । अस्पतालकै बिहानको खाना खाइसकेकी रहिछन् । त्यहाँका नर्सहरूले मलाई पुनः अर्को चिट दिनुभयो । अर्को दुई पिन्ट रगत तुरुन्तै ल्याउने र बिरामीलाई तागतिला जुसहरू जे खुवाए पनि हुन्छ भन्नुभयो । मैले बिहानकै तरिकाबाट दुई पिन्ट रगत र केही जुस नर्सलाई उपलब्ध गराएँ । मेरी भाउजू र मैले बिरामी कुरुवाका रूपमा त्यस रात वीर अस्पतालमै बितायौँ । त्यस वार्डभित्र पुरुष बस्न नमिल्ने भएकाले त्यो रात मेरा वीर अस्पतालको बाटोमा राखिएको बेन्चमा बित्यो । चार दिन पछि हस्पिटलबाट डिस्चार्ज भएकी श्रीमतीलाई घर ल्याएँ ।
००००

Comments