नव कविता वाचनको दोस्रो शृङ्खला सम्पन्न
भदौ १५, २०७८, मङ्गलबार | विहान ०९:१९ बजे | 25
जीवनाथ अधिकारी
२०७८ भदौ १२, शनिबार नव कवितावाचन तेस्रो शृङ्खला कार्यक्रम भर्चुअल माध्यम जुमबाट सम्पन्न भयो । नेपाल प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव प्रा जगत्प्रसाद उपाध्यायको प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रमको आयाजना प्राञ्जल नेपाल तथा शब्दयात्रा प्रकाशन, भक्तपुर सम्पर्क केन्द्रले संयुक्त रूपमा गरेका थिए भने कार्यक्रमको संयोजन छन्द कविता मञ्चले गरेको थियो । प्राञ्जल नेपालका अध्यक्ष तथा शब्दयात्रा प्रकाशन, भक्तपुर सम्पर्क केन्दका संयोजक आचार्य डिल्लीराम गौतमको सभापतित्वमा सम्पन्न कविता वाचन कार्यक्रममा विशेष अतिथि शब्द यात्रा प्रकाशनका अध्यक्ष तथा वरिष्ठ साहित्यकार हरि मञ्जुश्री हुनुहुन्थ्यो भने सञ्चालन छन्द कविता मञ्चका संयोजक जीवनाथ अधिकारीले गर्नुभएको थियो ।
सो नव कविता वाचन कार्यक्रममा शास्त्रीय छन्द र मुक्त छन्दका सत्र ओटा कविता प्रस्तुत गरिएका थिए । कार्यक्रमको सञ्चालन जीवनाथ अधिकारीले सवाई छन्दबाट गर्नुभएको थियो ।
प्रमुख अतिथि उपाध्यायले सबै कविका कविताको सूक्ष्म टिप्पणी गर्दै शादूलविक्रीडित छन्दमा कवितासमेत सुनाउनभएको थियो भने विशेष अतिथि हरि मञ्जुश्रीले पनि अनुष्टुप छन्दको कविता सुनाउँदै सबै कविताको चर्चा गर्नुभयो ।
कविता वाचन कार्यक्रममा प्राञ्जल नेपाल, शब्दयात्रा प्रकाशन तथा छन्द कविता मञ्चका सदस्यहरूले कविता सुनाउनुभएको थियो भने अतिथि कविका रूपमा डिपी दाहाल मध्यमार्गी, प्रकाश खड्का र लालबहादुर भुजेलले पनि कविता वाचन गनुभएको थियो । अतिथि कवि डिपी दाहालले सारङ्गीको धुनसँगै पञ्चचामर छन्दको कविता वाचन गरी विशेष आकषर्ण थप्नुभएको थियो । कविता वाचनमा १. डा इन्दुल केसी (मुक्त छन्दमा) २. डिल्लीराम गौतम (अनुष्टुप छन्दमा) ३. जीवनाथ अधिकारी (मन्दाक्रान्ता छन्दमा) ४. निर्मला श्रेष्ठ (मुक्त छन्दमा) ५. पदम दाहाल ६. पुण्यवती घले (मुक्त छन्दमा) ७. प्रजापति तिमिल्सिना (गीति छन्दमा) ८. अतिथि कवि प्रकाश खड्का (मुक्त छन्दमा) ९.बिरजा घिमिरे (स्वागता छन्दमा) १०. विश्वनाथ बराल प्रेम (गीति छन्दमा) ११. सागर गुरागाईँ (मुक्त छन्दमा) १२. सुनिल सापकोटा (मुक्त छन्दमा) १३. अतिथि कवि डिपी दाहाल मध्यमार्गी (पञ्चचामर छन्दमा) १४. विशेष अतिथि हरि मञ्जुश्री (अनुष्टुप छन्दमा) १५. प्रमुख अतिथि जगत्प्रसाद उपाध्याय (शार्दूलविक्रीडित छन्दमा) सहभागी हुनुहुन्थ्यो ।
सबै कविका कवितामा समसामयिक विषयवस्तुभित्र राजनीतिक विसङ्गति, सामाजिक विद्रुपता, असन्तुष्टि तथा नव निर्माणाका लागि आह्वाहनजस्ता भाव समेटिएका थिए ।
आगामी चौथो शृङ्खला २०७८ भदौ २६ गते शनिबार साँझ ५ बजे सञ्चालन हुने छ ।