मैले चिनेका डा. इन्दुल केसी


भदौ १५, २०७८, मङ्गलबार | विहान ०९:१० बजे | 5


मैले चिनेका डा. इन्दुल केसी

पशुपतिमान पःमा
मेरो जीवनमा जति पनि साथीहरू छन, त्यसमध्ये भक्तपुर मङ्गलाछे टोलमा बस्नुहुने इन्दुल केसी पनि एक हुनुहुन्छ । उहाँसँग मेरो चिनजान आजभन्दा ५७ वर्षअगाडिदेखिको हो । त्यसो भनेको नेपाल सम्वत १०८३, विक्रम सम्वत २०२० सालदेखिको हो । हाम्रो पहिला भेट भएको ठाउँ सम्भवतः नेपालकै सबैभन्दा जेठो बोर्डिङ स्कुल त्रिभुवन आदर्श विद्यालयको स्वर्गको बगैंचा फर्पिङ हो ।
त्यस बेला त्यहाँका प्रिन्सिपल धरणीधर शर्मा कोइराला, संस्थापक सचिव सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्थ्यो । केसीजी धेरै अवधि त्यहाँ नबसी फर्कन लाग्नुभएको र म नयाँ नियुक्त भएर त्यहाँ पुगेको थिएँ । हाम्रो पहिला भेट अनि चिनजान त्यही नै भएको हो । तर हाम्रो बसाइ त्यहाँ धेरै दिन सँगै हुन पाएन । उहाँ विद्यालय छाडेर अध्ययनका लागि हिँड्नुभयो । तर हाम्रो सम्बन्ध भने साथीका रूपमा रहिरह्यो ।
त्यसपछि हाम्रो भेट कहिलेकाहीं हुन्थ्यो । बेलाबखतमा चिठीपत्र आदानप्रदान हुने गथ्र्याे । उहाँ साथीसँग एकपल्ट भेटघाट गर्ने इच्छाले भक्तपुरमा उहाँको घर खोज्दै गएँ । उहाँको टोलमा पुगेपछि इन्दुल केसीको घर कुन हो भनेर त्यहाँको एकजना व्यापारीसँग सोधेँ । उहाँको घर यही चोकभित्र हो । त्यो कुनाको ढोकाबाट जाने हो । तर उहाँ भरखरै मात्र बाहिर निस्कनुभयो । उहाँका पिताजी काठमाडौँ जान भनेर बसमा चढेर जानुभएको पर सल्लाघारी नपुग्दै बित्नुभयो रे भनेर खबर आएकाले उहाँ दौडेर उहीँ जानुभएको छ भनेर भन्नुभयो । मेरो मन झरङ्ग भयो । एकैछिन टोलाएर बसें । पछि उहींबाट सल्लाघारीतर्फ लागें । म त्यहाँ पुग्दा कोही पनि थिएन । वरपर सोध्ने मानिससमेत थिएन । म त्यसै अफसोच मानेर फर्के ।
त्यस बेला अहिलेको जस्तो फोन, मोबाइलको सुविधा भइनसकेको समयमा हामी धेरै दिनसम्म भेटघाट गर्ने अवसरबाट वञ्चित रहन बाध्य थियौँ । आकलझुकल भेटघाट र भलाकुसारी मात्र । त्यसपछि उहाँ कहिले विदेशमा, कहिले कहाँ, आफू पनि काममै व्यस्त रहनुपर्ने बाध्यताले हाम्रो भेटघाटको अवसर कम हुन पुग्यो ।
धेरै वर्षपछि पञ्चायत कालको पछिल्लो समयको एक दिन तत्कालीन प्रधानमन्त्री मरिचमान सिंहले विभिन्न कार्यालयहरूमा कार्यरत भक्तपुरका अधिकृत स्तरका बहालवाला कर्मचारीहरूको एक समूहलाई प्रधानमन्त्रीको निवास बालुवाटारमा भेटघाट गर्न सरकारी गाडी पठाएर लिन आए । प्रधानमन्त्री कार्यालयमा कार्यरत उपसचिव सौभाग्यनारायण धौभडेलले हामीलाई साथमा लिएर त्यहाँ लग्नुभयो । प्रधानमन्त्रीले देशको राजनीतिक अवस्थाबारे चर्चा गर्नुहँुदै तपाईहरू सबैले आ–आफ्नो पदबाट गर्नुपर्ने काम हतोत्साही नभईकन निर्भिक रूपले गर्दै जानोस् भनी निर्देशन दिनुभयो । अनि देशमा अमनचैन कायम गर्न अब के गर्नुपर्ला ? भनेर सोध्नुभयो ।
सबैले क्रमशः आ–आफ्नो भनाई राख्दै जानुभयो । इन्दुलजीले आफ्नो भनाइ राख्ने क्रममा भन्नुभयो – हाम्रो देशमा शान्ति र अमनचैन ल्याउने हो भने छल र बलको नीति छाडेर जनभावनाअनुरूप नागरिक अधिकार दिनुभयो भने सायद केही वर्ष पञ्चायतको आयु लम्बिन सक्छ । अहिलेकै तालले व्यवस्थाको आयु अब लामो छैन । त्यसैले सरकार प्रमुखको हैसियतले प्रधानमन्त्रीज्यूले केही प्रयास गर्नुहोस् । हुन त अहिलेको अवस्थामा प्रधानमन्त्रीज्यूले केही गरिहाल्ने अवस्था देखिदैन । माथिबाटै केही गराउन सक्नुभयो भने केही हुन सक्छ, नत्र अब आश छैन भनेर निर्भीकतापूर्वक आफ्नो भनाइ राख्नुभएको थियो । उहाँ ठीक ठाउँमा सो कुरा राख्न सक्ने व्यक्ति हुनुहुँदो रहेछ भनेर हामीले त्यस बेला थाहा पायौँ ।
इन्दुल केसी आजभोलि निवृत्त राष्ट्रसेवक (कर्मचारी), वैकल्पिक उपचार विषयका विद्यावारिधि गर्नुभएका डाक्टर, कानुन व्यवसायी, नेपाल भाषाप्रेमी, नेपाली र नेपाल भाषाका साहित्यकार हुनुहुन्छ । डा. इन्दुल केसीको अर्को पक्ष अध्यात्मवादी, ईश्वरप्रति श्रद्धाभक्तिभाव राख्ने व्यक्ति मात्र होइन, आफैले बाद्यवादन (बाजा) बजाएर भजनकीर्तन गरेर श्रद्धालुहरूलाई प्रभाव पार्न सक्ने व्यक्ति पनि हुनुहुन्छ । मलाई सम्झना छ २०१८ सालतिर भक्तपुरमा भएको विराट नेपाल भाषा साहित्य सम्मेलनमा उहाँले वाचन गर्नुभएको कविता किजापूजा (भाइटीका) प्रथम भएको थियो । २०६५ सालमा ‘भुइचालो’ नामको नेपाली भाषामा कवितासङ्ग्रह प्रकाशित गर्नुभयो । उहाँ ज्यादै मेहीनती र लगनशील व्यक्ति मात्र होइन, अलि महत्वाकाङ्क्षा, आफूले आँटेको काम जसरी पनि पूरा गरेरै मात्र विश्राम लिने बानी भएका साथी पनि हनुहुन्छ । उहाँ नेपाल साहित्य मन्दिर, भक्तपुरका प्रायः सबै कार्यक्रमहरूमा सहभागिता जनाउनुहुन्छ । नेपाल भाषा र नेपाली भाषा–साहित्यका अनुरागी हुनुहुन्छ । उहाँ एकपल्ट अकस्मात मकहाँ आउनुभयो । आज बाराही पाठ विकास समिति, भक्तपुरमा एउटा कार्यक्रम छ, तपाईलाई लिन आएको भनेर मलाई साथ लिएर जानुभयो । उक्त कार्यक्रममा मैले तयार गरेका श्री स्वस्थानी कथामध्ये एउटा कथा वाचन गर्ने अवसर पनि दिनुभयो । त्यस्तै अर्को एउटा कार्यक्रममा स्वामी कल्याणमित्रसँग परिचित हुने अवसर दिनुभयो ।
केसीजीको अध्यक्षतामा गठित बाराही पीठ विकास समिति भक्तपुरले पीठ देवलसँगैको ढुङ्गेधारा, व्यक्व–फल्चा, रास भजन मण्डल, त्यहींको जीर्ण सत्तल, जोन्छे सत्तल, केदार वन सन्यासी आश्रमको पुननिर्माण आवश्यकतानुसार सबैको सरसल्लाह र सहयोगले सम्पन्न गर्नुभयो । यसका साथसाथै त्यहींको भजनमण्डललाई नभई नहुने बाद्यसामग्री (वाद्यवादन)हरूको वाद्य संग्रहालय व्यवस्था मिलाउनुभयो । उहाँकै सक्रियतामा त्यही योग र ध्यान गर्ने व्यवस्थाका साथै प्राकृतिक चिकित्सालय पनि सञ्चालन गर्नुभयो ।
हामीकहाँ परम्परादेखि चल्दै आएका भजन गर्ने चलन हालको अवस्थामा कम हुँदै लोप हुने अवस्थामा पुगेको स्थितिमा ललितपुरका भजन अनुरागी श्री गोविन्द ताम्राकारलाई प्रोत्साहित गर्नुभई ठाउँठाउँमा रहेका भजनखलकहरुसँग सम्पर्क राखी पुनर्जागरण गर्ने कार्यमा केसीजीको अप्रत्यक्ष सहयोग रहेको कुरा ताम्राकारजीबाट थाहा पाएँ । विश्वशान्ति ध्यान केन्द्र, नेपालको नाममा काभ्रेपलाञ्चोक जिल्ला शङ्खु नयाँपाटीमा स्वामी कल्याणमित्रको अध्यक्षतामा गठन भएको उक्त केन्द्रमा केसीजी उपाध्यक्ष रहनुभई सक्दो सहयोग गर्दै आइरहनुभएको छ ।
सादा जीवन उच्च विचारको आदर्श अँगाली विकासकार्यमा अति नै लगनशील भई कार्यमा लागिरहने डा. इन्दुल केसी उपर्युक्त कार्यलाई निरन्तरता दिँदै आफ्नै टोलमा रहेको अति नै जीर्ण अवस्थामा पुगिसकेको धार्मिक सम्पदा जीर्णोद्धार गर्ने क्रममा श्यामसुन्दर रास भजन मण्डल, मुलाखु गणेश, ढल्चा भजन मण्डल भजनघर जीर्णोद्धार, पुननिर्माण समितिको नेतृत्व सम्हाली अघि बढिरहनुभएको छ । त्यहाँ आसपास रहेका अन्य जीर्णोद्धारको काममा पनि संलग्न देखिनुहुन्छ । उहाँको सेवाकार्य तारिफयोग्य छ । विकासकार्यमा उहाँलाई सबैको साथ–सहयोग प्राप्त भइरहोस्, मेरो हार्दिक शुभकामना ।
००००

Comments