नवदुर्गा द्योछेंमा नकीं छनौट विवाद ः दुई पक्षवीच झडप


साउन २२, २०७८, शुक्रबार | दिउँसो ०१:२६ बजे | 0


नवदुर्गा द्योछेंमा नकीं छनौट विवाद ः दुई पक्षवीच झडप

भक्तपुर । इतिहासमै पहिलो पटक भक्तपुरको ऐतिहासिक नवदुर्गा द्योछें (देवता घर) मा नकीं (महिला पुजारी) को छनौटमा विवाद परेपछि शुक्रबार त्यहाँं दुई पक्षवीच झडप भएको छ । घण्टाकर्ण चतुर्दशीको दिन नकींसहित देवगणहरुको पद हस्तान्तरण गर्ने कार्यक्रममा दुवै पक्ष मन्दिर परिसरमा रहँदा झडप भएको हो ।
विवादवीच जिल्ला प्रशाशन कार्यालय भक्तपुरले यसअघि सहमतिलाई ल्याइएका नकींको भन्दा पनि पालो नकींका अर्का दावीकर्ता इन्दिरा बनमालाको रहेको भन्दै उनलाई मन्दिरभित्र प्रवेश गराइएको थियो । दर्जनौको संख्यामा रहेका प्रहरीहरु मन्दिर प्रवेशद्धारमा पालो बसेर भित्र काम गर्न दिइएको थियो । तर सहमति अनुसार नकीं छनौट भएका पक्ष बाहिरै भीडभाडका साथ ठूलो संख्यामा रहेका थिए । पछि नकींको पालो पाएका इन्दिराको पतिसहित बाहिर निस्कदा मन्दिर प्रवेशद्धारमा रहेका विपक्षी समूहले रोकेका थिए । यो क्रममा झडप भएको थियो । झडपमा दर्जनौ मानिस सहभागी भएका थिए । यो क्रममा इन्दिराका पति आफूलाई वचाउँंदै भागेका थिए । प्रहरीले नियन्त्रणमा लिएपछि झडपबाट ठूूलो क्षति हुन पाएन । तैपनि राति अबेरसम्म त्यहाँं पक्षविपक्षका सयौं मानिसको हुल थियो ।
प्रत्येक वर्ष दशैंको विजया दशमीको दिन राष्ट्रप्रमुखबाट पूजाआजा गर्न आउने भक्तपुर नगरपालिका वडा नं ९ कमलविनायकस्थित ऐतिहासिक मन्दिरमा नकीं छनौटमा विवाद भएपछि अदालतसम्म छ । प्रत्येक वर्ष आपसी छलफलबाटै नकीं छनौट हुने गरेको र सोही अनुसार यो वर्ष पनि भएकोमा आफनो पालो मिचिएको भन्दै इन्दिरा बनमालाले नेपालको संविधान २९७२ को धारा १४४(१)(२) बमोजिम उपयुक्त आज्ञा आदेश जारी गरी पाउँं भनी उच्च अदालत पाटनमा निवेदन पत्र दर्ता गराएकी थिइन् ।

 
मन्दिरमा प्रत्येक वर्ष पालो अनुसार नयाँं नकीं छनौट हुने गर्दछ । साथै नवदुर्गा देवगण भई वर्षभरि विभिन्न स्थानमा गई नाच्न जाने देवगणहरु छनौट हुने गर्दछन् । परिवर्तन हुने नयाँं १९ जना देवगणहरुको हकमा भने विवाद भएको छैन । प्रत्येक वर्ष नयाँं नकीं र पुराना देवगणहरु परिवर्तन भई शुक्रबार घण्टाकर्ण चतुर्दशीका दिन पालो हस्तान्तरण हुने गर्दछ । यस क्रममा मन्दिर परिसरमा दुई पक्षवीच झडप भएको हो ।
छनौट हुने नकींले नवदुर्गाको मन्दिरमा दैनिक नित्य पुजा र आरती गर्ने गर्छिन् । त्यसबापत उनले पाउने भनेको त्यहाँं चढाएको दक्षिणा मात्रै हो । जुन थोरै हुने बताइन्छ ।
नकीं छनौट भई शुक्रबारबाट लगभग दुई महिना नयाँ नियुक्त देवगणहरुलाई नाचगान सिकाउन सुरु हुने परम्परा छ । यही अनुसार नाचगाण सिकेका नयाँं देवगणहरु वर्षभरि नै भक्तपुरका टोलटोलका साथै काठमाडौं र काभ्रेपलान्चोक जिल्लाका विभिन्न टोलहरुमा पुगेर नवदुर्गा नाच नाच्ने जाने गर्दछन् ।



Comments