हरिसुन्दरको ‘भगवान खः मांबा’ लोकार्पण
साउन ३, २०७८, आइतबार | दिउँसो ०२:१९ बजे | 15
केके मानन्धर
काठमाडौं
। हरिसुन्दर लाखे श्रेष्ठको ‘भगवान खः मांबा’ बोलको म्युजिक भिडियोलाई एक
कार्यक्रमकाबीच प्रिमियर गरिएको छ । नेपालभाषाको ‘भगवान खः मांबा’ले
आमाबुवा नै हाम्रा भगवान हुन् भन्ने अर्थ दिन्छ । थिमि बैंक्वेटमा आयोजित
कार्यक्रममा मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठले म्युजिक
भिडियो लोकार्पण गर्नुभएको हो ।
कार्यक्रममा
मेयर श्रेष्ठले तेलुगू भाषामा निर्माण भएको गीतले अन्तर्राष्ट्रिय
पुरस्कार जितेको स्मरण गर्दै भाषाविशेषको गीतमा परिधि निर्धारण नहुने
बताउनुभयो । हुनपनि दक्षिण भारतको आन्ध्र प्रदेश र तेलंगाना राज्यमा बोलिने
द्रविड़ भाषा समूहको तेलुगूमा निर्माण भएको सो गीतलाई अन्य भाषामा अनुवाद
गरिएको थियो । सांगीतिक अभिव्यक्तिलाई जुनसुकै समुदाय, वर्ग र भाषामा बनाएर
अन्तर्राष्ट्रियकरण गर्न सकिने उहाँको भनाइ थियो । ‘अब आमाबुवाप्रति
समर्पित गरेर बनाइएको हरिसुन्दर लाखे श्रेष्ठको गीतलाई भाइरल बनाउनुपर्छ ।
यसमा सिंगो नगरपालिकाले सहयोग गर्छ ।’ मेयर श्रेष्ठको आश्वासन थियो ।
गीतमा
टिप्पणी गर्दै वरिष्ठ संगीतकार सुवासचन्द्र ढुंगेलले गीतको मुखरा र
अन्तरालाई छन्द र शब्द गनेर निर्माण गर्न सकिने बताउनुभयो । भगवान खः मांबा
बोलको गीतमा यी दुइटै संयोजन भएर उत्कृष्ट रचना हुनपुगेको ढुंगलले दाबी
गर्नुभयो । ‘आँखा चिम्लेर गीत सुन्दा जति आनन्द आउँछ, त्यहिँबाट गीतको
रचनालाई मूल्यांकन गर्नसकिने उदाहरण दिनुहुँदै आज लोकार्पण गरिएको गीत पनि
सोही दर्जाको रहेको छ ।’ वरिष्ठ संगीतकार ढुंगेलले भन्नुभयो ।
त्यस्तै,
वरिष्ठ साहित्यकार तथा प्राज्ञ ध्रुव मधिकर्मीले लोकार्पण गरिएको गीतले
विचलन आइसकेको हाम्रो समाजमा आमाबुवाप्रतिको कर्तव्यबोध गराउने दाबी
गर्नुभयो । पश्चिमा संस्कारले गाँजेको हाम्रो समाजमा आमाबुवाप्रतिको
दायित्व बिर्सिएका सन्ततीलाई पूर्खाप्रतिको कर्तव्य निर्वाह गर्नुपर्ने
सन्देश दिने उहाँको भनाइ थियो ।
कार्यक्रममा
हाँस्य सम्राट मदनकृष्ण श्रेष्ठलाई ‘कला दीर्घसेवा सम्मान’ तथा वरिष्ठ
संगीतकार रत्न (बेहोसी) बज्राचार्यलाई ‘संगीत दीर्घसेवा सम्मान’ दिइएको
थियो । आमाबुवाप्रतिको दायित्वबोध गराउने आसयसहितको गीत लोकार्पण
कार्यक्रममा नगरका सय वर्षिय जेष्ठनागरिक पुरुष ज्ञानलाल श्रेष्ठ र एक सय
तीन वर्षिय जेष्ठनागरिक महिला कृष्णमाया चक्रधरलाई अभिनन्दन गरिएको थियो
।
दीवंगत
भइसकेका आमाबुवाप्रति समर्पित गरेर लाखे श्रेष्ठले रचना गरी गाउनुभएको
गीतलाई मध्यपुर योग साधना केन्द्रले निर्माण गरेको हो । वरिष्ठ संगीतकार
रत्न (बेहोसी) बज्राचार्यले संगीत दिनुभएको गीतलाई सुरेन्द्र श्रेष्ठले
एरेन्ज गर्नुभएको हो ।
युवा
निर्देशक प्रदीप खड्गीको निर्देशनमा बनेको म्युजिक भिडियोमा हाँस्य सम्राट
मदनकृष्ण श्रेष्ठले बुवाको भूमिकामा कलाकारिता प्रस्तुत गर्नुभएको छ ।
त्यस्तै कलाकारहरुमा रचना सिंह, यमन श्रेष्ठ, अनु महर्जन, सिजन कायस्थ,
साहिल द्वारे, हरिसुन्दर लाखे श्रेष्ठ, रियान श्रेष्ठ, रोशन भासिमा, सम्यक
मानन्धर छन् । शंकर महर्जनको छायांकन र सुरेश ख्वाक श्रेष्ठको सहछायांकन
रहेको भिडियोमा स्वस्थानी वैद्यले स्टील फोटोग्राफी गर्नुभएको छ । पोस्टर
डिजाइनमा बौचा व मैचाका प्रकाश चित्रकारले सहकार्य गरेका हुन् ।
त्यस्तै,
जगतबहादुर श्रेष्ठ (प्रमोद), न्हुछे मानन्धर, विशेश्वर श्रेष्ठ, सिद्धिचरण
श्रेष्ठ, गंगाराम मानन्धर, रत्नप्रसाद मानन्धर, चन्द्र श्रेष्ठ, हिरारत्न
बज्राचार्य, सुरेन्द्र तुबञ्जा श्रेष्ठ म्युजिक भिडियोका निर्माता हुन् ।
म्युजिक भिडियोलाई तपसिल लिंकमा क्लीक गरेर इन्टरटेनमेन्ट नेपाली टिभी
युट्यूब च्यानलमा हेर्न सकिनेछ ।