फ्रान्सबाट नेपाली मूर्ति नेपाल फर्काउन आग्रह
भक्तपुर । मिति २०७८ असार ३१ गते बिहीबार ‘कान्तिपुर दैनिक’ पत्रिकाको दोस्रो पृष्ठमा ‘फ्रान्सबाट कहिले फर्काइन्छ नेपाली मूर्ति’ शीर्षकमा समाचार छापियो । पत्रकारद्वय देवेन्द्र भट्टराई र ददी सापकोटाद्वारा लिखित उक्त समाचारप्रति भक्तपुर नगरपालिकाको ध्यानाकषर्ण भएको उल्लेख गर्दै नगरपालिकाले उक्त मूर्ति फर्काउन आग्रह गरी सम्बन्धित निकायमा पत्राचार गरेको छ ।
भक्तपुर नासमना टोलको उमामहेश्वरको प्रस्तर मूर्ति ६ दशकअघि नेपालबाट चोरी भएको र हाल उक्त मूर्ति पेरिसको एसियाली कलासम्बन्धी राष्ट्रिय संग्रहालय (गिमे म्युजियम) मा प्रदर्शित रहेको भनी कान्तिपुरले समाचार छापेको थियो । साथै नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले २ वर्ष अघि फ्रान्सको भ्रमणका क्रममा पुरातात्विक महत्वको उक्त मूर्ति नेपाल फर्काउन सहमति पनि गर्नुभएको समाचारमा उल्लेख छ ।
सोही भ्रमणका क्रममा फ्रान्सका लागि नेपाली राजदूत दिपक अधिकारीले प्रम ओलीसहितको भ्रमण टोलीलाई उक्त संग्रहालयको भ्रमणको व्यवस्था मिलाई संग्रहालयमा रहेका नेपालका अन्य प्राचीन सम्पदाहरुको समेत नेपाल फर्काउन आवश्यक पहल भएको थियो । राजदूत अधिकारीका अनुसार गिमे म्युजियम फ्रान्सको सरकारी संग्रहालय भएकोले नेपालबाट हराइएका वा चोरी भएका सांस्कृतिक सम्पदालाई नेपाल फिर्ता ल्याउन प्रक्रियागत काम–कारबाही भइरहेको र सम्पदा उत्पत्तिको पहिचानसम्बन्धी कागजी प्रक्रिया र अन्य कानुनी कारणले मूर्ति फर्काउने काममा ढिलाइ भइरहेको उहाँको भनाइ छ ।
नेपाल सरकार र फ्रान्स सरकारबीच दुई वर्ष अगाडि सहमति भए पनि हालसम्म उक्त मूर्ति नेपाल नफर्काइएको प्रति गम्भीर ध्यानाकर्षण गर्दै भक्तपुर नगरपालिकाले नेपाल सरकारअन्तर्गतका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, परराष्ट्र मन्त्रालय, पुरातत्व विभागमा आवश्यक पहल र सहयोगको निम्ति मिति २०७८ असार ३१ गते नै पत्राचारसमेत गरिसकेको छ ।