भानुप्रति
असार २९, २०७८, मङ्गलबार | दिउँसो ०३:३८ बजे | 25
सुषमा तिमल्सिना, कक्षा १२
हरिया डाँडा वन र पाखा हिमाल हाँसेको
झरनासित मितेरी लाई पिरती गाँसेको ।
नेपाली छाया समाई तिमी भाषामा रमायौ
सिर्जना नौलो रचेर भानु प्रख्याति कमायौ ।।
हाँसो र ठट्टा साथमा लिई व्यङ्ग्यले हानेर
रसिलो पाना काव्यको छाना सर्लक्क छानेर ।
नेपाली भाषा सुकिलो पारी जगमा फिँजायौ
नेपाली माटो पसिनासिता पोखेर भिजायौ ।।
भक्तिको भाव नेपाली मुटु राम र सीताको
दर्साई श्रद्धा महिमा गायौ त्यो रामगीताको ।
तिमीले मन छोएर हे¥यौ नेपाली सपना
फुलाई दाना पारेर पुष्ट भाषाको कपना ।।
इनार तिम्रो प्रेरणास्रोत रामायण गन्तव्य
जोडेको ज्ञान विज्ञानसित छ तिम्रो मन्तव्य ।
सगरमाथा अग्लिएजस्तो नेपाली भाषामा
उचाइ तला थपेर छाड्यौ बनाई खासामा ।।
मस्तिष्कभित्र बसेको बुद्धि, मुटुमा बस्ने मन
ललितकला सिर्जनाभित्र फलेको मृदु धन ।
गोभूलि भाका तिमीले भ¥यौ घामका किरण
बादलभित्र आकार लेख्यौ खुलाई चरण ।।
बालाजु रङ्ग भरेर नौलो कविता गानमा
चपला सबै खुलेको कथा सविता शानमा ।
चप्लेटीमाथि बसेर पनि शब्दका बनिका
उनेर माला लगाइदियौ भाषाकी वनिका ।।
श्रद्धाले नत मस्तक हुन्छ गुणको भरिलो
फिलिङ्गो पारी नेपाली भाषा–भावको झरिलो ।
म पनि तिम्रो समातूँ पद भाषाको भक्तिको
रमाऊँ सधैँ गरेर सेवा सिर्जना शक्तिको ।।
२०८ औँ भानुजयन्तीका अवसरमा आदर्श माध्यमिक विद्यालय, लाय्कु, ठिमी, भक्तपुरबाट आयोजना गरिएको कविताप्रतियोगितामा कक्षा ११ र १२ समूहको तर्फबाट प्रथम स्थान हासिल गरी पुरस्कृत भएको कविता ः