भक्तपुर नगरलाई पर्यटक गन्तव्य बनाउन जोड


असार २८, २०७८, सोमबार | दिउँसो ०२:०५ बजे | 15


भक्तपुर नगरलाई पर्यटक गन्तव्य बनाउन जोड

ऐतिहासिक र पुरातात्विक महत्वले भरिपूर्ण भक्तपुर नगरलाई नेपालको पहिलो पर्यटनको गन्तव्य बनाउने विषयमा गहन छलफल गरियो । छलफलमा उपस्थित सबैले एकस्वरमा भक्तपुरमा रहेको कलाकृति, संस्कृतिको महत्वलाई प्रबद्र्धन गरी लाभ लिनु पर्नेमा जोड दिनु भयो ।
भक्तपुर उद्योग वाणिज्य संघका कार्यबाहक अध्यक्ष श्री शिव प्रसाद मानन्धरले कार्यक्रममा यहाँको कला संंस्कृतिको संरक्षणका साथसाथै भक्तपुर जिल्लाको समग्र अर्थतन्त्र उकास्न संधले निकट भविष्यमा एउटा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरी कार्य योजना तयार गर्ने बताउनु भयो । भक्तपुर उद्योग वाणिज्य संघले आगामी दिनमा आफ्नो उद्देश्य बमोजिम निर्यातमूखि हस्तकलाको बिकास एबं पर्यटन प्रबद्र्धनमा ध्यान दिई स्थानीय उद्योग व्यवसायको विकासमा काम गर्ने योजना रहेको बताउनु भयो ।
सोही अवसरमा प्रतिष्ठित बास्तुकला संरक्षणकर्मी श्री रविन्द्र पूरीले भक्तपुरलाई नमूना पर्यटनको केन्द्रको रुपमा परिचित गराई जिल्लाबासीलाई आर्थिक रुपमा सबल बनाउन सकिने बिचार व्यक्त गर्नु भयो । भक्तपुरको कला संस्कृति, बाज गाजा, भजन दाफाहरुलाई व्यवसायिकरण गरी आयमूलक पेशाको रुपमा बिकास गर्न सके यसको जगेर्ना समेत हुने राय व्यक्त गर्नु भयो । रातको समयमा यहाँ रहेको मठ मन्दिरहरुमा बिजुलीको किरणले उज्यालो पारी सौन्दर्य थप्न सके साँझको बेला यी स्थानहरुमा आन्तरिक र बाह्य पर्यटकहरुलाई आकर्षित गर्न सकिने पनि बताउनु भयो । यस्तै वहाँले नगरक्षेत्रलाई सवारीसाधन मुक्त क्षेत्रको रुपमा बिकास गर्न सके पर्यटन उद्योग अझ फस्टाउने विश्वास व्यक्त गर्नु भयो ।
उक्त छलफलमा संघका उपाध्यक्ष श्री कृष्ण मुरारी न्यौपाने, महासचिव श्री रोशनी मैयाँ धौबञ्जा, सचिब श्री गणेश हरी प्रजापति, कोषाध्यक्ष श्री राजन श्रेष्ठ, कार्य समिति सदस्यहरु श्री गौतम सुजखु तथा श्री विश्वराम दुवालले पनि आ–आफ्नो बिचार राख्नु भएको थियो । 

Comments