कमिला


असार १८, २०७८, शुक्रबार | विहान ११:४९ बजे | 35


कमिला

जीवनाथ अधिकारी

हेर हेर साथीहरू कमिलाको ताँती
कैले झर्छन् तल तल कैले चढ्छन् माथि ।
विश्वभरि  थरी थर कमिला छन् अहिले
वातावरण  सन्तुलनमा भूमिका छ जहिले
फोहोरमैला गर्दैनन् कहिले नि, मिलिजुली हिँड्दछन् जहिले नि ।।१।।

संसारभर सोह्र हजार कमिलाको जाति
रूपरङ्ग स्वभाव छन् नाना भाँती भाँती ।
नेपालमा एक सय चवालिस थरी
आठ सय पैँतिस जाति छन् रे भारतभरि
कस्तो राम्रो लोभलाग्दो एकता मान्छे सधैँ किन हो ए, कता ?।।२।।

हातेमालो गरी गरी सिकारमा जान्छन्
सानाठुला सबै मिली बाँडीचुँडी खान्छन् ।
कोही छैनन् ठुलाठालु शोषणको घर
छैन कुनै रिसडाह घुम्छन् वरपर ।
सानाठुला, रङ्गमा फरक, चिन्ने शक्ति शरीरको हरक ।।३।।

ऋापत् केही प¥यो भने खनिएर गोलो
चिलिदिन्छन् सबै मिली पारेर दोहोलो ।
काला, खैरा, राता, चोर, ब्याँगे आदि नाम
घिउ कमिला खुरुखुरु गर्छन् आफ्ना काम
कोही पनि बन्दैनन् अल्छी रे मान्छेजस्तो थापेर बल्छी रे ।।४।।

जमिनमा दुलो पारी बनाउँछन् घर
कोठा कोठा हुन्छ भित्र, फाल्छन् मटो पर ।
घामपानी हुरीबाट बचाउने घर
कति सुन्दर मिहिनेत, छैन केही डर ।
पार्छन् फुल पोथीले ढपक्कै, सर्छन् बसैँ बोकी फुल  छपक्कै ।।५।।

नानीबाबु कमिलाझैँ मिहिनेती बन
पौरखको पसिना हो मानिसको धन ।
एकतामा रहेको छ ब्रह्माण्डको शक्ति
सबै मिली सधैँ गरौँ स्वदेशको भक्ति ।
कमिलाको सुनेर कथा सिक थुप्रै ज्ञानगुन अथाह ।।६।।
सिर्जनाकुञ्ज, बालकोट, भक्तपुर

Comments