सडक र मान्छे


असार १८, २०७८, शुक्रबार | विहान ०३:५७ बजे | 80


सडक र मान्छे

पदम दाहाल
                                
सवारी बोकेर सडक गुड्दो रहेछ
भरिया बनाएर आफूलाई
भारी उचालेर हिंड्दो रहेछ ,
पसल थापेर दायाँ वायाँ किनारामा
मान्छेको ध्यान र धनहरू खिँच्दो रहेछ ,
सुन्दरता टाँगेर मानिसको आङभरि
मानवीय सान र मनहरू लुट्तो रहेछ ।
बार र क्याफेलाई डो–याएर रोमान्समा
मान्छेभित्रको प्रफुल्लता जोड्दो रहेछ
तडकभडक र सिंगारपेटारमा भुलाएर मान्छेलाई नै
बेसरमको नग्नता र भग्नता बोक्तो रहेछ–सडक ।
०...........................०.............................०
बाटोको किनारामा उभ्याएर
होचा अग्ला फुटपाथ, बोटवृक्ष र घरहरू
प्रेम गाँस्तो रहेछ यात्रुका आङभरि तिनलाई
र, मान्छेहरू पर्खी बस्तो रहेछ सडक ।
रङ्गीचङ्गी दृश्यहरूमा भुलाउँदो रहेछ–मान्छे
वारिपारि सडक पेटीमा ठिङ्ग्याएर गसाउँदो रहेछ –माया
पे्रम र पिरतीका उल्लासहरू बोकेर हँसाउँदो रहेछ– सडक,
आँखा–आँखा र मुस्कान जोडेर
रमाउँदो रहेछ–सडक
क्रेता र बिक्रेता दुबैको जम्काभेटमा
खुसाउँदो रहेछ–सडक ।
०.....................ंंं...ंंंंंं...०...........................०
वयस्कतामा रम्नेहरूलाई ठान्दो रहेछ –
तिर्खा मेट्ने ढुङ्गे धारो
प्रतीक्षामा बस्नेहरूलाई बन्दोरहेछ –
थकान मिटाउने चौतारो
पीडा नसंझेर अनौठोमा बाँचेको हँुदो रहेछ
दोहोरीलत्त भिड हिंडालेर
गमक्क एक्लै हाँसेको हुँदो रहेछ ।
०...................०........................०
त्यसैले एउटा जिन्दगी रहेछ–सडक
धेरैजसो संयोजनमा मिलाप उनेर बस्ने
सामाजिक किल्लाभित्र निर्मित–
एक सुगम अनुहार
दिशा विदिशाहरूको चोक जडिएको–
अनुपम विहार ।
कतै मानवीय शून्यतामा
डमीहरू सजाएर पर्खिरहेछ
कतै इतिहासका श्रृङ्खलामा
विभूतिहरू पर्खाएर बसिरहेछ
भनूँ भने,
सडकको पर्याय बाटो रहेछ
बाटोको सहयात्री त मान्छे रहेछ ,
सडक एउटा जिन्दगानी रहेछ !
कच्ची डोरेटो छोट्याएर
स्वागतका द्वार र घडामाथि
फूलका गुच्छा सिउरेर
गन्तव्यमा साइत बन्न हतारिएको हुँदो रहेछ–सडक ।
०............................०............................०
शिशुलाई घँचेटेर आँगनीदेखि गोरेटोसम्म
धकेलेर युवालाई
अझ पर कच्ची बाटोसम्म
भौंतारिँदै बाटो –सडक खोज्दोरहेछ
र, प्रौढतालाई रस्ताको
रसरञ्जित सिंढीमा
उकालेर यात्राका निम्ति
पठाइएको हुँदो रहेछ – मान्छे ।
०.......................०.........................०

Comments