आजबाट आवेदन भर्न सकिने मनकामना स्मार्ट लघुवित्तको आइपीओ
काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण सेयर (आईपीओ) आज (असार १७ गते, बिहिबार) बाट सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुल्ला भएको छ ।
कम्पनीले १०० रुपैयाँ अंकित दरका कूल ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता आईपीओ निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।
आईपीओको कूल कित्तामध्ये कुल पुँजीको ०.५ प्रतिशतले हुन आउने ६ हजार ५८ कित्ता संस्थाका कर्मचारीहरुलाई र सर्वसाधारणका लागि जारी गर्नलागेको पुँजीको ५ प्रतिशतले हुन आउने १९ हजार ४५० कित्ता सामुहिक लगानी कोषका लागि छ्ट्याइएको छ भने बाँकी ३ लाख ६३ हजार ४९२ कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा लगानीकर्ताहरुले न्यूनतम १० कित्ता र अधिकतममा १ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
कहाँ–कहाँबाट दिने आवेदन ?
लगानीकर्ताहरुले नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखाहरुबाट आवेदन दिन सकिनेछन् भने अनलाईन मार्फत मेरो सेयरबाट पनि आवेदन दिन सकिने छ ।
आवेदन कहिलेसम्म दिन सकिन्छ ?
लगानीकर्ताहरुले उक्त आईपीओमा असार १७ गतेबाट छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सक्नेछन् ।