असार पन्ध्र काव्यिक सन्ध्या कार्यक्रम सम्पन्न
असार १५, २०७८, मङ्गलबार | दिउँसो ०३:३६ बजे | 35
जीवनाथ अधिकारी
भक्तपुर, १५ असार
असार पन्ध्रका अवसरमा “असार पन्ध्र काव्यिक सन्ध्या २०७८” असारे भाकामा भर्चुअल कविता वाचन कार्यक्रम सम्पन्न गरियो । आदर्श माध्यमिक विद्यालय, लाय्कु, ठिमी, भक्तपुरले आयोजना गरेको सो कार्यक्रमलाई छन्द कविता मञ्चले संयोजन गरेको थियो ।
काठमाडौँ उपत्यकाका काँठतिर प्रचलित असारे भाकालाई सम्बर्धन गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रमका प्रमुख अतिथि प्रगतिशील कवि भक्तबहादुर पण्डित क्षेत्री रहनुभएको थियो । आदर्श माविका प्रधानाध्यापक बुद्धिकुमार घोको सभापतित्व तथा सहायक प्रधानाध्यापक साथै छन्द कविता मञ्तका संयोजक जीवनाथ अधिकारीको उद्घोषणमा सञ्चालन गरिएको थियो भने डा. बालचन्द्र मिश्रले स्वागत मन्तव्यका साथै समसामयिक विषयवस्तुमा रचित असारे भाको कविता सुनाउनुभएको थियो । उहाँले २०४१÷४२ तिरदेखि नै केही कविहरूको समूह निर्माण गरी असारे भाकामा दोहोरीका रूपमा लेखन कार्य आरम्भ गरिएको जानकारी दिनुभयो । कार्यक्रममा डा. इन्दुल केसी, चट्याङ मास्टर (कृष्णमुरारी गौतम), नरनाथ लुइँटेल, जीवनाथ अधिकारी, रामप्रसाद न्यौपाने, बुद्धिकुमार घोले असारे भाकामा कविता सुनाउनुभयो । कवि कृष्णमोहन जोशीले हाइकुसहित मुक्त लयको कविता वाचन गर्नुभयो भने प्रगतिशील लेखक सङ्घ, सुनसरीकी कोषाध्यक्ष विमला पोखरेलले झ्याउरे भाकाको कविता सुनाउनुभयो । यी सबै कविताको भावभूमि समसामयिक विसङ्गतिप्रति तीव्र आक्रोश रहेको थियो । यसका साथै बाढीपहिरोको प्रकोप, भ्रष्टाचार, राजनीतिक अपाङ्गता, कोलाहल र कोरोनाको कहरलाई समेत विषयवस्तुका रूपमा समेटिएको थियो ।
कार्यक्रममा भोजपुरकी नर्वदा अधिकारी (८५) ले पूर्वी नेपालतिर असारमा रोपाइँ गर्दा गाइने रसिया गाउनुभएको थियो । उक्त रसियामा असारे श्रम र व्यस्ततालाई झल्काइएको थियो भने काठमाडौँ काभ्रेस्थली, महाङ्कालका गङ्गा घिमिरे, बिरजा घिमिरे र लक्ष्मी लामिछानेले पनि असारे भाकाको गीत सामूहिक रूपमा गाउनुभएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक बुद्धिकुमार घोले विद्यालयको परिचय दिँदै यस्ता सिर्जनात्मक काम विद्यालयले निरन्त्र गरिरहेको जानकारी दिनुभयो । यस अघि पनि छन्द कविता वाचनको कार्यक्रम विद्यालयले आयोजना गरिसको छ ।
प्रमुख अतिथि भक्तबहादुर पण्डित क्षेत्रीले असारे भाकाको गीत वा कवितालई अभिलेखीकरण गर्न आफूहरूले प्रयत्न गरिरहेको जानकारी गराउनुभयो ।
छन्द कविता मञ्चका संयोजक जीवनाथ अधिकारीले असारे भाकाका गीत तथा कविता लोपोन्मुख रहेकाले तिनको संरक्षण गर्ने उद्देश्यले आजको कार्यक्रम आयोजना गरिएको जानकारी गराउनुभयो । उपत्यकामा तीव्र गतिमा बस्ती बिस्तार हुँदै जाँदा धानखेत मासिँदै गएको र साथसाथै रोपाइँसमेत नहुने स्थिति रहेकाले असार र रोपाइँसित सम्बन्धित असारे भाका (यसलाई घाँसे गीत वा काँठे भाकाको गीत पनि भनिन्छ ।) लोप हुन लागेको र नयाँ पुस्तामा यसलाई हस्तान्तरण गनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
कार्यक्रम जुमबाट सञ्चालित गरिएको थियो भने छन्द कविता मञ्चको फेसबु पेजबाट लाइभ प्रसारण गरिएको थियो । कार्यक्रम साढे दुई घण्ट चलेको थियो ।