कोरोनाको तिक्त अनुभव
जेठ १८, २०७८, मङ्गलबार | विहान ०५:१२ बजे | 40
- भक्तलक्ष्मी भासिमा कुसी
गतिशील समयभित्र अनेकौं रहस्यहरु हुँदा रहेछन । समयकाल परिस्थितिसँगै मान्छेको जीवनमा अनेकौं चुनौतीहरु तेर्सिदो रहेछ । हामी मान्छे जस्तोसुकै अवस्था र परिस्थितिमा पनि हतास हुन मिल्दैन, निरास हुन मिल्दैन । जीवन छ र त गतिशीलता छ, अप्ठ्यारो अवस्थालाई सामना गर्नुपर्ने चुनौती छ । हामीसँग भएको ज्ञान, बुद्धि, विवेक र धैर्यले नै हामी हरेक चुनौतीसँग सामना गर्दै अघि लम्कन सकेका छौँ । सुन्दर जीवनका सुन्दर पलहरुलाई सिलसिलेबार रुपमा भोग्न पाएका छौँ । धन्यवाद सृष्टिकर्तालाई जसले मलाई यो सुन्दर संसारमा जन्म दियो ।
संसारलाई कोभिड-१९ कोरोनाले त्राहिमाम बनाउँदै गरेको यस घडीमा जोगिएर बस्न अत्यन्तै गाह्रो रहेछ । आफ्नो दैनिक जीवनमा अत्यन्तै कम सम्पर्कमा मान्छेहरुसँग भेटघाट रहेतापनि यो रोग कहाँबाट कसरी सर्छ भन्नै नसकिने रहेछ । अचानक मलाई पनि शारीरिक रुपमा कमजोरी हुने ज्वरो आउने, खानामा अरुचि, सास फेर्न गाह्रो हुने जस्ता लक्षण देखा पर्यो । आफू कही कतै नगएतापनि मलाई यस्तो खालको लक्षण देखापरेपछि मेरो श्रीमानले मलाई नआत्तिन र केही हुँदैन तिमीलाई छिट्टै निको हुन्छ भनी ढाढस दिनुभयो । साथमा बाँकि परिवारका सदस्यहरु बुबा,आमा, दाई, भाउजुबाट पनि बलियो ढाढस पाइनै रहेको थिएँ । यद्दपि मलाई भने झन झन गाह्रो हुँदैथियो । लक्षण सबैले कोरोनाको संकेत गर्दै थियो। यसबीच जनस्वास्थ्य च्याम्हासिंह पुगेर डा. सुमी चोलेखोले PCR गर भक्त केही हुँदैन ढुक्क हुन पाइन्छ भनेपछि श्रीमान र म भक्तपुर अस्पताल गएर PCR गरेँ ।
दुई दिनमा रिपोर्ट आयो । रिपोर्टले मलाई कोरोना पुष्टि गर्यो । आत्मबल बलियो बनाएर टन्न खानेकुरा र औषधी मिलाएर खायौ भने चाँडै निको हुन्छौ भनेर सबैले सम्झाए, बुझाए ।तर आफुलाई भने अत्यन्तै गाह्रो हुँदै थियो । एक गाँस अन्न मुखमा राख्न नपाउँदै सबै वान्ता हुन्थ्यो । शरीरमा एक थोपा तागत पनि बाँकि नभएर शौचालयसम्म पनि आउजाउ गर्न नसक्ने अवस्थामा पुगेको थिएँ । आफ्नो यस्तो अवस्थाले घरका सबैलाई चिन्ता लाग्नु स्वभाविकै थियो । तर पनि सबैले माया र स्नेहले सम्झाउनुहुन्थ्यो । आत्मविश्वास बढाउन मलाई सधै ढाढस दिनुहुन्थ्यो । तर आफुले आफैलाई सम्हाल्नै नसक्ने गरी गाह्रो हुँदा क्वाँ क्वाँ रोएँ । आफू मर्ला जस्तो लाग्न थाल्यो । जीन्दगीका सुन्दर सपनाहरु, के के गर्ने भविष्यका योजनाहरु सम्झेर जीवन झन झन प्रिय लाग्न थाल्यो । धत् ! यस्तो सोच्नु हुँदैन छिट्टै निको हुन्छु भन्ने आत्मविश्वास पो राख्नुपर्छ भनी मनमनै सम्झाएँ ।
राती म सुत्यो कि सुतेन भनी आमाबुबा चिन्ता लिएर छटपटाउदै बस्नुहुन्थ्यो । शरीरमा ज्वरो घट्ने नामै लिएन । अक्सिजन लेभल घटेर सास फेर्न गाह्रो हुँदै शरीर लत्र्याकलुत्रुक हुँदै गयो । मेरो यस्तो अवस्थाले श्रीमानलाई धेरै पीडा भएपनि मेरो सामु भने तिमी ठिक हुन्छौ चिन्ता नलेउ । यस्तै सम्झाउनुहुन्थ्यो । बुबाले तिमीलाई धेरै गाह्रो भयो आइसोलेसन ब्रहमायणीमा जान्छौ ? त्यहाँ भए २४सै घण्टा डाक्टर र नर्सको निगरानीमा हुन्छ भनेर सोध्नुभयो । आवश्यक भए अक्सिजन पनि दिइन्छ भन्नु भयो । बुबा जे गर्दा मलाई चाँडो निको हुन्छ त्यही गर्नु भनेँ । त्यसपछी आइसोलेसनबाट एम्बुलेन्समा मलाई लिन आयो । मलाई भने अर्कै भावुकताले च्याप्यो । घरबाट हिँड्नेबेला आँखा यत्तिकै रसाएँ । आफ्नो कोठा एकचोटी सन्तोषले नियालेँ । घरको तल्लो तल्लाबाट माथिसम्म हेरेँ । मलाई मेरो घर अझ बढी माया लाग्यो । बुबाआमा , श्रीमान, दाईभाउजु र साना नानीहरु सम्झेर रुँन पो मन लाग्यो । म आइसोलेसन पुग्दा श्रीमान पनि त्यतै पर देखेँ । झन पो भावुक भएँ । मुस्कुराउँदै Bye भन्नको लागि मात्र उहाँ त्यहाँ पुग्नुभएको रहेछ । आइसोलेसन सेन्टर ब्रह्मायणी पुग्दा मैले मनमनै ब्रह्मायणी भगवानलाई पुजेँ मलाई छिट्टै निको भएर घर जानुछ भनेर प्रार्थना गरेँ ।
आइसोलेसनमा पुग्दा मेरो ब्लड प्रेसर, अक्सिजन, र ज्वरो अत्यन्तै नराम्रो अवस्थामा थियो । मेरो मात्र होइन त्यहाँ रहनु भएका अधिकांश बिरामीको अवस्था नाजुक नै थियो । कोहीलाई अक्सिजन दिइरहेको, कोही घोप्टो परेर सुतिरहेको, कोही बाफ लिइरहेको ,कोही आफुलाई भएको पीडा सहन नसकेर रोइरहेका । यी यावत परिस्थितिबीचमा म आफुले आफैले कमजोर सोच्नुहुँदैन । मन नलागेपनि औषधी र खाना खानै पर्छ । बाफ लिनै पर्छ । सक्ने व्यायाम र ध्यान गर्नुपर्छ भनी मनमा चेत लिएरै छोडेँ । यसैबीच मलाई कोरोना लागेको जानकारी अफिसमा गराएँ । अफिसका सबै सहकर्मी साथीहरुबाट चाँडै निको हुन्छौ भनी शुभेच्छा र माया पाइनैरहेँ । विशेषत प्रशासकीय अधिकृत विमलप्रसाद पराजुली सरले दिन बिराएर फोन गरी छिट्टै निको हुन्छौ भनी ढाढस दिनुभएको थियो ।
आइसोलेसन सेन्टरमा खानानास्ता, अक्सिजन, ज्वरो तथा प्रेसर नाप्ने उपकरण शौचालय लगायत आवश्यकता हेरी अक्सिजनको व्यवस्था गरिएको थियो । सुरुसुरुमा यता दिइने खानेकुरा खानै सक्दिनथे । खाना खाने समय आयो कि भित्रैबाट रिस उठ्थियो । कहिलेकाही खाना नै नखाई सुत्थे । घरमा सोध्दा मैले खानै सकिनँ भनी भन्थेँ । घरबाट तिमी जे खान्छौ त्यही पठाइदिन्छु भनी भाउजुले सम्झाउनुभयो । हुन्छ भनी २ छाक घरबाटै खाना मगाएर खाएँ । पछि बिस्तारै खाना रुचेपछि आइसोलेसनमा नै उपलब्ध गराएको खाना खान थालेँ ।
यसैबीच मेरो श्रीमान पनि कन्ट्याक ट्रेसिङले कोरोना परीक्षण गर्दा पोजिटिभ देखायो । मैले चिन्ता लिन्छ भनेर उहाँले मलाई अलि पछि मात्र जानकारी गराउनुभयो । उता माइतिमा बहिनीलाई पनि कोरोना देखायो । मामा माइजु र मामाघरको बहिनीलाई पनि कोरोना पोजिटिभ देखायो । यसरी आफन्तहरुलाई कोरोना लागेको समाचारले मनमा पीर भयो । सबैले आफ्नो आफ्नो ख्याल राख्दैछौ चिन्ता नगर भनेर सबैले सबैलाई सम्झाए बुझाए । सरोजराज गोसाँई सरले पनि बेला बेला फोन गरेर सम्झाउनु भएको थियो । आफुलाई पनि कोरोना लागेको तर मजाले खाएर र सकारात्मक सोचेर म निको भए भनेर आफनै उदाहरण दिनुभयो । मैले पनि आफुले आफैलाई सम्झाएँ । उता थिमीबाट आमा, दाई,भाउजु , बहिनीज्वाइले बेला बेला गर्ने फोनकल मेरा निम्ति भिटामिन जत्तिकै काम गर्यो। यस्तैमा आमाको मुख हेर्ने दिन मलाई कस्तो आमाको याद आयो । फोनमा आमासँग कुरा गर्दा आवाज रुन्चे पो सुनिएछ । आमाले खुबसित सम्झाउनुभयो । छिट्टै निको भएर भेट्ने नि । हामी सँगै त छौ नि भनी सम्झाउनुभयो ।
यता आइसोलेसन सेन्टरमा सँगै बस्ने साथीहरु सबैले सबैलाई माया र स्नेह गर्नुहुन्थ्यो । कोही नखाइकन बसे बाँकि साथीहरुले सम्झाउनुहुन्थ्यो । यसरी दिन बित्दैथियो । मभन्दा पहिला आउनुभएका साथीहरु आइसोलेसनको अवधि सकाएर निको भइ फुर्तिलो भई घर फर्किने क्रम जारी थियो । आफुलाई पनि छिटो निको हुन्छु र फुर्तिलो भई घर फर्किने संकल्प गरे मनमनै । यता आइसोलेसनमा १० दिनको अवधिको एकान्तबास पछि घर जान मिल्छ भनी नर्सले भन्नुभएकोले होला त्यो १० दिनको अवधि कहिले सकिन्छ भनी दिनमा १० चोटी गन्थेँ । घर भनेको स्नेहको आँगन रहेछ । घरको मायाले यसरी तानिदो रहेछ । मेरो प्यारो घर सम्झेर मनमनै खुसी भएँ ।
यस्तैमा फेसबुक र अनलाइन न्युजमा कति मान्छे अस्पतालमा बेड नपाएर अक्सिजन नपाएर मृत्युवरण गरेको समाचार देख्दा एकदमै पीडा भयो । कोही चिनेका कोही नचिनेको मान्छेहरुलाई श्रद्धान्जलीका शब्द फेसबुकको भित्तामा राखेको देखेर मन रुन्थ्यो । यस्तैमा मलाई ख्वप कलेजमा बिएस्सीमा भौतिकशास्त्र पढाउनुभएका सरोज राजलवट सर अल्पायुमा बित्नुभएको समाचारले म स्तब्ध भएँ । उहाँको आत्माले चिरशान्ति पाओस ।
जनता यसरी रोगले छट्पटाउदै गर्दा सरकार कुर्सीको समीकरण मिलाइरहेको सुन्दा साह्रै आक्रोश जाग्यो । एक सिलिन्डर अक्सिजन, बेड नपाइ छट्पटाइ रहेको बेला सरकार तिमी कहाँ छौ ? तिमी के को लागि कसलाई शासन गर्दैछौ ? तिम्रो अभिभावकत्व कहाँ छ ? सरकार तिमीले जे गर्दा पनि चुपचाप सहेकै थिएँ जनताले । आज निमुखा भई आफ्नो आफन्तको जीवनको भिख मागेसरी एक सिलिन्डर अक्सिजन र आइसियूको लागि आफैले मरिमेट्दा पनि नपाएर अकालमा आफन्त गुमाएका जनताको आँसुले पोल्दैन सरकार तिमीलाई रु तिम्रो औचित्य कहाँ छ रु कहिले पो आउने हो सद्बुद्धि ? धत् ! सरकार ।
यसरी दिन बित्दै गए । आइसोलेसनको एकान्तबासको १० दिनको अवधि सकाइ घर फर्किने दिन पनि आयो । त्यो बिहानदेखि मनमा फुर्ति नै बेग्लै थियो । म घर फर्किने कुरा श्रीमानलाई १० चोटि सुनाएँ होला । उहाँले मेरो बच्चाजस्तो व्यवहारलाई अबोध व्यवहार सम्झी मुसुमुसु हाँस्नुभयो ।
अहोरात्र बिरामीको सेवामा समर्पित स्वास्थ्यकर्मी आफ्नो ड्यूटी सकाएर घर पुग्दा आफ्ना परिवारलाई कति जोखिम हुँदो हो ? यद्दपि ती स्वास्थ्यकर्मी सजग र सचेत भइ आफू र आफ्नो परिवारलाई कोरोनाबाट जोगाउन सके त कति अवस्थामा आफू र आफ्नो परिवार संक्रमित भएको समाचार सुन्दा साह्रै दुस्ख लाग्छ । सम्पूर्ण डाक्टर, नर्स, सफाइ कर्मचारी लगायतका त्यहाँ कार्यरत सम्पूर्ण कर्मचारीले मनलाई दह्रो बनाएर सेवामा निस्वार्थरुपमा आफ्नो कर्म गर्न कम आँट र विश्वासले गर्न सकिने काम पक्कै पनि होइन । आफ्ना घर परिवारलाई कोरोना सर्न सक्ने जोखिम अनगिन्ती हुँदा हुन तरै पनि कति कर्मठ भइ निस्वार्थ सेवा गर्न सकेका होलान भन्ने लाग्दछ । ईश्वर ढुंगाको मुर्तिमा खोज्छौ । तर वास्तविक ईश्वर, जीवन्त ईश्वर त तिनै स्वास्थ्यकर्मी हुन् तिनै सफाइ मजदुर हुन जो मात्र एउटा पीपीइको भरमा म जस्ता कोरोना संक्रमितलाई सेवा गर्न अहोरात्र खटिरहेका छन् ।
एउटा बेड, अक्सिजन, आइसियु नपाएर जनता अकालमै जीवन गुमाइरहेको अवस्थामा सरकारको अकर्मताबीचमा जनता आज सासको संघर्षमा कति लड्छन ? सरकार मात्र सत्ता र कुर्सीको हिसाबकिताब मिलाउनमा बेफूर्सदी भएका बखत जनताका जीवनमरणको हेक्का राख्ने समय कहाँ मिल्थ्यो र ? यस्तो विषम परिस्थितिमा भक्तपुर नगरपालिकाद्वारा संचालित आइसोलेसन सेन्टर जहाँबाट निस्शुल्करुपमा बिरामीलाई सेवा पुर्याइरहेको छ । स्रोत साधन आफैले जुटाइ सरकारको मुख नटाकेर यसरी देशका फरक फरक ठाउँबाट सम्पर्कमा आएका बिरामीलाई निस्शुल्क रुपमा स्वास्थ्य सेवा तथा सुविधा उपलब्ध गराइरहेका छन । यहाँबाट स्वास्थ्य लाभ भइ घर फर्किने क्रममा सबैले यस आइसोलेसन सेन्टरप्रति आभार प्रकट गरे ।
यस आइसोलेसन सेन्टरबाट घर फर्किने बेला म लगायत अरु साथीहरुलाई घर पुगिसकेपछि अपनाउनुपर्ने स्वास्थ्य मापदण्डका बारेमा परामर्श दिइयो । स्वास्थ्यलाभ गरी घर फर्किने कुराले मनमा बेग्लै खुसी संचार भएको थियो । हामी बिरामी भएका बखत घरसम्म लिन आएका गाडीले स्वस्थ भएका मसंगै अरु साथीहरुलाई घरसम्म पुर्याउन आएको थियो। तत् क्षण ती कठिन १० दिनको समयावधिलाई सरसर्ति सम्झेँ र ती कठिन दिनमा मलाई निस्वार्थ रुपमा स्वस्थ सेवा दिनुभएका सम्पूर्ण डाक्टर, नर्स, सफाइ मजदुर लगायत सम्पूर्णमा हृदयदेखि नै आभार प्रकट गर्दछु । हामीलाई यसरी स्वस्थ बनाएर घर पुर्याउन पाउदा भएको खुसी र आनन्द ती सम्पूर्ण डाक्टर, नर्स तथा अन्य कर्मचारीहरुको मुहारमा अनुभव गर्दैथिएँ ।
गर्यो भने नहुने केही रैनछ । मात्र मनमा जनताको सेवा गर्छु भने मुलमन्त्र लिनसक्नुपर्दो रहेछ । आफूले आफुलाई कठित ठूलो मानिएका राजनीतिक दल सत्ता लोलुपत्तामा आफ्नो ताण्डप नृत्य देखाउनमा बेफूर्सदी भइराख्दा भक्तपुर नगरपालिकाले यसरी निस्शुल्क रुपमा आफ्ना जनतालाई प्रदान गरिएको यस कार्यलाई अन्तर मनदेखि नै सह्राना गर्न चाहन्छु ।
घर पुग्दा मलाई अपार सुखानुभूति भयो । घर पुगेर नुहाएर सफासुगर भई भाउजूले
पकाएको खाना खान पाउँदा अत्यन्तै सन्तुष्ट भएँ । घरका सबै खुसी भए ।
अहिले मेरो श्रीमान पनि निको हुने क्रममा हुनुहुन्थ्यो । उहाँ घरमै एकान्तबास बस्नुभएको थियो । हामी दुबै निको हुने क्रममा छौ । व्यक्तिगत सरसफाई तथा स्वास्थ्य मापदण्डलाई विशेष ध्यान दिएर अझै केही दिन घरमा एकान्तबासमा नै छौ हामी । शरीर विस्तारै तङ्ग्रिदै छ । विस्तारै आफ्नो दैनिक जीवनलाई सावधानीका साथ अघि बढाउने क्रममा छु ।
यो कोभिड १९ कोरोनालाई आफ्नै आत्मविश्वास, सकारात्मक सोच र बलियो खानपान तथा नियमित औषधी सेवनले निको बनाउदो रहेछ । साथमा आफन्त घर परिवारको माया,स्नेह र हौसलाले नै यो रोगलाई जित्न मद्दत गर्दो रहेछ । मैले यी सबै कुरा पाएँ र सोचेभन्दा छिटो निको भएर आएँ ।
मलाई शुभेच्छा दिनुहुने, माया गर्नुहुने सबै परिवार, साथीभाई, सहकर्मी मित्र आइसोलेसन सेन्टरका डाक्टर, नर्स तथा आफन्तप्रति हृदयबाट नै नमन ।