बुद्धकृष्ण हाई हाई !
बुद्धकृष्ण बाग श्रेष्ठले बिहीबार मध्यपुर थिमिमा जिब्रो छेडाएपछि बोडेमा उनको हाईहाई भएको छ । यसअघि २०७६ सालमा पनि उनैले सातौ पटक जिव्रो छेडाएका थिए । गतवर्ष २०७७ सालमा भने कोरोनाका कारण जात्रा रोकिएको थियो ।
जिब्रो छेडाउनु अघि उनी विशेष पहिरनका साथ मध्यपुर थिमिको बोडेमा आएका थिए । उनलाई लिन बाजागाजासाथको टोली उनको घर पुगेको थियो । जिब्रो छेडने ब्यक्तिको सम्मानस्वरुप बाजागाजा बजाएर घरमा लिन जाने परम्परा छ । त्यसपछि विशेष पहिरनका साथ उनी आएका थिए ।
जिब्रो छेडाइसकेपछि उनले परम्पार अनुसार चन्द्राकार बत्ती (भ्य) बोकी बोडे नगर परिक्रमा गरेका थिए । नगर परिक्रमापछि स्थानीय महालक्ष्मी मन्दिरमा पुगेपछि सियो झिकिएको थियो । यसपछि बोडेको जिब्रो छेड्ने जात्रा सकिन्छ । यसपछि जिव्रो छेडाउने व्यक्तिको परिवारले भोज खुवाउने परम्परा छ ।
जिव्रो छेडाएका बाग एम्बुलेन्स चालक संघ भक्तपुरका अध्यक्ष र कोरिया नेपाल मैत्री अस्पताल मध्यपुर थिमिमा एम्बुलेन्स चालकका रुपका कार्यरत छन् । उनले पहिलोपल्ट २०६२ सालमा जिब्रो छेडाएका थिए । त्यसपछि उनले २०६५ सम्म निरन्तर रुपमा जिब्रो छेडाएका थिए ।
जात्रालाई जोगाउन यसवर्ष पनि आफैंले जिव्रो छेडने उनले बताउँंदै आएका थिए । नयाँ पिढीहरु कोही जिब्रो छेर्न नआएकोले जात्रालाई जोगाउन आफैं जिव्रो छेडाउन तयार रहेको उनले बताउँंदै आएका थिए । आफूले सकेसम्म जिब्रो छेडाउने तर आफूले नसकेपछि कसलै जिव्रो छेडाउँंला भनी उनले चिन्ता पनि व्यक्त गर्दै आएका छन् ।
जिब्रो छेडाउने व्यक्तिले यसअघि केही वैज्ञानिक प्रक्रियाहरु अपनाएका हुन्छन् । दुई दिन अगाडिदेखि भोकै बस्ने गर्दछन् । दुइृ दिन कुनै प्रकारका खाद्यबस्तु नखाइ वस्ने गर्दछन् । त्यो वीचमा पानी मात्रै खाने गर्दछन् । दुई दिन खाना खाएन भने जिब्रोले केही स्वाद थाहा नपाउने र र त्यसले जिब्रो छेड्दा नदुख्ने बताइन्छ ।
जिब्रो छेड्ने सुईलाई पनि बैज्ञानिक तरिकाले राखिन्छ । सुईलाई एक महिनादेखि भुटेको तोरीको तेलमा डुबाइ राखेको हुन्छ । सुई करिब १ फिट लामो हुन्छ ।
हालसम्म क–कसले जिब्रो छेडाए भन्ने तथ्यांक नभए पनि पछिल्लो तथ्यांक अनुसार हर्कनरसिंहले २२ पटक, बेखानारायण हाय श्रेष्ठले ३२ पटक, हरिदेव किला श्रेष्ठले १ पटक, हरिभासिक श्रेष्ठले ३ पटक, इन्द्र बाटा श्रेष्ठले २ पटक, हर्केश्वर श्रेष्ठले ३ पटक, चन्द्रसेन घो श्रेष्ठले ७ पटक, दिलकुमार खपे श्रेष्ठले ७ पटक, मुनि घो श्रेष्ठले १ पटक, धर्मराज बलाम श्रेष्ठले १ पटक, कृष्णचन्द्र बाग श्रेष्ठले १२ पटक, बुद्धचन्द्र बाग श्रेष्ठले ६ पटक र जुजुभाइले ८ पटक जिब्रो छेडाएका छन् ।
स्थानीय संस्कृति अध्येता प्रेम के निडरका अनुसार नीलबाराहीको सङ्गिनीलाई जिब्रो छेडेर सजाय दिएकोले नीलबाराही रिसाएको कारण क्षमापूजा गरेको साथै जिब्रो छेड्दा जात्रामा बोक्ने चिरागको महादीपले देशमा भूत प्रेत भाग्ने र अनिकाल, महामारी, अतिवृष्टि नहुने, प्राकतिक विपत्ति नआउने र बोडेका जनताले एकछाक खानाको समस्या नपर्ने भनी देशवासीको लागि सर्मपणस्वरूप जिब्रो छेड्ने कार्य गरिरहेको भनाइ छ ।