विमोहित प्रतिकृति


चैत ६, २०७७, शुक्रबार | विहान ०९:४२ बजे | 25


पदम दाहाल
                                   
हेरिरहन्छ सहर टुलुटुलु प्रत्येक ठाउँ
बराला बादल बरालिएर उन्मुक्ततामा
मेटिरहन्छ तृष्णा कसैको
ओर्लिएर बेरिरहन्छ गाउँ हराभरा
लेक औलाका काँठ र फाँटहरूलाई
र भएर पानी पानी पसिना काढिरहन्छ
उतारिरहन्छ उही टृश्य मान्छेले आँखाभरि
क्षितिज वारिपारिसम्मको
र कुँदिरहन्छ आँफैंमा कुचीले शब्दचित्र ।
तराई पहाड उचालेर हरियाली थुम्काले
पर्खि्ररहन्छ जमात प्राणीको
उमेरले बैंस साटेजस्तै
बैंसले सुन्दरता र मनले माया गाँसेजस्तै
हतारिएको हुन्छ गाउँ उसरी नै
सहरिया बन्न र खोजिरहन्छ रूपान्तरण
घोलेर आफ्नै रूप रङ र आकृति
भव्य सहर आफूसित गगनचुम्बी महल चाहन्छ
फरक मात्र यत्ति हो
अन्तरिक्ष भेट्न बाँकी रहन्छ ।
घुटुघुटु थुक निल्दै क्षितिजको आकृति
पुकारिरहन्छ सिरेटो तपिरहन्छ आवृत्ति
तड्पिएर जलनमा हिमालपट्टि फिरेर
आँतभरिको तिर्खा मेटिरहन्छ तृप्तिले
भिर पाखा पहरा छहरा भने
जोडिरहन्छन् छाया छहरी लुकाएर नग्नता
बसाएर माया फकाएर मेरो नजर
उनैको सेरोफेरोमा भएको वृष्टिले
हर्दम् लुट्न लगाइरहन्छ दृष्टि
उसैको चित्रको विमोहित प्रतिकृति ।

Comments