डोलेश्वरबाट विदाई भए शिवरात्रिमा आएका साधुसन्त


फाल्गुन २८, २०७७, शुक्रबार | दिउँसो ०२:०१ बजे | 5


भक्तपुर । भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रि पर्वको लागि आएका साधुसन्तलाई शुक्रबार एक कार्यक्रमवीच बिदाई गरिएको छ । शिवरात्रिमा विभिन्न स्थानबाट डोलेश्वरको मन्दिरमा दर्शन गर्न आएका साधुसन्तलाई भोजन, प्रसाद तथा दक्षिणा प्रदान गरी बिदाई गरिएको हो । डोलेश्वर दर्शन गर्न आएका १६२ साधुसन्तहरु बिदाई कार्यक्रममा सहभागी भएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जानकारी दिएको छ । कोरोना महामारीका कारण यस वर्ष साधुसन्तहरुको संख्यामा कमी आएको छ । डोलेश्वरमा आएका साधुसन्तलाई तीन तहमा वर्गिकरण गरी दक्षिणा उपलब्ध गराएको छ । क वर्गका साधुसन्तलाई नगद १ हजार १ सय ५ दक्षिणा, ख वर्गलाई नगद ७ सय ५ रुपैयाँ र ग वर्गलाई नगद ५ सय ५ रुपैयाँ तथा प्रत्येकलाई एक थान कम्बल, १ थान धोती, १ थान ज्याकेट र एक थान रुमाल प्रदान गरिएको समितिले जनाएको छ । डोलेश्वरमा शिवरात्री पर्वका लागि गत एक हप्ता अघिदेखि साधुसन्तहरु आएका थिए । देशका विभिन्न स्थान तथा भारतबाट साधुसन्त तथा योगीहरु शिवरात्रिमा डोलेश्वर आएका थिए ।


Comments