शिवरात्रिमा अनिवार्य मास्क लगाउनु पर्ने
फाल्गुन २६, २०७७, बुधबार | विहान ०८:१३ बजे | 5
भक्तपुर । केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा पनि शिवरात्रिमा दर्शन गर्न आउने भक्तजनहरुले अनिवार्य मास्क लगाउनु पर्ने भएको छ ।
हजारौंको संख्यामा मन्दिरमा आउने भक्तजनको संख्यालाई ध्यानमा राखेर सरकारले तोकेका सबै स्वास्थ्य मापदण्ड पालना गर्दै दर्शनको व्यवस्था मिलाइएको केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले जनाएको छ ।
मन्दिरमा दर्शन गर्न भक्तजनले मास्क अनिवार्य रूपमा लगाएर आउनुपर्ने तथा सेनिटाइजर लगाउने र भौतिक दूरी कायम राख्नुपर्ने गरी लाइनको व्यवस्था गरिएको महाशिवरात्री पर्व मूलसमितिका संयोजक तथा समितिका बरिष्ठ उपाध्यक्ष सुर्यबहादुर खाइतुले जानकारी दिए ।
महाशिवरात्रि दर्शनका लागि भारतका विभिन्न स्थान तथा नेपालका विभिन्न स्थानबाट साधुसन्त आएका छन् । नागा बाबा, भंगी, जोगी र अघोरी बाबा लगायतका साधुसन्तले मन्दिरको क्षेत्र रोमाञ्चित बनेको छ । परम्पराअनुसार जोगी, सन्त, महन्थलाई स्वागत तथा बिदाइ समितिले गर्ने गरेको छ ।
वार्षिक कार्यक्रम अनुसार शिवरात्रीका दिन सर्वसाधारण भक्तजनहरुका लागि मन्दिरका चारै ढोका बिहान ४ बजेदेखि राती १२ बजेसम्म खुल्ला हुने खाइटुले बताए । उक्त मन्दिर वर्षको तीन दिन मात्र सर्वसाधारण भक्तजनहरुका लागि मन्दिरका चारै ढोका खुल्ला हुने र बाँकी दिनमा पुजारीहरुको लागि मात्र मन्दिरको ढोका खुल्ला रहने समितिले जनाएको छ ।