सिद्धपोखरी जिर्णोद्धारका लागि श्रमदानको आह्वान


जेठ २३, २०८३, शनिबार | विहान ११:४२ बजे | 85


सिद्धपोखरी जिर्णोद्धारका लागि श्रमदानको आह्वान

भक्तपुर नगरपालिका वडा नं. १ दूधपाटीस्थित ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको सिद्धपोखरी जिर्णोद्धारका लागि श्रमदान गर्न स्थानीयवासीलाई आह्वान गरिएको छ। सिद्धपोखरी भक्तपुर नगरको प्रमुख सम्पदामध्ये एक मानिन्छ र यसको संरक्षण तथा पुनर्निर्माण कार्यलाई अघि बढाउन स्थानीय तहमा पहल थालिएको हो।

सिद्धपोखरी पेटी पुनःनिर्माण उपभोक्ता समितिले जारी गरेको अनुरोधपत्रमा भक्तपुर नगरपालिकाको आर्थिक लगानीमा सञ्चालन भइरहेको जिर्णोद्धार कार्यमा श्रमदानका माध्यमबाट सहभागी हुन आग्रह गरिएको छ। समितिका अनुसार पोखरीको संरक्षण र सौन्दर्यकरणका लागि स्थानीय बासिन्दा, टोल विकास संस्था, दाफाभजन समूह, गुठी समूह तथा विभिन्न संघसंस्थाको सक्रिय सहभागिता आवश्यक रहेको जनाएको छ।

समितिले सिद्धपोखरीलाई भक्तपुरको गौरवशाली सम्पदाका रूपमा संरक्षण गर्न सबै सरोकारवालाले स्वेच्छिक श्रमदानमार्फत योगदान पुर्‍याउनुपर्ने उल्लेख गरेको छ। श्रमदानमा सहभागी हुन इच्छुक व्यक्तिहरूलाई सम्बन्धित उपभोक्ता समितिसँग सम्पर्क गर्न अनुरोध गरिएको छ।

सिद्धपोखरी भक्तपुरको सबैभन्दा ठूलो तथा प्रसिद्ध पोखरीमध्ये एक हो। यो धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक दृष्टिले महत्वपूर्ण सम्पदाका रूपमा परिचित छ र प्रत्येक वर्ष विशेष मेलासमेत लाग्ने गर्दछ।

सिद्धपोखरी पेटी पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुर दुंगजूले सम्पदा संरक्षणको अभियानमा सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै व्यापक जनसहभागिताको अपेक्षा गरेका छन्।

फाेटाेमा हेर्नुहाेस्...

सिद्धपोखरी जिर्णोद्धारका लागि श्रमदानको आह्वान

Comments