मध्यपुर बोडेमा ७ दिने स्थलगत चित्रकला कार्यशाला सुरु
जेठ २३, २०८३, शनिबार | दिउँसो ०१:५८ बजे | 280
मध्यपुर थिमी, जेठ २३
मध्यपुर थिमी नगरपालिका वडा नं. ८, बोडेको आयोजनामा जेठ २३ गतेदेखि ३० गतेसम्म सञ्चालन हुने सात दिने स्थलगत चित्रकला कार्यशाला शनिबारदेखि सुरु भएको छ।
कार्यक्रमको उद्घाटन वडा नं. ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठले कलाकारहरूलाई चित्रलेखन सामग्री हस्तान्तरण गरी गर्नुभयो। उद्घाटन समारोहमा बोल्दै अध्यक्ष श्रेष्ठले चित्रकलामार्फत नयाँ पुस्तालाई इतिहास, संस्कृति र सम्पदाबारे महत्वपूर्ण जानकारी दिन सकिने बताउनुभयो। उहाँले भक्तपुरका ऐतिहासिक बस्तीहरू पूर्वजहरूले दीर्घकालीन सोचका साथ निर्माण गरेको उल्लेख गर्दै बोडे बस्ती पनि सयौं वर्षअघि नै वास्तुकला तथा इन्जिनियरिङको दृष्टिले योजनाबद्ध रूपमा विकास गरिएको बताउनुभयो।
उहाँले विगतमा कृषि पेशाले स्थानीय समुदायलाई आत्मनिर्भर बनाएको भए पनि अहिले त्यसमा ह्रास आएको उल्लेख गर्दै स्थानीय उत्पादन र पहिचानलाई पुनर्जीवित गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। सात दिने चित्रकला कार्यशालाबाट बोडेका सम्पदाहरूको आकर्षक चित्र सिर्जना भई पर्यटकीय प्रवर्द्धनमा टेवा पुग्ने विश्वास व्यक्त गर्दै निरन्तर सहकार्यको अपेक्षा गर्नुभयो।
कलाकार जुजुभाइ बाँस श्रेष्ठ, एमेजि ङ आर्ट ट्रेनिङ सेन्टर तथा Saturday Plein and Workshop को सहकार्यमा सामुदायिक भवनमा आयोजित कार्यक्रममा कलाकार तथा संस्कृतिप्रेमी जुजुभाइ बाँस श्रेष्ठले चित्रकला कार्यशालाले मध्यपुर थिमीको पर्यटन प्रवर्द्धनमा सकारात्मक योगदान पुर्याउने बताउनुभयो।
Saturday Plein and Workshop का संयोजक दिपेश मान प्रधानले कार्यक्रम संयोजन गर्ने अवसर प्राप्त भएकोमा आयोजकप्रति आभार व्यक्त गर्नुभयो। उहाँले कार्यशालामा २५ जना कलाकारहरूको सहभागिता रहने जानकारी दिँदै कार्यशालाबाट सिर्जित चित्रहरू वडा कार्यालयलाई हस्तान्तरण गरी प्रदर्शनीमा राख्ने योजना रहेको बताउनुभयो।
वडा सचिव रञ्जन प्रजापतिले सहभागी कलाकारहरूलाई स्वागत गर्दै यस कार्यक्रमबाट बोडे तथा मध्यपुर थिमीका सम्पदाहरूको चित्रकलामार्फत अभिलेखीकरण हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले सिर्जित चित्रहरूको मूल्याङ्कन गरी बुकलेट प्रकाशन गर्ने प्रयास गरिने तथा चित्रकलाका लागि उपयुक्त सम्पदास्थलहरूको जानकारीसमेत दिनुभयो।
कार्यक्रममा वडा सदस्य सुरेन्द्र था श्रेष्ठले कार्यशालाको महत्वमाथि प्रकाश पार्नुभएको थियो।
फाेटाेमा हेर्नुहाेस्...
