श्रीहरि सेल्फ रियलाइजेशन फाउन्डेसनको दोस्रो वार्षिकोत्सव सम्पन्न, आध्यात्मिक आश्रम निर्माणमा सहयोगको अपिल
जेठ २३, २०८३, शनिबार | दिउँसो ०२:४८ बजे | 70
भक्तपुर, असार २३ — सूर्यविनायक नगरपालिका–१ सिरुटारस्थित श्रीहरि सेल्फ रियलाइजेशन फाउन्डेसन ले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसरमा आध्यात्मिक जागरण, योग, ध्यान र मानव सेवामार्फत स्वस्थ, सुखी र शान्तिमय समाज निर्माणको अभियानलाई अझ व्यापक बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।
फाउन्डेसनले वार्षिकोत्सवका अवसरमा जारी गरेको सन्देशमा दुई वर्षको अवधिमा नेपालका विभिन्न स्थानमा ६० भन्दा बढी ध्यान, आध्यात्मिक सचेतना तथा व्यक्तित्व विकाससम्बन्धी कार्यक्रम सम्पन्न गरिएको जनाएको छ। साथै १५० भन्दा बढी बैठक, अन्तरक्रिया तथा सामाजिक–आध्यात्मिक कार्यक्रममार्फत हजारौं व्यक्तिसम्म सकारात्मक सन्देश पुर्याइएको दाबी गरिएको छ।
संस्थाका अनुसार यसको अभियान नेपालमा मात्र सीमित नरही भारत, चीन, थाइल्याण्ड, भियतनाम, जापान, बेलायतलगायत विभिन्न देशसम्म विस्तार भएको छ। फाउन्डेसनले ७७ भन्दा बढी देशका व्यक्तिहरूसम्म आफ्नो सन्देश पुगेको तथा विभिन्न मुलुकका नागरिकलाई आध्यात्मिक जीवनशैलीतर्फ प्रेरित गर्ने प्रयास जारी रहेको जनाएको छ।
“एक विश्व, एक आध्यात्मिक परिवार बनाऔं” भन्ने नारासहित अघि बढिरहेको फाउन्डेसनले मानिसले बाह्य संसारभन्दा पहिले आफ्नो मन, विचार र चेतनालाई चिन्नुपर्ने आवश्यकता औंल्याएको छ। “म को हुँ ?” भन्ने आत्मबोधको यात्राले जीवनलाई अर्थपूर्ण, आनन्दमय र शान्तिमय बनाउने विश्वास संस्थाले व्यक्त गरेको छ।
वार्षिकोत्सवका अवसरमा फाउन्डेसनले अर्को महत्वपूर्ण योजना पनि सार्वजनिक गरेको छ। ध्यान, योग, आरोग्य साधना, आध्यात्मिक प्रशिक्षण र सेवामूलक कार्यक्रम सञ्चालन गर्न काठमाडौं–अरनिको राजमार्गअन्तर्गत कोशीटारदेखि साँल्लाघारी क्षेत्र आसपास शान्त र आध्यात्मिक वातावरणयुक्त आश्रम स्थापना गर्ने लक्ष्यसहित उपयुक्त जग्गा वा भवनको खोजी भइरहेको जनाएको छ।
फाउन्डेसनका अध्यक्ष चन्द्रहरी कायस्थले आश्रम स्थापना, व्यवस्थापन तथा सामाजिक–आध्यात्मिक कार्यक्रम सञ्चालनका लागि आर्थिक, भौतिक, प्राविधिक र नैतिक सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाहरूलाई सहभागी हुन आग्रह गरेका छन्। उनका अनुसार आश्रम निर्माणको उद्देश्य केवल भौतिक संरचना निर्माण नभई आत्मबोध, स्वास्थ्य चेतना, सकारात्मक सोच र मानवीय मूल्यको विकासमार्फत व्यक्तिलाई शारीरिक, मानसिक, आर्थिक तथा आध्यात्मिक रूपमा सशक्त बनाउनु हो।
फाउन्डेसनले समाजका शुभेच्छुक, समाजसेवी, बुद्धिजीवी, व्यवसायी, पत्रकार, जनप्रतिनिधि तथा मानवताप्रेमी सबैलाई अभियानमा साथ दिन आग्रह गर्दै स्वस्थ, खुशी, आनन्दमय, प्रेमपूर्ण र ज्ञानमय विश्व निर्माणमा योगदान गर्न आह्वान गरेको छ।
फाेटाेमा हेर्नुहाेस्...
.jpg)